मर्जर प्रक्रियामा रहेका पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडले आज माघ १४ गते आ–आफ्ना वार्षिक साधारणसभा आयोजना गर्दै मर्जर प्रस्तावलाई औपचारिक रूप दिने चरणमा प्रवेश गरेका छन्। दुवै संस्थाले सभामार्फत मर्जरसँग सम्बन्धित मुख्य एजेन्डाहरू पारित गरेर अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी गरेका हुन्।
दुवै कम्पनी समान हैसियतका आधारमा एकीकृत हुने सहमतिमा पुगेका छन्। संयुक्त मर्जर समितिले तय गरेको सेयर आदानप्रदान अनुपात १:१ रहनेछ, जसअनुसार दुबै पक्षका सेयरधनीहरूलाई बराबरीको आधारमा नयाँ संरचनामा समायोजन गरिनेछ।
मर्जरका लागि नियुक्त स्वतन्त्र मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व र समग्र व्यवसायिक अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गरेका थिए। सोही प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपातलाई दुवै कम्पनीका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।
यी दुई वित्तीय संस्थाबीच मर्जरको प्रारम्भिक सहमति गत साउन ४ गते भएको थियो। त्यसपश्चात नियामक निकाय नेपाल राष्ट्र बैंकले असोज २७ गते मर्जर प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो।
मर्जर सम्पन्न भएपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड नै रहने तय गरिएको छ। केन्द्रीय कार्यालय पोखरामै कायम रहनेछ भने कर्पोरेट कार्यालय काठमाडौंमा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जरपछि बन्ने संयुक्त संस्थाको अध्यक्ष पदमा रहने समझदारी पनि भएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस