Like us!
Follow us!
Connect us!
Watch us!

'लगानीकर्ताको उच्च मनोबल नै अहिलेको बजारको चित्र हो, बजार अझै माथि जान्छ'

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १५ : ३१ मा प्रकाशित

'लगानीकर्ताको उच्च मनोबल नै अहिलेको बजारको चित्र हो, बजार अझै माथि जान्छ'

साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । नेप्से परिसूचक झिनो अंकले घटे पनि आज कारोबार रकमले नयाँ रेकर्ड राखेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरीद बिक्रीमा कडाई गरेसँगै लघुवित्त कम्पनीहरूकाे सेयरमूल्यमा पहिराे गएकाे भएतापनि सेयर बजारले भने नयाँ रेकर्ड बनाएकाे छ ।  राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारी गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे थियो ।

बैंकले एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न नपाउने, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न नपाउने लगायतका अंकुश लगाएको थियो । जसको असर लघुवित्त कम्पनीहरुमा देखिए पनि अन्य सूचकहरु भने चम्किएका छन् ।

बैंकको उक्त निर्देशनले सेयर बजारमा पहिरो आउने आम लगानीकर्ताले अनुमान लगाएका थिए । तर बजारले झनै बलियो भएको छ । जुन कुरा आजको कारोबार रकमले पुष्टि पुष्टि गर्छ । बिहीबार हालसम्मकै उच्च अर्थात् १४ अर्ब ७६ कराेड ८७ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । साेमबार १३ अर्ब १७ कराेड ५३ लाख ५३ हजार रूपैयाँ बराबरकाे कारोबार भएर कारोबार रकमले रेकर्ड ब्रेक गरेको थियो । नेप्सेले आज साेही रेकर्ड ताेडेकाे हाे । 

सामान्य हल्लाले पनि प्रभावित हुने बजारमा पछिल्लो समय हल्ला र राजनीतिक अस्थिरता र उथलपुथलले पनि प्रभाव पार्न छाडेको छ । अबको बजार कता जाला भनि हामीले सेयर विश्लेषक तिलक कोइरालासँग प्रश्न गर्दा उनले सेयरबजारमा लगानीकर्ताको मनोबलको ठूलो भूमिका रहने भएकोले प्रचारबाजी हल्लाले लगानीकर्ताको मनोबल खस्किएन भने बजार अगाडी बढ्ने बताए । 

उनले भने, "पूँजीबजारमा लगानीकर्ताको मनोबलको ठूलो भूमिका रहन्छ । गलत प्रचारबाजी भएपनि लगानीकर्ताको मनोबल खस्किएन र आफ्नो रणनीतिमा लगानीकर्ता लागिरहेको देखिन्छ । यो नै अहिलेको बजारको चित्र हो ।"

अहिले सेयर बजारमा लाभांशको दृष्टिकोणले भन्दा पनि पूँजीगत लाभ कुनमा बढी हुन्छ भन्ने हिसाबले लगानी गर्नेहरु बढेको बताए । जसको कारण त्यहि खालको कम्पनीको सेयर उच्चतम ढंगले बढेको उनको भनाइ छ  ।

उनले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिम बहन गर्न सक्ने क्षमतालाई नियाल्नुपर्ने समेत बताएका छन् । 

बिहिबार कारोबार रकमले नयाँ रेकर्ड बनाएकाे दिन नेप्से परिसूचक भने झिनाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १.२० अंकले घटेर २८१५.४० मा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३१ अंकले बढेर ५०८.४९ मा पुगेको छ ।

बिहीबार कूल २१५ वटा कम्पनीकाे ४ कराेड १८ लाख १३ हजार ९ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ७६ कराेड ८८ लाख ८ हजार ४ सय ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
आज व्यापार समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।यो समुहको सेयरमूल्य ६.७२ प्रतिशतले बढेको हो । त्यसैगरी, हाइड्रोपावर समूहको ४.५७ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समूहको सेयरमूल्य ३.४३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २.२८ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह, उत्पादन समुह, र म्युचुअल फण्ड समुहको सेयरमा पनि आज हरियाली छाएको छ । 

यता, माइक्रोफाइनान्स समुहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूहको सेयरमूल्य ३.४१ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी, अन्य समूह, लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट, होटल एण्ड टुरिजम र बैकिङ समूहको सेयरमूल्यमा पनि गिरावट आएको छ । 

त्यसैगरी, बिहीबार खानीखाेला हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावर, नेपाल हाइड्राे डेभलपर्सका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा समता घरेलु लघुवित्त, मेराे माइक्राेफाइनान्स लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । बिहीबार काराेबार रकमकाे आधारमा अपि पावर कम्पनी लिमिटेड अग्र स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको