Like us!
Follow us!
Connect us!
Watch us!

अब घरमै पिसिआर

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १२ : २९ मा प्रकाशित

अब घरमै पिसिआर

अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।

जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । उहाँले बिरामी भएको वा सङ्क्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पिसिआरका लागि नमूना सङ्कलन गर्ने जनाए । उहाँले यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने बताए ।

अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले रु दुई हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ । 

घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् ।रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको