Like us!
Follow us!
Connect us!
Watch us!

१३ जलविद्युत आयोजनाको उत्पादन बन्द, पाँच निर्माणाधीन आयोजना पनि क्षतिग्रस्त

अर्थ संसार

सोमबार, २० असोज २०८२, ०८ : २२ मा प्रकाशित

१३ जलविद्युत आयोजनाको उत्पादन बन्द, पाँच निर्माणाधीन आयोजना पनि क्षतिग्रस्त

देशभर जारी अविरल वर्षाका कारण पूर्वी नेपालका धेरै जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् । बाढी र पहिरोको जोखिम बढेसँगै इलाम जिल्लाका १३ वटा जलविद्युत आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने पाँच निर्माणाधीन आयोजनामा समेत ठूलो क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार हाल सञ्चालनमा रहेका करिब एक सय पाँच दशमलव चार मेगावाट क्षमताका १३ जलविद्युत आयोजना अस्थायी रूपमा बन्द भएका छन् । यी आयोजनाहरूले हालसम्म राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गर्दै आएका थिए ।

बन्द भएका आयोजनामा माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाइ ‘ए’, सुपरमाइ ‘ए’ क्यासकेड, जोगमाइखोला, जोगमाइखोला क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माइखोला र माई ‘सी’ क्यासकेड लगायतका आयोजना रहेका छन् । यी सबै आयोजना इलाम जिल्लामा केन्द्रीत छन्, जहाँ पछिल्ला दिनहरूमा लगातार वर्षाका कारण पहिरो र बाढीका घटनाहरू बढिरहेका छन् ।

इप्पानका प्रतिनिधिहरूका अनुसार ती आयोजनाहरूको संरचना तथा पहुँच मार्गहरूमा क्षति पुगेकोले तत्काल मर्मत सम्भव छैन । विद्युत उत्पादन पुनः सुरु गर्न केही दिनदेखि हप्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, बाढी र पहिरोका कारण निर्माणाधीन ९३ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना पनि प्रभावित भएका छन् । क्षति पुगेका आयोजनामा पाँचथरका सभाखोला बी र हेवाखोला, इलामको सिद्धिखोला, तथा सिन्धुपाल्चोकका ब्रम्हायणी र अपर ब्रम्हायणी आयोजनाहरू छन् ।

स्थानीय स्रोतका अनुसार यी आयोजनाहरूका बाँध, सुरुङ र पहुँच सडकमा क्षति पुगेको छ । निर्माणस्थलमा सामग्री बगाएको, कामदारहरू सुरक्षित स्थानमा सारिएको र उत्पादन पुनः सञ्चालनका लागि प्रारम्भिक मूल्यांकन भइरहेको बताइएको छ ।

ऊर्जा उत्पादकहरूका अनुसार, लगातारको मनसुनका कारण देशभरका जलविद्युत आयोजनामा जोखिम बढिरहेको छ र स्थायी पूर्वाधार निर्माण तथा मौसमीय पूर्वतयारीलाई अब प्राथमिकतामा राख्न जरुरी भएको छ ।

ऊर्जा क्षेत्रका विज्ञहरूले पनि मौसमजन्य जोखिम न्यूनीकरणका लागि जलाशय तथा सुदृढ संरचनामा लगानी बढाउन सुझाव दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको