Like us!
Follow us!
Connect us!
Watch us!

किन घटेन ब्राेकर कमिसन ? दैनिक कराेडाैं जम्मा हुने कमिसनमा नियामककाे आँखा परेकै हाे त ?

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, ०७ : ५० मा प्रकाशित

किन घटेन ब्राेकर कमिसन ? दैनिक कराेडाैं जम्मा हुने कमिसनमा नियामककाे आँखा परेकै हाे त ?

अर्थ संसार, काठमाडौं - केहिदिन यता नेपालको सेयर बजारमा दैनिक अर्वौंको कारोबार भइरहेको छ । कारोबारमा लाग्ने ब्रोकर कमिसन भने दैनिक केही करोडको कारोबार हुँदाको जत्तिकै छ । बजारमा पेपरलेस कारोबार सुरू भएको लामो समय वितिसके पनि नियामक निकाय धितोपत्र बोर्डले कमिसन घटाउन चासो दिएकको छैन । 
 
बजारमा उच्च कारोबार भैरहेको छ । उच्च कारोबार हुँदा लगानीकर्ताले मात्र हैन नेप्से , ब्रोकर र धितोपत्र बोर्डले पनि राम्रो आम्दानी हात पारिरहेका छन् । दैनिक ६,७ अर्बको कारोबार भैरहँदा सबैभन्दा बढी फाइदा भने ब्रोकर अफिसहरूलाई भैरहेको देखिन्छ । बजारमा उच्च रकमको कारोबार हुँदा ब्रोकरहरू मालामाल भइरहेका छन् भने लगानीकर्ताहरू मारमा परेका छन् । नियामक निकायले ब्रोकरहरूलाई बैधानिमक रूपमै लुट्न छुट दिइरहेको छ ।

लगानीकर्ता सम्बद्ध विभिन्न संस्थाले पटकपटक ब्रोकर कमिसन घटाउन पटक पटक दवाव दिँदै आएका छन् । पछिल्लो पटक कार्तिक १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका थिए ।  उनीहरूको शेयर खरिदबिक्री गर्दा लिएको ब्रोकर कमिसन ०.४ देखि ०६ प्रतिशत घटाई अधिकतम ०.२५ प्रतिशत बनाउनु पर्ने माग छ ।

लगानीकर्ताको माग बोर्डले  सुनुवाइ नगरेपछि  लगानीकर्ता सम्बन्ध संस्थाहरूले शुक्रबारदेखि आन्दोलन गर्ने भएका छन् ।
उनीहरूले शुक्रबार धितोपत्र बोर्ड घेराउ गर्ने कार्यकम राखेका छन् । लगानीकर्ता सम्बद्ध ५ वटा संगठनले कमिसन घटाउन दवाव दिने आन्दोलमा साथ दिन सबै लगानीकर्तालाई आग्रह गरेका छन् । 

बोर्डले पनि ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भैरहेको भनेर टार्दै आएको छ । नेपालमा सेयर ब्रोकिंग कमिसन अचाक्ली भएको भन्दै घटाउनु पर्ने आवाज उठेपछि धितोपत्र बोर्डले अध्ययन गर्न एउटा समिति गठन गरेको थियो । उक्त प्रतिवेदनले पनि नेपालको ब्रोकिंग कमिसन दक्षिण एशियाकै दोश्रो महङ्गो भएको औंल्याएको थियो । समितिले प्रतिवेदनमा ब्रोकर कमिसन घटाउन सिफारिस गरेको थियो । उक्त प्रतिवेदन धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन भने तत्परता देखाएको छैन ।

विभिन्न किसिमका धितोपत्रहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ । अझ अनौठो के छ भने नेपालमा दलाललाई कमिसन किन्ने र बेच्ने दुवैले तिर्नु पर्छ ।
लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०।५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि १करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ ।

ब्रोकर कमिसन समायोजन गर्न धितोपत्र बोर्डले गतवर्षको भदौ २६ गते पुनर्मूल्यांकन समिति गठन गरेको थियो । उक्त समितिले एक वर्ष लगाएर यस वर्षको भदौ १२ गते आफ्नो प्रतिवेदन धितोपत्र बोर्डलाई बुझाएको थियो ।  बोर्ड नेतृत्वले सुझाव कार्यान्वयनमा आनाकानी गरिरहेको छ । 

अन्यत्रको अभ्यास हेर्ने हो भने नेपालको कमिसन बैज्ञानिक छैन । नेपालको भन्दा ठूलो शेयर बजार भएको भारतमा ब्रोकर कमिसन ० प्रतिशतदेखि ०.५ प्रतिशतसम्म छ । भारतमा ब्रोकरले ब्रोकर कमिसन लिन्नँ भन्न पनि पाइन्छ । त्यहाँ ब्रोकरकहाँ एक पटक खाता खोल्दा एकमुष्ट १० हजार रूपैयाँ तिरेपछि बर्षभरि जतिसुकै कारोबार गरे पनि अतिरिक्त कमिसन नलाग्ने त्यहाँका ब्रोकरहरूले ब्यवस्था गरेका छन् । नेपालमा भने ०.४० प्रतिशतभन्दा कम कमिसन लिन्नँ भन्नै पाइँदैन । उत्तरको छिमेकी चीनमा औसत ब्रोकर कमिसन ०.०३१ प्रतिशत मात्रै छ।

नेपालमा लगानीकर्ताहरूले ब्रोकर, नेप्से, र धितोपत्र बोर्डलाई छुट्टाछुट्टै शुल्क बुझाइरहेका छन् । जेसुकै नाममा रकम असुलिए पनि त्यो सेयर कारोबारको कमिसन नै हो । नेप्से र धितोपत्र बोर्डले त लगानीकर्ता र ब्रोकरसँग गरि दोहोरो कमिसन लिरहेका छन् । बाेर्ले लगानीकर्ताबाट प्रत्यक्ष र ब्राेकज फिबाट कमिसन लिन्छ । 
नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष छाटेलाल राैनियार नेेपालकाे सेयर ब्राेकरलाई तिर्नु पर्ने कमिसन अचाक्ली भएकाे बताउँछन् । ‘भारतमा समेत प्रतिस्पर्धामा कमिसन लिन पाउने ब्यवस्थाले लगानीकर्ताहरू बार्गेनिंग गरेर थाेरै कमिसनमा काराेबार गर्न सक्छन्,’ उनी भन्छन्, ‘त्यहाँ एक पटक काराेबार गर्ने खाता खाेल्दा निश्चित रकम जम्मा गरेेेपछि बर्षभरि जति काराेबार गरे पनि थप शुल्क तिर्नु पर्दैन । नेपालमा भने ब्राेकरहरूकाे कमिसन निश्चित ताेकिएकाले प्रतिस्पर्धी हुन सकेन ।’

स्टक ब्राेकर्स एसाेसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट अनलाईन प्रणालीमा गए पनि ब्राेकरहरूकाे खर्च नघटेकाे दावी गर्छन् । ‘ब्राेकरकाे कमिसन धेरै भएकाे भए सराेकारवाला सबै पक्ष बसेर अध्ययन गरेर निर्णय गर्न सकिन्छ,’ उनी भन्छन्, ‘याे नियामक निकायले निर्णय गर्ने विषय हाे । हामीलाई अतिरिक्त आम्दानी गर्नेबाटाहरू  देखाइ दिए कमिसन घटाउँदा हुन्छ ।’

धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले  दुइ महिनाअघि अर्थ संसार टकसँगकाे कुराकानीमा बाेकरहरूकाेे आइटी प्रविधिमा भएकाे खर्च, उनीहरूकाे जनशक्तिमा हुने खर्च हेरेर कमिसन तय हुनु पर्ने बताएका थिए । ‘ब्राेकरकाे कमिसन धेरै भयाे भन्ने महसुस गरेका छाैं। ब्राेकरकाे कमिसन कति घटाउने भनेर हामीले अध्ययन गरिसकेका छाैं । त्याे अध्ययनलेे दिएका सुझावहरू रिभ्यु हुँदैछ ।

एक पटक ब्राेकरहरू र लगानीकर्ताहरूसँग छलफल गरेपछि कमिसन घटाउँछाैं,’ भनेका थिए । 
त्यसयता उनकाे बाेलि फेरिएकाे छ । बाेर्ड कमिसन घटाउने कुरामा कानमा तेल हालेर बसेकाे छ । त्यसैले लगानीकर्ताहरू आन्दाेलनमै जान बाद्य भएका छन् । कतिपयकाे आशंका दैनिक हुने अर्वाैंकाे सेयर काराेबारबाट आउने कमिसनमा धेरै निकायकाे आँखा परेकाे दावी गर्छन् । ब्राेकरले टन्न कमिसन बटुलेर विभिन्न निकायमा बाँडचुँड गर्छन्, एक लगानीकर्ता नाम उल्लेख नगर्ने सर्तमा दावी गर्छन्, भाग पाएपछि कमिसन घटाउने कुरामा सबै तैं चुप मै चुप छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको