Like us!
Follow us!
Connect us!
Watch us!

एकसाथ दुई जलविद्युत् आयोजना निर्माण हुँदै

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ०७ : ०३ मा प्रकाशित

एकसाथ दुई जलविद्युत् आयोजना निर्माण हुँदै

सिन्धुपाल्चोकको विकट हिमाली क्षेत्र तेम्बाथानको माथिल्लो क्षेत्रमा दुई जलविद्युत् आयोजना एकसाथ निर्माण हुने भएको छ । मंगलवार एकैदिन भएको वातावरणीय प्रभाव मूल्यांकनको सार्वजनिक सुनुवाइमा आयोजनाले तत्काल पहुँचमार्ग विस्तार गरी काम अगाडि बढाउने जानकारी गराइएको छ ।

ब्रह्मायणी ३६ दशमलव ५२ तथा माथिल्लो ब्रह्मायणी १५ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत् आयोजना भएको र यसका लागि पूर्वाधार तयारीका काम तत्काल सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुआतदेखि आयोजना निर्माण हुने ब्रह्मायणी जलविद्युत् आयोजना र माथिल्लो ब्रह्मायणीको निर्माण कम्पनी इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिका प्रमुख भरत पराजुलीले जानकारी दिएका छन् ।

कम्पनीले आयोजना निर्माणस्थल जुगल गाउँपालिका–२ र ३ सम्म पुग्ने १६ किलोमिटरमध्ये १० किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको र बाँकी ६ किलोमिटर सडक निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू गर्ने भएको छ । ‘पहुँचमार्ग, आयोजनास्थलको आवासगृह र आयोजना निर्माणका अन्य पूर्वाधार निर्माण सम्पन्न गरी आयोजनाको काम शुरू हुनेछ,’ निर्माण कम्पनीका प्रमुख पराजुलीले भने, ‘दुवै आयोजना सम्पन्न गर्न १० अर्ब लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ र तीन महिनाभित्र पहुँचमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक सुनुवाइ कार्यक्रममा आयोजना निर्माणस्थल तथा प्रभावित क्षेत्र जुगल गाउँपालिका–३ तेम्बाथान र वडा नं २ दीपुका स्थानीयले स्थानीयका जायज माग र वातावरण सुरक्षामा ध्यान दिँदै थप काम अगाडि बढाउन सुझाव पेश गरेका छन् । ‘शीप, क्षमताअनुसारको स्थानीय सहभागिता, पर्यटन पदमार्गको सुरक्षा तथा स्तरोन्नति, चौंरीखर्क संरक्षण तथा सामाजिक दायित्व पूरा गरी आयोजना अगाडि बढ्नुपर्छ,’ जुगल गाउँपालिका–३ का वडा सदस्य नुर्बु शेर्पाले भने ।
आफ्नो विकट गाउँमा विकासको कुनै शुरुआत नभएकाले आयोजना निर्माणसँगै गाउँमा विद्युतीकरण, सडक र सामाजिक विकासका अन्य काममा आयोजनाले सहयोग गर्नुपर्ने आफूहरूको माग रहेको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको भनाइ छ ।    
 
स्थानीयको जायज माग, पहुँचमार्ग निर्माण, सामाजिक उत्तरदायित्वसँगै प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी र सञ्चारमा पहुँचको काम आयोजनाले पूरा गर्ने आयोजनाले जनाएको छ । दुई हजार ६ सय ६५ मिटर उचाइमा निर्माण हुने जलविद्युत् आयोजनामा लगन खोला र न्याम्या मसाल खोलाको पानी प्रयोग हुनेछ । नेपाल विद्युत् प्राधिकरणले दुवै आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भएको आयोजनाले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको