Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जाललाई आफ्नो कम्पनीको विज्ञापन गर्ने थलो बनाइएको छः मोहदत्त भुसाल

लगानीकर्ताको आवाज

शनिबार, १३ कार्तिक २०७८, ०८ : २० मा प्रकाशित

अहिले सामाजिक सञ्जालहरूको दुरूपयोग गरेर सेयर बजारलाई उथलपुथल पार्न निकै नै कोसिस भइरहेको लगानीकर्ता महोदत्त भुसालको तर्क रहेको छ ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले अहिले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर आफ्नो कम्पनीको विज्ञापन गर्ने थलो बनाइएको बताएका हुन् । नयाँ लगानीकर्ताहरूले आफूले अध्ययन नगरिकिन यस्ता विज्ञापनको पछि लागेर लगानी गर्ने हुँदा उनीहरूको लगानी डुब्ने  खतरा भएको र समग्र सेयर बजारलाई नै नराम्रो असर पुर्याएको उनी बताउँछन् ।

पछिल्लो करेक्सनमा बजार प्राकृतिक रुपमा घटेको नभई जबरजस्ती घटाइएको उनको तर्क रहेको छ । उनले बजार आफ्नै लयमा निरन्तर अघि बढिरहेको बेलामा बजारलाई जबरजस्ती घटाइएको उनी बताउँछन् । बजार घट्न नमान्दा नमान्दै पनि विभिन्न तत्वहरू मिली बजारलाई तल झार्न लागि परेका उनको तर्क छ । नियामक निकायहरूले पनि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्नेमा लगानीकर्ताहरूको अहितमा काम गरिरहेका उनी बताउँछन् ।

बजार बियरिस ट्रेन्डमा गएको जस्तो देखिएको भएपनि अहिले नै बजार बियरिस ट्रेन्डमा भने नगएको उनले बताए । उनले भने, "बजार पहिला जुन अवस्थामा चलिरहेको थियो अहिले पनि त्यही अवस्थामा चलिरहेको छ । नेपाल स्टक एकसचेञ्जमा सूचिकृत कम्पनीहरूले दिने प्रतिफलमा पनि कमी आएको छैन । बजार बियरिस ट्रेन्ड मै जानुपर्ने कुनै रणनीति परिवर्तन पनि भएको छैन । अर्थतन्त्र पनि डामाडोल छैन । बजार अब बियरिस मै गयो अथवा जानुपर्छ भन्नलाई अहिले कुनै पनि त्यस्तो नकारात्मक संकेतहरू छैनन् ।"

ठूला लगानीकर्ताहरू सधैँभरी बजार घटाउन संलग्न हुने उनी बताउँछन् । अहिलेको बजारमा पनि समग्रमा साना लगानीकर्ताहरूलाई तर्साएर सेयर उठाउन ठूला लगानीकर्ताहरूले खेल खेलिरहेका उनले बताए ।

पुराना लगानीकर्ताहरूलाई सेयर बजारको चक्रको बारेमा सबै थाहा भएको हुनाले उनीहरू बजार घट्दा पनि नडराएका बताउँदै उनले नयाँ लगानीकर्ताहरू भने नियमितको करेक्सनले आत्तिएका बताएका छन् । पछिल्लो समय बढेको बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरूलाई सेयर बजारको इतिहास थाहा नभएको उनी बताउँछन् । लगातारको गिरावटले लगानीकर्ताहरूको मनोबल धेरै नै खस्किएको उनको तर्क छ । 

नियामक निकाय लगानीकर्ताको विपरितमा हुनु, लगानीकर्ताहरूको मनोबल खस्किनु, राष्ट्र बैंकले ४-१२ को सीमा तोक्नु लगायतका कुराहरूले गर्दा बजारमा गिरावट देखिएको उनले बताए ।

राष्ट्र बैंकको ४-१२ को सीमा प्रकरणले बजारमा मुख्य असर पारेको बताउँदै उनले भने, "दीर्घकालिन रूपमा यसले साना लगानीकर्तालाई ठिक गर्ला । यो पाटो छुट्टै छ । तर तत्कालका लागि भने यसले बजारलाई धेरै नै असर गरेको छ । साना लगानीकर्ताहरूले एक लाख २ लाखका सेयर किनेर खर्बौँको बजारलाई तलमाथि गर्न सक्ने अवस्था छैन । ठूला लगानीकर्ताहरूले नै हो ॠण लिएर बजार चलाउने । यी नै ठूला लगानीकर्तालाई यती लिउ यती भन्दा दिन्न भन्नु गलत हो।" ठूला लगानीकर्ताहरू ॠणका कारण बाहिरिएका हुनाले बजार घटेको उनले बताए ।

कुराकानी कै क्रममा सेयर बजार जोखिमयुक्त क्षेत्र रहेको उनले बताए । सेयर बजारमा जति कमाइन्छ त्यति नै जोखिम पनि रहेको उनी बताउँछन् । सेयर बजारमा धेरै समस्याहरू हुन्छन् भन्दै उनले यहाँ प्रवेश गर्दैमा कमाइन्छ भन्ने निश्चित नहुने बताए । सेयर बजारमा राम्ररी बुझेर अध्ययन गरेर दिर्घकालिन रूपमा लगानी गर्ने हो भने अरू व्यवसायमा भन्दा सेयर बजारबाट राम्रो कमाइ हुने उनले बताएका छन् ।

नेपालमा सँधै बजार बढ्दा नियमनकारी निकायहरू अनेकौँ विज्ञप्ति र तर्क निकाल्दै आउने र बजार घट्दा भने चुँइक्क आवाज ननिकाल्ने प्रचलन रहेको उनको गुनासो छ । नियमनकारी निकायका व्यक्तिहरू लगानीकर्ताका अभिभावक हुन् भने त बजार घट्दा पनि लगानीकर्ताहरूलाई विभिन्न सुझाव र आश्वासन दिनुपर्ने उनको भनाइ छ । सम्बन्धित निकायहरूको यस्ता व्यवहार देख्दा आफूलाई नेपालको सेयर बजार विकास होला र भन्ने कुरामा संङ्का लाग्न थालेको उनी बताउँछन् ।

नयाँ लगानीकर्ताहरूलाई बजार प्रवेश गर्न अहिले सुनौलो मौका रहेको उनले बताए । अहिले बजारले लगानीकर्ताहरलाई सेयर खरिद गर्ने राम्रो मौका दिएको उनको धारणा छ । नियामक निकाय अव्यवस्थित हुनाले बजारमा समस्या देखिएको भन्दै उनले बजार घट्नुपर्ने अन्य कुनै खास कारण नरहेको बताए । अहिले सबै तत्वहरू सकारात्मक हुँदै गएका हुनाले बजार पनि सकारात्मक हुने उनको तर्क छ । नियामक निकायहरूले गर्नुपर्ने सबै काम राम्रो ढङ्गले गरिदिएमा बजारको बुल अब बल्ल सुरू हुने उनको विचार छ । 

लगानीकर्ताहरूले सधैँ राम्रा र नराम्रा कम्पनी छुट्याउन सक्नुपर्ने उनी बताउँछन् । घट्दो बजारमा राम्रा कम्पनीमा लगानी गर्ने अवसर रहेको बताउँदै अहिले राम्रा कम्पनीको सेयरमा लगानी गरेमा बजार बढेपछि पहिलाको घाटा पनि सजिलै असुल गर्न सक्ने उनले बताए ।

पहिला काठमाडौँमा मात्र सिमित रहेको सेयर बजार अहिले विकास भएर अन्य जिल्लाहरूमा पनि पुगीसकेको बताउँदै अझै पनि नेपालका ७७ वटै जिल्लामा यो क्षेत्रको राम्रो विकास हुनुपर्ने उनी बताउँछन् । नेपालको सेयर बजारमा ब्रोकरहरूले गर्दा पनि ठूलो समस्या रहेको उनको तर्क छ । ब्रोकरहरूको संख्या एकदमै न्यून रहेको हुनाले यदि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएमा लगानीकर्ताहरूको वृद्धि हुने र ७७ वटै जिल्लामा सेयर बजारको सजिलै विकास हुने उनले बताए ।

सेयर बजारमा लगानी गर्दा प्राविधिक पक्ष भन्दा पनि कम्पनीको आधारभूत पक्षहरूको राम्ररी अध्ययन गरेर लगानी गर्नुपर्ने उनको तर्क छ ।  

उनै भुसालसँग लगानीकर्ताकाे आवाजका लागि गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको