Like us!
Follow us!
Connect us!
Watch us!

पाँच ताराकाे साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १३ : ०३ मा प्रकाशित

पाँच ताराकाे साधारणसभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश

 

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी सीमित व्यक्तिको उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप गत भाद्र २० गतेबाट सदस्यहरुका लागि वार्षिक प्रतिवेदन वितरण तथा सुझाव संकलन र उपस्थिति पुस्तिका खुल्ला गरेको थियो ।

संस्थाले आज विद्युतीय माध्यमबाट साधारणसभाको समापन गरेको हो । सभा समापन समारोहका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले शुभकामना मन्तब्य दिँदै सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीहरुमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।

कतिपय संस्थामा आएको समस्याका कारण त्यसको असर राम्रोसँग चलेका सहकारी संस्थामा पनि पर्ने भएकाले त्यसतर्फ सचेत हुँदै अभियानसँग सहकार्य गरेर अगाडि बढ्न उनले सुझाव दिए । कुनैपनि व्यक्ति सहकारीमा आवद्ध हुनुपूर्वको अवस्था र भइसकेपछि उसको जीवनस्तरमा कत्तिको सुधार आयो त्यसले नै संस्थाको सफलता मापन गर्ने उप्रेतीले बताए । संस्थाले सदस्यहरुमा व्यवसायिकता, उद्यमशीलता, नेतृत्व विकास र स्तरोन्नतिमा खेलेको भूमिकाले नै संस्थाको क्रियाशीलता देखिने उनले बताए ।

कुनै व्यक्ति एउटा बचत ऋण सहकारीमा सदस्य छ भने ऊ एउटै कार्यक्षेत्रभित्रको एकै प्रकृतिको संस्थाको सदस्य बन्न आवश्यक नरहेको भन्दै उनले थपे ‘यदि संस्थाको गतिविधि र व्यवहारप्रति असन्तुष्टि भए सञ्चालक समिति र व्यवस्थापनसँग आफ्ना कुरा राख्नुपर्छ । सदस्यले सम्पूर्ण कारोबार एउटै संस्थामा गर्नुपर्छ र संस्थाले पनि सदस्यको आर्थिक तथा सामाजिक आवश्यकतालाई जसरी भएपनि पूरा गर्ने प्रयास गर्नुपर्छ ।’

पाँचतारा पल्र्स, वित्तीय सूचांक, सुशासन र अन्य गतिविधिका हिसाब सबल संस्था बनेकाले आफ्नो कार्यक्षेत्रभित्रका अरु संस्थाहरुलाई पनि सबल, सक्षम र सुशासनयुक्त बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं कास्कुनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचतऋण सहकारीमा समस्या बढेको बताए । सहकारीको मुल्यमान्यता र सिद्धान्त अनुरुप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने तर काम र व्यवहार भने फरक गर्ने संस्थाहरुका कारण सहकारीको छवि धुमिलिएको उनको भनाई छ ।
राजनीतिक पहुँचका भरमा चलेका सहकारीमा नै बढी समस्या आएको भन्दै उनले सहकारी क्षेत्रको विकृतिलाई न्यूनिकरण गरी सदस्यमुखी दृष्टिकोणका साथ अभियानलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कोभिड १९ का कारण एकैपटक सबै सदस्यहरु भेला भएर साधारण सभा गर्न असम्भव भएकाले सदस्यहरुको घरघरमा वार्षिक प्रतिवेदन पु¥याई उनीहरुबाट आएको सल्लाहसुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको उनले बताए ।

विगतका वर्षहरुमा भौतिकरुपमा नै सदस्यहरुमाझ आर्थिक र संस्थागत व्यवस्थापनका विषयमा जानकारी लिनेदिने थलो साधारणसभा हुँदै आएको भएपनि कोभिड १९ का कारण विगत दुई वर्षदेखि यस्तो प्रक्रिया अवरुद्ध भएको र आगामी वर्षहरुमा एकैपटक भेला भएर संस्थाका गतिविधिका बारेमा सामुहिक रुपमा छलफल गर्न पाइने आशा उनले व्यक्त गरे ।

सहकारीमा मात्र सानो रकमबाट संस्थाको मालिक बन्ने अवसर प्राप्त हुने र सहकारीले कुनै वर्ग, जाति, धर्मका आधारमा विभेद नगरी समान व्यवहार गर्ने हुँदा मुलुकमा सबैकालागि सहकारी नै उत्तम विकल्प भएको उनले जनाए ।

संस्थाको कारोबार र सदस्यता वृद्धि हुँदै गएकाले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनका लागि प्रदेश रजिष्ट्रार कार्यालयमा गत वर्ष नै प्रक्रिया अगाडि बढाएको भएपनि त्यहाँबाट स्वीकृति नआइसकेकाले सेवा विस्तारमा कठिनाई भएको उनले जनाए ।  

सदस्यहरुलाई उत्पादनमा जोडिन आग्रह गर्दै उनले भने ‘संस्थाले सरल र सुलभ ब्याजदरमा ऋण प्रवाह गर्छ । महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशत कै हाराहारीमा ऋण दिन्छ । यसको उपयोग गर्न म महिला सदस्यहरुलाई आग्रह गर्छु ।’ प्रति सदस्य १ हजार शेयरपुँजीबाट शुरु भएको संस्थाको गत असार मसान्तमा शेयरपुँजी ६ करोड ६७ लाख ३३ हजार र सबै कोषहरुमा गरी संस्थागत पुँजी ८ करोड ९१ लाख ९० हजार पुग्नु आफैंमा उपलब्धीमूलक भएको उनले बताए ।

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाख पुगेको जानकारी दिए । संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी उनले दिए ।

त्यसैगरी संस्थाले सदस्यहरुबाट संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेश गर्दै जोखिम विश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमा हुने गरी कार्यान्वय गर्दै जान सुझाव दिए ।

संस्थाका उपाध्यक्ष विजय मल्लले स्वागत मन्तब्य राखेको सभा सचिव लोचनहरि प्रसाईंले सञ्चालन गरेका थिए ।संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई चाडपर्व खर्च वापत जनही २ हजारका दरले रकम प्रदान गरेको छ । सदस्य र समुदायको आर्थिक तथा सामाजिक उत्थानमा कृयाशील पाँचताराले स्थानीय स्तरमा रक्तदान, सरसफाई, सामाजिक क्रियाकलाप, खेलकुद, मठमन्दिरको जगेर्ना जस्ता विविध क्षेत्रमा आफ्नो भूमिका निभाउँदै आएको छ भने राष्ट्रिय स्तरमा सहकारी अभियन्ताहरुलाई नियमित रुपमा सम्मान गर्दै आएको छ ।  

6146e4df0d73f.JPG 6146e4e3daf1f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको