Like us!
Follow us!
Connect us!
Watch us!

नाम जनताको जलविद्युत्, काम औसत

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०७ : ३३ मा प्रकाशित

नाम जनताको जलविद्युत्, काम औसत

सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन ।

रसुवामा आयोजनास्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन ।

नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन हुन्छ भनेर निक्र्यौल गर्नसमेत अप्ठ्यारो हुन थालेको छ । प्राकृतिक विपद्, कोरोना भाइरस संक्रमण जोखिमलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्दै गएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । आयोजना छिटो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार ताकेता गर्दै आए पनि अवस्था उस्तै छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरू सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम सकिए पनि बिजुली जोड्ने कुनै ठेगान छैन । भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ को महामारीलगायत कारणले आयोजना निर्माणमा जटिलता उत्पन्न भए पनि सहज अवस्थामा समेत काममा गति देखिएको छैन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै तीनओटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । ‘मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,’ उनले भने, ‘बाँकी रहेका कामहरू समानान्तर रूपमा अगाडि बढाएर ७/८ महीनाभित्रमा सम्पन्न गर्नुपर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरू जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रूप दिने काम भइरहेको छ । विद्युत्गृहका उपकरण रहने संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट नआउँदा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलवार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरू जडान शुरू गर्नेछन् । प्रसारण लाइनको टावरहरू निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरू आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ । ‘इलेक्ट्रोमेकानिक ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरू जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी ८/९ महीनाभित्र सक्नुहोस्, ठेकेदारले बेहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौं,’ कार्यकारी निर्देशक घिसिङले भने । 

तीनओटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेशनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेशन र चिलिमी–त्रिशूली थ्री बी हब सबस्टेशनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको