६८३ मेगावाट भएकाे सुनकोशी तेस्रो विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बंगालादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको भ्रमण गर्ने सहमति भएको छ ।
गत मंगलबार नेपाल र बंलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बंगलादेशलाई नै प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधु भेटवालले बताएका छन् ।
उनका अनुसार सुनकोशी तेस्रोका लागि नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बंगालादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गरेका थिए ।
नेपालबाट बंगलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मा उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएकामा बंगलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको यस आयोजनालाई बंगलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।
आयोजनाका लागि सर्वेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनीयरिङ डिजाइनको काम पनि सकिएको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको विभागका इञ्जिनीयर सुवास थपलियाले जानकारी दिएका छन् ।
उनका अनुसार गत सालदेखि नै कोभिड–१९ का कारण इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम हुन सकेको छैन । यी दुवै काम कोरोनाको जोखिम हटेपछि थालिने भएको छ । इआइएका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृति भइसकेको छ ।
इञ्जिनीयर थपलियाले भने, ‘कोभिडका कारण परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले इआइएको काम यो वर्ष पनि सरेको छ ।’ परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) को प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिमका कारण यसको बाँकी काम रोकिएको थियो ।
एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेक्षणसम्मको काम सकिएको जानकारी दिइएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा असर पर्ने घरपरिवार तथा क्षेत्र र समुदायलाई उपलब्ध गराउने क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको थियो ।
साथै आयोजनाबाट असर पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडाका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकार व्यक्ति तथा संघसंस्थाबाट सुझावसमेत मागिएको थियो ।
विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि रू. १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न रू. ३३ करोड लाग्ने इञ्जिनीयर थपलियाले बताए । उनले भने, ‘हालसम्मको विभिन्न अध्ययनबाट सुनकोशी दोस्रोभन्दा पनि तेस्रोको सम्भावना देखिँदै आएको थियो ।’ परियोजनाअन्तर्गत सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माणका लागि प्रस्ताव गरिएको छ ।
प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुने र यसका लागि लुभूघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिने र विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ । आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करीब एक हजार ६०० परिवारलाई असर पुग्नसक्ने प्ररम्भिक अध्ययनबाट देखिएको छ ।
आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नापा, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका तथा सिन्धुलीको एक गाउँपालिकामा असर पर्ने देखिएको छ ।
वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा असर पर्ने क्षेत्रमा भौतिक, जैविक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरुपमा सार्वजनिक अपिल गरिसकेका छन् ।
सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । उक्त संस्थाका अनुसार १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जिल्लाको दोस्रो आयोजना हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस