Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुँदैन : अर्थमन्त्री शर्मा

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १३ : ५६ मा प्रकाशित

विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । बधुबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताएका हुन् ।

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताएका छन् । 

अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउँदै विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताएका हुन् । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने उनले बताए । ‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उनले उल्लेख गरेका छन् ।

उनले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताए । उनले विशेषगरी उत्पादन गरेर निर्यात गर्नसक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । यसले मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्याउने उनले विश्वास व्यक्त गरेका छन् ।

यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको