Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङ हाइड्रोपावरबीच मर्जरको प्रस्तावः संचालकहरुको नियतमा प्रश्न ?

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १३ : १३ मा प्रकाशित

रिडी र रैराङ हाइड्रोपावरबीच मर्जरको प्रस्तावः संचालकहरुको नियतमा प्रश्न ?

अहिले बजार रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीका बीच हुने भनिएको मर्जरले बजार तातिएको छ । दुवै कम्पनीले यसै महिनामा हुने आआफ्ना वार्षिक साधारण सभामा मर्जर र प्राप्ति सम्बन्धी विशेष प्रस्ताव लिएर जाँदैछन् । यसो त केही वर्षअघि नै यी दुई कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गराइसकेका छन् । तर ती कम्पनीबीच अझै मर्जर भएको छैन । 

केही वर्षअघिको साधारणसभाले पारित गरिसकेको मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पुनः साधारणसभाको विशेष प्रस्तावका रुपमा आउनु सेयरमा चलखेल गर्ने नियत रहेको कतिपय लगानीकर्ताहरुको तर्क छ । पहिल्यै पारित भइसकेको एजेण्डा अनुसार अहिलेसम्म किन प्रक्रिया अगाडि बढ्न सकेन र पहिलेको प्रक्रिया के कति कारणले रोकियो या भाँडियो भन्ने कुराको जानकारी कम्पनीको व्यवस्थापनले लगानीकर्ताहरुलाई दिनुपर्छ कि पर्दैन ? संचालक समितिलाई मन लाग्यो मर्जरको प्रस्ताव ल्याउने अनि मन नलागे मर्जर नगर्ने गर्न पनि मिल्छ र पुराना लगानीकर्ता डमरुबल्लभ घिमिरेले प्रश्न गरे । 

अझ अर्को महत्वपुर्ण कुरा त के छ भने रिडी हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरु न्यौपाने आफैँ रैराङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक हुन् । दुवै कम्पनीको मुख्य नेतृत्वमा एकै व्यक्ति रहँदासमेत पहिल्यै पारित भइसकेको एजेन्डा किन सफल हुन सकेन ? प्रश्न गर्न सकिने ठाँउ रहेको उनको तर्क छ ।  

यति मात्र हैन रिडीका बहुमत सञ्चालकहरु नै रैराङमा समेत सञ्चालक छन् । रिडीका प्रबन्ध निर्देशक कुबेरमणि नेपाल रैराङका समेत सञ्चालक हुन् भने रमेश प्रसाद न्यौपाने दुवै कम्पनीमा सञ्चालक छन् । जम्मा ५ जनाको सञ्चालक समितीमा ३ जना व्यक्ति दुवै कम्पनीका सञ्चालक छन् । रैराङमा कुल लगानीको ३३ प्रतिशत लगानी रिडीको थियो ।

रैराङका ५ जना सञ्चालकहरु मध्यमा अहिले ४ जना मात्रछन् सञ्चालक समितीबाट वक्षराज तातडले यस अघि नै राजिनामा गरिसकेका छन् रैराङमा अहिले जम्मा ४ सदस्यीय सञ्चालक समिती रहेको भएता पनि रैराङको अफिसियल वेवसाईटमा भने सञ्चालक समितीमा शिव रत्न शारदा र गुरु प्रसाद न्यौपानेको मात्र नाम उल्लेख गरिएको छ यसरी किन कम्पनीले आफ्नो सञ्चालक समितीको नाम समेत लुकायो यो गम्भिर प्रश्न छ ।      

केही समअघि रिडी हाइड्रोपावरको स्वामित्वमा रहेको रैराङ हाइड्रोपावरको लाखौँ कित्ता सेयर दोस्रो बजारमा बिक्री गरेर प्रतिसेयर आम्दानी ३०० रूपैयाँभन्दा माथि आउने भन्दै हल्ला चलाएर रिडीको सेयर मूल्य उचालिएको थियो । तर दुबै कम्पनीको ब्यबस्थापनमा एकै व्यक्ति रहेकाले पनि यसरी बजारमा हल्ला चलेजस्तो यी कम्पनीहरुले एक अर्काको स्वामित्वमा रहेको सेयर बेच्न नसक्ने जानकारहरुको तर्क छ । केही समयअघिसम्म मात्र पनि रिडीसँग रैराङको १४ लाख कित्ता सेयर होल्डिङ थियो । 

यदि अहिलेसम्म रिडीले आफ्नो स्वामित्वमा रहेको रैराङको सेयर नबेचेको भए सावर्जनिक रुपमा जानकारी नदिई गुपचुप उक्त सेयर बेच्न नपाईने व्यवस्था विद्युत नियमन आयोगले गरेको छ । जलविद्युत कम्पनीहरुको नियमनकारी निकाय विद्युत नियमन आयोगले जारी गरेको विद्युत नियमन आयोग बिद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्विकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ ले कुनै पनि सूचीकृत कम्पनीको संगठित संस्थापक लगानीकर्ताले उक्त कम्पनीको सेयर बिक्री गर्नुभन्दा कम्तिमा १५ दिन पहिले सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । 

उक्त निर्देशिकाको दफा ११ मा भनिएको छ, संगठित संस्थाको शेयरको खरिदबिक्रीः सूचीकृत कम्पनीको संस्थापक शेयरधनीमध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफूसँग रहेको शेयर खरिद बिक्री गर्नु पर्दा पन्ध्र दिनअगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारीसमेत दिनु पर्नेछ ।

एकै समूहको लगानी रहेका दुई अलग कम्पनीहरुका बिचमा हुने मर्जर सकारात्मक र स्वागतयोग्य भए पनि मर्जरकै नाममा सेयर बजारमा हुने चलखेललाई स्विकार गर्न नसकिने बताउँछन् लगानीकर्ता डम्बर रावत । दुई कम्पनीका बिचमा मर्जरको प्रस्ताव पटक पटक साधारणसभामा किन आईरहेको छ ? त्यो बिषयमा दुबै कम्पनीको व्यवस्थापनले लगानीकर्ताहरुलाई जवाफ दिनुपर्ने उनको तर्क छ । लगानीकर्ताहरुको सम्पतिमाथि सञ्चालक र कम्पनीहरुले खेलवाड गर्न नहुने भन्दै उनले यदि कुनै पनि कम्पनी वा सञ्चालकहरुले यसो गरे अहिलेका सचेत लगानीकर्ताले त्यस्ता कम्पनी र सञ्चालकहरुलाई नछाड्ने बताए ।

नियमनकारी निकायले समेत यसरी बारम्बार मर्जरको एजेन्डा ल्याउने र मर्जर नगर्ने कम्पनीका संचालकहरुमाथि छानविन गर्नुपर्ने लगानीकर्ताहरु बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको