Like us!
Follow us!
Connect us!
Watch us!

९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १३ : ४१ मा प्रकाशित

९ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

विभिन्न ९ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये एउटा कम्पनीकाे विशेष साधारण सभा र ८ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुन लागेकाे हाे । यी ९ कम्पनीमध्ये ६ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । 

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. ङादी ग्रुप पावर लिमिटेड 

ङादी ग्रुप पावर लिमिटेडकाे आठौँ वार्षिक साधारण सभा असोज ३ गते काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र  १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यसका साथै, बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

२. बेष्ट फाइनान्स कम्पनी लिमिटेड

 बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे २४औँ वार्षिक साधारण सभा भदाै ३० गते, फाइनान्सकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

३. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

४. गोर्खाज फाइनान्स कम्पनी लिमिटेड

गोर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे २६ औँ वार्षिक साधारण सभा असोज १८ गते, हाेटल क्राउन इम्पेरियल, काठमाडाैँमा हुँदैछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुनेछ । सभामा प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि असाेज १० गतेदेखि असाेज १८ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले, असाेज ९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । 

५. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड 

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा असोज १६ गते, सिद्धार्थ होटल, विर्तामोड, झापामा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ५१ लाख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, भदौ ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. नेपाल ल्युब आयल लिमिटेड

नेपाल ल्युब आयलकाे ३०औं वार्षिक साधारण सभा असाेज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुरमा भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, भदाै ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. ओरियन्टल होटल्स लिमिटेड 

ओरियन्टल होटल्स लिमिटेडकाे चाैबीसाैँ वार्षिक साधारण सभा असोज १९ गते कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा, भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल पनि गरिनेछ । सभामा संस्थापक सेयरधनीबाट ४ जना, साधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछ । साधारण सभा प्रयाेजनका लागि कम्पनीले असोज ४ गतेदेखि असाेज १९ गतेसम्म बुकक्लोज गर्नेछ ।

८. सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक ११ गते हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९.  घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा असाेज १६ गते शनिबार, हाेटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा हुनेछ । संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी निर्णयकाे लागि विशेष साधारण सभा आह्वान गरेकाे हाे । दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएकाे थियाे । त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार राेक्का छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० काे अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको