Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सीमा र मर्यादा उलंघन गर्दै कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ?

राधा पोखरेल

शनिबार, १५ कार्तिक २०७७, ०८ : ३७ मा प्रकाशित

सामाजिक सीमा र मर्यादा उलंघन गर्दै कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ?

हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सांस्कृतिक हिसाबले हामी कस्तो समाज निर्माण गर्दैछौं ? यो निक्कै ठूलो बहस हो । बहस संयमतापूर्वक, तर निकै निर्मम भएर गर्न जरूरी छ

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।

अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं वर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणी गर्छन् वैज्ञानिकहरू । प्रकृति विरूद्धको संघर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आएका छन् र भविष्यमा पनि हुँदै जाने निश्चित छ ।

हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । यस संगै पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्त्तव‍य हो ।

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ । एक ब्यक्तिले आर्जन गरेको लोकप्रियता,इज्जतमा घर-परिवार, समाज, समुदाय र देशले समेत श्रेय लिन सक्छ । गौरव गर्न सक्छ ।

आजभोलिका दैनिक रुपमा आउने गितहरुका अश्लिल

शब्द र त्यस्मा बन्ने भिडियो र सामाजिक संजालमा छाउने एप्सहरुमा हाम्रो संस्कृति, कला, साहित्यको बेइज्जत गर्नमा नारीहरूको शारीरिक सुन्दरता प्रयोग भइरहेको देखिन्छ ।

म उहाँहरूको कलालाई उच्चसम्मान गर्छु । तर, कलाका नाममा कलाकै हुर्मत लिने उहाँहरूको प्रवृत्तिसँग म सहमत हुन सक्दिनँ । ब्यक्तिमा कला क्षमता भएर मात्र हुँदैन, त्यस कलाको प्रयोग सामाजिक मर्यादाभित्र रही सम्मानपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्दछु ।

कतिपय नारीहरू पनि त्यसैलाई नारी स्वतन्त्रता बुझेर गौरव गरिरहेका छन् । स्वतन्त्रता भनेको सर्बांग अंग प्रदर्शन हो? पक्कै होइन । यो एक प्रकारको उपभोक्तावाद हो । नारीलाई नंग्याएर वा नारी आफु स्वयं नांगिएर नारीको सम्मान बढ्छ ? नारी स्वतन्त्रता सुनिश्चित हुन्छ ? किन हामी यस्तो विनाशका बाटो हिंडिरहेका छौं ?

पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर-परिवार,समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्- ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’

श्लील र अश्लीलको परिभाषा आ-आफ्नो समाज र संस्कृति अनुसार फरक-फरक देखिन्छ । पश्चिमा समाजमा सामान्यत: नारी-पुरूष ‘हग’ गर्नु र ‘किस’ गर्नुलाई संस्कृतिकै रूपमा लिइन्छ । तर, हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइँदैन । तर, नांगिनुलाई पश्चिमेली र पूर्वेली दुबै समाजले पचाउन सक्दैन । अझ हाम्रो समाजले अंग प्रदर्शनलाई वर्जित नै गरेको छ ।

निश्चय नै नारीले कस्तो र कति इन्चको कपडा लगाउने भनेर कहिँकतै कानुन बनेको छैन । कसैको सुन्दरताको आरिस होइन, कसैप्रतिको दुराग्रह पनि होइन । समाजमा बसेपछि सामाजिक मर्यादा राख्नुपर्छ । मान्छे सामाजिक प्राणी हुनुका नाताले सामाजिक मर्यादाको ख्याल गर्नैपर्छ । आफूलाई बोल्ड र आधुनिक पनि भन्न सकिएला तर तपाईंहरूले कस्तो संस्कार दिन चाहनुभएको हो भावी पुस्तालाई ? अनि कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ?

अन्तमा, मेरो विनम्र अनुरोध छ- सर्वाङ्ग नांगिन पाउनु कसैको स्वतन्त्रता होइन । नाङ्गो शरीरमा कुनै सौन्दर्य रहँदैन । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही सबैले आ-आफ्नो व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको