Like us!
Follow us!
Connect us!
Watch us!

हट्यो पुलमा लगाइएको कर

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १४ : ०१ मा प्रकाशित

हट्यो पुलमा लगाइएको कर

बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो ।

जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ ।

यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो । यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो ।

चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो । बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए । जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध शुरु भएको थियो ।

बागलुङ–१ बाङ्गेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ । उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ । सङ्घ सरकारको लगानीमा पुल बनेको हो । - रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको