दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार आगामी असार १ गते विशेष साधारण सभा बस्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीका अनुसार सभा असार १ गते बिहान ९ बजे ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा आयोजना हुनेछ । सभामा कम्पनीको जारी तथा चुक्ता पूँजीसँग सम्बन्धित प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।
विशेष साधारण सभामा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिने भएको छ । यसअनुसार कम्पनीले ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरका ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद सेयर निष्काशन गर्ने योजना अघि सारेको छ । विद्युत नियमन आयोगले हकप्रद सेयर निष्काशनका लागि स्वीकृति दिँदा दशमलवमा सेयर संख्या आएको कारण कम्पनीले नजिकको पूर्ण अंकमा मिलान गरी ६० लाख ८२ हजार ५५० कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको जनाएको छ ।
त्यसैगरी हकप्रद शेयर निष्काशनका लागि आवश्यक पर्ने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ । साथै नियामक निकायको निर्देशन वा सुझावअनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न तथा हकप्रद निष्काशन प्रक्रियामा कुनै बाधा–अड्चन आए समाधान गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्तावसमेत सभामा पेश गरिनेछ । यसका लागि कम्पनीले जेठ २५ गते एक दिन बूक क्लोज गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस