नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२ को साउन मसान्तसम्म आइपुग्दा धितोपत्र बजार पुँजीकरण घटेर ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ थियो। यसरी बजार पुँजीकरण एक वर्षमा करिब १ खर्ब १० अर्बले घटेको देखिन्छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सापेक्ष पुँजीकरण पनि कमजोर भएको छ। २०८१ साउनमा जीडीपीको ८३.४८ प्रतिशत रहेको धितोपत्र बजार पुँजीकरण २०८२ साउनमा घटेर ७६.२४ प्रतिशतमा झरेको छ।
गत वर्षको साउन मसान्तमा ३०००.८१ विन्दुमा पुगेको नेप्से परिसूचक चालु वर्षको सोही अवधिसम्म आइपुग्दा २७८८.३७ विन्दुमा खुम्चिएको छ। यसरी परिसूचक एक वर्षमै ७ प्रतिशतभन्दा बढीले घटेको छ, जसले लगानीकर्ताको मनोबलमा पनि असर पारेको छ।
बजारमा गिरावट देखिए पनि सूचीकृत कम्पनीहरूको संख्या भने बढेको छ। २०८१ साउन मसान्तमा २६८ रहेको संख्या चालु आवको साउन मसान्तमा २७४ पुगेको छ।
यीमध्ये १३२ कम्पनी बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका छन् भने ९२ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन्।
धितोपत्र बजारमा अझै पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीकै दबदबा कायम छ। राष्ट्र बैंकका अनुसार यो समूहको हिस्सा कुल पुँजीकरणको ५२.६ प्रतिशत छ।
यस्तै, जलविद्युत् कम्पनीहरूको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनी ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ५.६ प्रतिशत, व्यापारिक संस्था ५ प्रतिशत, होटल २.७ प्रतिशत र अन्य समूह ११.१ प्रतिशत रहेको छ।
२०८२ साउन मसान्तसम्म सूचीकृत ८ अर्ब ८८ करोड कित्ता सेयरको चुक्ता मूल्य ८७५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा मात्र ७ अर्ब ५० करोड बराबरको साधारण सेयर, ७१ करोड ८५ लाख बराबरको बोनस सेयर र २ करोड २५ लाख बराबरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको नयाँ धितोपत्र सूचीकृत भएका छन्।
यसैबीच, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा १० अर्ब ३३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। यसअन्तर्गत ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस