Like us!
Follow us!
Connect us!
Watch us!

तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेको छ, मुआब्जा दिन केही प्रोसेस भएको छैन : बालेन

अर्थ संसार

शुक्रबार, १२ पुस २०८१, १६ : २२ मा प्रकाशित

तीनकुनेमा व्यक्तिको जग्गा सरकारले लुटेको छ, मुआब्जा दिन केही प्रोसेस भएको छैन : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेको बताएका छन्।

सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताए।  

शुक्रबार तीनकुनेमा आयोजना गरिएको कोटेश्वर महोत्सवमा  बोल्दै उनले यस्तो बताएका हुन् 

बालेनले कोटेश्वरका व्यवसायीलाई यस महोत्सवमार्फत आफ्नो पृथक विशेषतालाई उजागर गर्न सुझाव दिए । नेपाली उत्पादनको खरिद विक्रीमा जोड दिए । अनि, तीनकुनेको जग्गा अधिग्रहणलाई ‘सरकारले गरेको लुट’ को संज्ञा दिँदे मुआब्जाको लागि दवाव दिन जग्गाधनीलाई आग्रह गरे ।

यस्तो थियो बालेनको मन्तव्य:

'पूजाआजाका सामानका लागि असन, लुगा किन्न न्यूरोड, मेकानिकल सामानका लागि त्रिपुरेश्वरजस्तै कोटेश्वरको फरक विशेषता उजागर गर्नुपर्छ । यस महोत्सवमा नेपालमै बनेका सामग्री पाइयोस् । नेपालमा बनेको सामान धेरै महंगो हुन्छन्, किनभने किन्ने मान्छे धेरै हुँदैनन् । तपाईंहरुले नेपालमा बनेको सामान छैन ? भनेर सोध्नुभयो भने पसलहरु पनि प्रोत्साहित हुन्छन् र सामान सस्तो हुँदै जान्छ । महोत्सवका लागि जग्गा उपलब्ध गराइदिनुहुने जग्गाधनीहरुलाई धन्यवाद । पचासौं वर्षदेखि तपाईंहरुको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा मुआब्जा दिन अपोजिसनले मान्छ कि मान्दैन भन्ने गरिन्थ्यो । अर्को सरकार हुँदा बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपाली त दुई तिहाइको सरकार छ, तर केही पनि भएको छैन । कोही नेताले घरमा आएर काम हुँदैछ भनेर आश्वासन दिनुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । अहिलेसम्म मुआब्जा दिन केही प्रोसेस भको छैन । सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो । मुआब्जाको कुनै पनि प्रोसेस भएको छैन । चाँडै होस भन्ने शुभकामना मात्रै दिन सकिन्छ । दुई तिहाइको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत–साधन आफ्नै, सबै आफ्नै । हाम्रो वडा समिति पनि त्यही सरकारको, प्रधानमन्त्री पनि त्यही सरकारको, अर्थमन्त्री पनि त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन । मलाई पनि भन्नुहोला, उहाँहरुलाई पनि भन्नुहोला । यथासिघ्र समाधान होस भन्ने शुभकामना । हाम्रो उमेरभन्दा पनि बढी भयो होला यहाँको जग्गा लुटिएको । के भन्ने अब, यहाँको मान्छेले दुख पाउनुभएको छ । यस्तो घाममा बस्नुभएको छ । स्टलहरु हेर्नुहोला । नेपालमा बनेको सामान छ कि छैन भनेर प्रश्न सोध्नुहोला ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको