नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका छन् । नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी एक विज्ञप्तिसहित अर्थ मन्त्रालय पुगेका हुन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धिताे कर्जाकाे सीमालाई १२ कराेडमा सिमित गर्दै साे १२ कराेड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनपर्ने व्यवस्था गरेकाे छ । याे सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दवाव सिर्जना भई धेरै दिनदेखि सेयर बजारमा निरन्तर रूपमा गिरावट आएको विज्ञप्तिमा उल्लेख छ ।
याे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीकाे माग गर्दै उनीहरूले विज्ञप्ति बुझाएका हुन् ।
यसअघि पनि मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको भन्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले अर्थ मन्त्रालयमा संयुक्त विज्ञप्ति बुझाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जा सिमाकाे विराेध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरूलाई बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने आश्वासन दिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस