Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबाट कमाउन चाँहानुहुन्छ ? खरिद गर्दा यी कुरामा विचार पुर्याउनुहोस् !

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, १४ : ०० मा प्रकाशित

सेयरबाट कमाउन चाँहानुहुन्छ ? खरिद गर्दा यी कुरामा विचार पुर्याउनुहोस् !

पछिल्लो समय नेपालको सेयर बजारमा नयाँ लगानीकर्ताहरुको थपिने क्रम बढेको छ । बजारमा नयाँ लगानीकर्ताहरुको प्रबेश, कोरोनाका कारण लगानीका अन्य क्षेत्र अझै चलायमान हुन नसक्नु, ब्रोकर कमिसन घट्नु, बैंकको मुद्दती निक्षेपको व्याजदर घट्नुलगायतका कारणहरुले गर्दा अहिले सेयर बजारले नयाँ उचाइ हासिल गर्दै गएको छ ।

बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समयमा लगानी गर्ने ? लगानी गर्दा कम्पनीको कुनकुन पक्षमा ध्यान दिने जस्ता आधारभूत पक्षहरुबारेमा जानकारी नहुदा कतिपय लगानीकर्ताहरुले नोक्सानी व्यहोरिरहेका छन् । सेयरका बारेमा आधारभुत ज्ञानसमेत हासिल नगरी सामाजिक सञ्जालमा फैलिने हल्लाका आधारमा लगानी गर्दा त्यसले लगानीकर्ताहरुलाई ठूलो नोक्सानी पुर्याउन सक्दछ ।

सेयर बजारका पुराना खेलाडीहरुले कतिपय अवस्थामा नयाँ लगानीकर्ताको अपरिपक्वतामा खेलिरहेका हुन्छन् । कुनै कम्पनीको मूल्य केहि समयसम्म लगातार बढाउने अनि निष्चित बिन्दुमा पुगेपछि आफ्नो नाफा बुक गरेर बेचिदिन्छन् । यस अवस्थामा नयाँ लगानीकर्ताहरुले मूल्य बढेको अनुपात हेरेर सेयर खरिद गर्छन् अनि नोक्सान व्यहोर्न पुग्छन् ।

सेयर बजारमा लामो अनुभव हासिल गरेका एक लगानीकर्ता देव के.सीका बिचारमा लगानीकर्ताहरुले कुनै कम्पनीमा लागानी गर्दा हल्लाका पछाडि नलागि कम्पनीका बारेमा अध्ययन गरेर मात्र लगानी गर्न सकेमा मात्र पछि पछुताउनु पर्ने अवस्था आउँदैन । के.सीका अनुसारमा बजारमा आएका नयाँ लगानीकर्ताहरुले निम्न कुराहरुलाई ख्याल गरेर लगानी गर्न सकेमा राम्रो प्रतिफल कमाउन सकिन्छः

१.कम्पनीको व्यबस्थापन : कुनै पनि कम्पनीमा आफ्नो पैसा लगानी गर्नुपूर्व लगानीकर्ताहरुले त्यो कम्पनीको व्यबस्थापन पक्ष कस्तो छ भन्ने कुराको ज्ञान राख्नु पर्दछ । संस्थाको सफलता र असफताको र्निधारण त्यस कम्पनीमा कस्तो व्यबस्थापन छ भन्ने कुराले गर्दछ । राम्रो व्यबस्थापनका साथ संचालित कम्पनीहरु सफल हुने संभावना बढि रहन्छ । कम्पनी सफल हुनु भनेको लगानीकर्ताको लगानी सुरक्षित हुनु पनि हो । साथै कम्पनीको छनौट गर्दा त्यो कम्पनी कस्तो व्यक्तिले नेतृत्व गरेको छ भन्नेतर्फ पनि लगानीकर्ताले ध्यान दिनु जरुरी रहन्छ । बिगतमा उसले नेतृत्व गरेको कम्पनीको अवस्था कस्तो छ र उसको दक्षता कुन बिषयमा छ भन्ने कुरा पनि लगानीकर्तालाई थाहा हुनु पर्दछ ।

२. बैकिङ क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरुले ROE (Return On Equity) र उत्पादन क्षेत्रमा लगानी गर्दा ROE र ROCE(Return On Capital Employed) लाई ध्यान राख्नु पर्दछ । ROE भनेको कम्पनीले लगानीकर्ताहरुको लगानीबाट कति प्रतिफल हासिल गर्यो भन्ने हो भने ROCE भनेको कम्पनीले ऋणबापत प्राप्त लगानीले कति प्रतिफल हासिल गर्यो भन्ने हुन्छ । जुन कम्पनीले बढी प्रतिफल हासिल गरेको छ, त्यस्तो कम्पनीमा गरिएको लगानी बढी फलदायी हुन सक्छ ।

३. इपिएसः इपिएस भनेको कम्पनीको प्रतिसेयर आम्दानी हो । कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लगानीकर्तालाइ हुनु पर्दछ । लगानी गर्दा कम्पनीको पछिल्ला बर्षहरुको प्रतिसेयर आम्दानीको अनुपात हेरी पहिलेका बर्षहरुभन्दा आम्दानी बढेको र बढ्न सक्ने कम्पनी छनौट गर्नु पर्दछ । सकेसम्म प्रतिसेयर आम्दानी बढि भएका कम्पनीहरुमा लगानी गरेमा त्यस्तो लगानीले बढि मुनाफा दिन सक्दछ ।

४. क्षेत्रको र्निधारणः लगानी गर्दा कुन अवस्थामा कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराको ज्ञान पनि लगानीकर्ताहरुमा हुनु पर्दछ । नेप्सेले कम्पनीको स्परुप र तिनको कामका आधारमा बिभिन्न १२ उपसमूहमा बिभाजन गरेको छ । जस्तो, कुनै समयमा देशको पर्यटन क्षेत्रमा राम्रो भइरहेको छ भने त्यस्तो अबस्थामा पर्यटनसँग सम्बन्धित कम्पनीहरुमा गरिएको लगानी बढि सुरक्षित र लाभदायी हुन सक्छ । कुनै बैंकिङ क्षेत्रमा लगानी गर्दा बैंकहरुको निक्षेप संकलन र ऋण लगानीको अवस्था अध्ययन गर्नु पर्दछ । निक्षेप पनि बढेको र ऋण लगानी पनि बढेको अवस्था भनेको बैंकिङ क्षेत्रको लगानीको लागि उपयुक्त हुन सक्दछ भने बिमा कम्पनीहरुको जारी बिमा लेख संख्या र खुद बिमा शुल्क बढेको र दाबि भुत्तानी घटेको अवस्था बिमा कम्पनीमा लगानीका लागि उपयुक्त हुन जान्छ ।

५. पिइ रेसियो : कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढि सुरक्षित हुन सक्दछ ।

यसका साथै सेयर बजारमा लगानीगर्दा बजारको अवस्थाको बारेमा पनि लगानीकर्ताहरुले अध्ययन गर्न जरुरी हुन्छ । बजारमा देखिएको तरलता क्षणिक हो वा दिगो हो भन्ने कुराको ज्ञान लगानीकर्तामा हुनु पर्दछ । अहिलेको अवस्थामा सेयर बजारमा लगानी बढि भित्रिनुको मुख्य कारणहरु भनेका बैंकको मुद्दती निक्षेपमा न्यून व्याजदर हुनु, लगानीका अन्य क्षेत्रमा लगानीको वातावरण नहुनु ,कम व्याजदरमा बैंकहरुले ऋण लगानी गर्नु आदी हुन् ।

खत्रीको विचारमा सेयर बजारमा लगानी गर्दा बजारको हल्ला र आफ्नो भावनालाई सधै टाँढा राख्नु पर्दछ । कहिले काँही बजारको हल्लबाट कसैले क्षणिक आम्दानी गर्न सक्लान् तर दिर्घकालिन रुपमा हेर्ने हो भने हल्ला र व्यक्तिगत भावनाहरु सेयर कारोबारका मुख्य सत्रु नै हुन् ।

बजारमा चलाइएका हल्लाहरु भनेका कुनै निहित समुहको निहित स्वार्थपूर्ति गर्ने उद्देश्यले चलाइएका हुन्छन् जसको सिकार भर्खर भर्खर प्रबेश गरेका नयाँ लगानीकर्ताहरु हुन जान्छन् । त्यसकारण दोस्रो बजारमा प्रबेश गरेका नयाँ लगानीकर्ताहरु लाइ कसैको हल्लाको पछाडि लागेर लगानी गर्नुभन्दा पनि कम्पनीका बारेमा र बजारको अवस्थाका बारेमा राम्रो अधययन गरेर मात्र लगानी गर्नु पर्ने जानकारहरु बताउछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको