यस साता ३ दिन खुलेकाे सेयर बजार ३ दिन नै राताम्मै भएर बितेकाे छ ।
यस साता नेप्से परिसूचक ४८ दशमलव २ अंकले घटेर २४ सय ५८ दशमलव ४८ अंकमा रोकिएको छ । गत साता नेप्से परिसूचक ४७ दशमलव ४६ अंकले घटेर २५ सय ६ दशमलव ६८ को विन्दुमा रोकिएको थियो । यस साताको ३ कारोबार दिनमा नेप्सेले ३ दिन नै ओरालो यात्रा तय गरेको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २३ अंकले घटेर ४४५ दशमलव २३ विन्दुमा झरेको छ ।
नेप्से परिसूचक सँगसँगै यस साता कारोबार रकममा पनि भारी गिरावट आएको छ । गत साता औसतमा दैनिक करिब ६ अर्ब भन्दा माथीको कारोबार भएकोमा यो साता भने औसतमा दैनिक ४ अर्ब भन्दा माथीको कारोबार भएको छ ।
यो साता बजार पुँजीकरण पनि ६६ अर्ब ४० करोड ८० लाख भन्दा बढीले घटेको छ ।
यस साताको आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५८ अंकले घटेर २४८५ दशमलव ९ विन्दुमा पुगेको थियो। सोमबार नारी दिवसका कारण सेयर बजार बन्द थियो । मंगलबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिँदै सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ विन्दुमा पुगेको थियो । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर २४५८ दशमलव ४८ विन्दुमा पुगी यस सातालाई बिदाइ गरेको छ । बिहीबार शिवरात्री परेको हुनाले यस साताको सेयर यात्रा बुधबारसम्मको थियो ।
त्यसैगरी, सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेप्सेमा ८ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र अरूण काबेली पावर कम्पनी लिमिटेडको बोनस सेयर तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाकाे सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस