Like us!
Follow us!
Connect us!
Watch us!

दशैँलाई मासुको मूल्य निर्धारण, कस्ताे मासुकाे मूल्य कति ?

अर्थ संसार

विहीबार, २१ असोज २०७८, १४ : ४८ मा प्रकाशित

दशैँलाई मासुको मूल्य निर्धारण, कस्ताे मासुकाे मूल्य कति ?

मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका छन् । 

आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रू. एक हजार, बोसो राखिएकाको रू. एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य  रू. एक हजार ३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो रू. ३०० तथा रागाँ र बंगुरको मासु रू. ५००/५०० तोकिएको छ ।

राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जानकारी दिएको हो । संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए । 

‘संघबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउनका लागि मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौँ । तोकिएको मूल्यअनुसार मासु विक्री वितरण नभए संघबाट कारबाही हुन्छ’, उनले भने ।

अन्य समयको तुलनामा दशैँमा कुखुरा र बंगुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैँको अवधिमा कुनै परिवर्तन हुनेछैन । 

यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो

मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले संघले मूल्य निर्धारण गरेको हो । चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताए । चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् । 

संघका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रू. ७०० देखि ८०० र मासु रू. दुई हजारसम्ममा विक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै रू. १२ देखि १ हजार ५०० सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल चौपाया खरीद, विक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । 

उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दशैँका लागि मासुको अभाव नहुने जानकारी दिए ।

अध्यक्ष थापाका  अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौं उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकोमा यस वर्ष चार हजारजति मात्र विक्री गर्ने तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको