Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसदको दौडधूप: गृहमा युवा नेता बस्नेतको चर्चा

पत्रपत्रिका

बुधबार, २६ जेठ २०७८, ०७ : ०५ मा प्रकाशित

मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसदको दौडधूप: गृहमा युवा नेता बस्नेतको चर्चा

पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् ।

यही सकसका कारण निकै महत्वपूर्ण मानिएका गृह, उद्योग वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालय केही समयदेखि मन्त्रीविहीन हुँदै आइरहेका छन् । तीलगायत सातवटा मन्त्रालय रिक्त रहँदा मन्त्रालयले गर्ने महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित हुँदै आएका छन् ।

मन्त्री बन्न एक दर्जन बढी पूर्व सांसद दौडधूपमा लागेका छन् । यसअघि मन्त्री नभएका र पार्टीमा इमानदारितापूर्वक लामो त्याग गर्दै आइरहेकालाई मन्त्री बनाउन प्रधानमन्त्री माथि दबाब परेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि सो प्रयासले सार्थकता पाउन सकेको छैन । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरे पनि नेपाल–खनाल समूहले ६ बुँदे प्रस्तावमा आशंका गर्ने ठाउँहरू बढी पाइएको भन्दै अससहमति जनाएको थियो ।

६ बुँदे प्रस्तावमा नेपाल–खनाल समूह सन्तुष्ट नदेखिएपछि भने ओलीले सो समूहबिना नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी अघि बढाएका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षलाई समेटेर १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन आफैंसँग राखेका छन् । यी सबै महत्वपूर्ण मन्त्रालयको रूपमा रहेका छन् ।

गृह मन्त्रालयमा को जाने भन्नेमा हाल पार्टीभित्र हानथाप परेको छ । गृहमा युवा नेता महेश बस्नेतको चर्चा बढी छ । प्रधानमन्त्री ओलीले अहिलेको समयमा गृह हाँक्नका लागि सक्षम व्यक्ति बस्नेत नै रहेको भन्दै बस्नेतलाई नै गृहमन्त्री बनाउने मनस्थिति बनाएको बताइएको छ । यद्यपि, केहीले बस्नेतलाई सञ्चार मन्त्रालयमा लैजान सुझाउँदै आएका छन् ।

यस्तै खगराज अधिकारी र कर्णबहादुर थापाको नाम पनि गृहमन्त्रीका रूपमा चर्चामा छ । मन्त्री हुने चर्चामा रहेका अन्यहरूमा विशाल भट्टराई, राजेन्द्र गौतम, नारादमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत छन् ।

यता, नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरूले पनि केही महत्वपूर्ण मन्त्रालय माग गरेको स्रोतले बतायो । मौजुदा मन्त्रिपरिषद्मा माओवादी केन्द्र परित्याग गरेका कोही मन्त्रीहरू अहिले अटाएका छैनन् । यसअघि, गृहमन्त्री रामबहादुर थापा बादलसहित सात मन्त्री सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ६ जेठमा पदमुक्त भएका थिए । माओवादी केन्द्रबाट आएका नेताहरूले सातवटै मन्त्रालय माग गर्दै आएका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरूको साथ छाड्ने दुई जनालाई मन्त्री बनाइसकेका छन् । रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् ।

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको