Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरीद गर्ने

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, ०५ : ५६ मा प्रकाशित

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरीद गर्ने

 नेपालमा हाल खेर गइरहेको बिजुली बंगलादेशले खरीद गर्ने भएको छ। 

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा त्यहाँका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरीद गर्ने बताए । ‘नेपालमा उत्पादन भएको विद्युत् खपत नभएर खेर गइरहेको अवस्था छ’, उनले भने, ‘त्यो विद्युत् हामी खरीद गर्न सक्छौं।’ 

नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत् खरीद सम्झौता (पीपीए) गर्नसमेत बंगलादेशले गृहकार्य अघि बढाएको हमिदले बताए। नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५०० मेगावाट विद्युत् खेर गएको थियो। यसबाट ५ अर्ब रुपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत् खेर गइरहेको हो। 

हमिदले नेपालबाट विद्युत् आयातका लागि प्रसारण लाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनको समेत निर्माण थालनी गर्ने बताए। उनले सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर खेर जाने ३ हजार ५०० मेगावाटसमेत बिजुली खरीद गर्ने पनि बताए। 

राज्यमन्त्री हमिदले जनवरी २०२२ बाट यस विषयमा नेपालको निजी क्षेत्रसँग छलफल गर्ने र सन् २०२२ को मार्चभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु’, उनले भने। 

हमिदले बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमती लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सीधै पीपीए गराउने गृहकार्य शुरु गर्ने पनि बताए। 

भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत् व्यापारको ढोका खुलेको छ। यो कार्यविधिले अन्तरदेशीय विद्युत् व्यापारमा नियमन र कानूनी संयन्त्र सम्बन्धी द्विविधाको अन्त्य गरेको छ। नेपालको बिजुलीको संभाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत व्यापारमा आशावादी भएको छ।

बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने योजना बंगलादेशको छ। 

नेपालमा उत्पादन हुने विद्युत् बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ। भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युतमा लगानीका लागि बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे। उनले नेपालका निजी क्षेत्रसँग सीधै पीपीए गरेर विद्युत् खरीद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरे। 

परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका उपाध्यक्ष आशीष गर्गले नेपालमा विद्युत् उत्पादन र विद्युत् खपतको अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए। 

भेटमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे एवं राष्ट्रिय परिषद सदस्यहरु लक्ष्मीप्रसाद सुवेदी, भीमप्रसाद घिमिरे, द्विराज शर्मा र चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलको उपस्थिति थियो। उक्त अवसरमा नेपाली राजदूतावास ढाकाका कार्यबाहक राजदूत कुमार राई र परिसंघका महानिर्देशक यादवप्रसाद पौडेल र निर्देशक सविन मिश्रको पनि उपस्थिति थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको