Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीमा इन्साइडर ट्रेडिङ्गको गन्ध ! लगानीकर्ता भन्छन्-"अजोडको छानबिन जस्तो नहोस्"

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, १३ : ०४ मा प्रकाशित

हिमालयन डिष्टिलरीमा इन्साइडर ट्रेडिङ्गको गन्ध ! लगानीकर्ता भन्छन्-"अजोडको छानबिन जस्तो नहोस्"

भनिन्छ नी, "बाघ कराउनु र बाख्रा हराउनु" त्यस्तै भयो हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश घोषणाको विषय । विगत दुई दिनदेखि नेप्सेमा भएको कम्पनीको कारोबारले पनि कम्पनीमा केही त पाक्दैछ भन्ने अनुमान आम लगानीकर्ताहरुको थियो । 

सोमबारको कारोबारमा नै कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको थियो । सोमबारदेखि नै लगानीकर्ताहरु माझमा कम्पनीले आकर्षक लाभांश वितरण गर्न लागेको हल्ला फैलिएको थियो । कम्पनीले लाभांश घोषणा गर्नु पुर्व नै कम्पनीले कति लाभांश घोषणा गर्दैछ भन्ने सूचना बाहिरिनुलाई कानुनी रुपमा इन्साइडर ट्रेडिङ भन्न सकिन्छ जुन गर्नु अपराध हो । कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङको भएको हो की हैन भन्ने कुराको अनुसन्धान गर्ने काम नेपाल स्टक एक्सचेन्जले गर्छ भने भएको भए कारबाही गर्ने अधिकार धितोपत्र बोर्डमा रहन्छ । 

सोमबारको कारोबारमा यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा ३० हजार ८ सय ७३ कित्ता सेयर कारोबार भएको थियो भने मंगलबारको कारोबारमा पनि कम्पनीको सेयर मूल्य २.६१ प्रतिशतले बढ्दा २२ हजार ५ सय ७३ कित्ता सेयरको कारोबार भएको थियो । 

"कम्पनीले लाभांश घोषणा गर्नुभन्दा दुई दिन अघि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्नुलाई स्वभाविक मान्न सकिँदैन, १७ अंकले नेप्से घट्दा एचडिएलको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्नुपर्ने त अन्य कुनै पनि कारण थिएन यसमा पक्कै पनि इन्साइडर ट्रेडिङ भएको छ नियामकले निष्पक्ष छानबिन गरोस् हिजो अजोडको जस्तै नहोस् भन्ने हाम्रो अपेक्षा हो, साधारण व्यक्तिले हेर्दा समेत बोसको सूचना पहिले नै बाहिरीएको देखिन्छ", एक लगानीकर्ताले भने ।  

हिमालयन डिष्टिलरीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको उजुरी आएमा नेप्सेले अनुसन्धान गर्छ त्यस्तै यदि पछिल्ला कारोबार अस्वाभाविक लागेमा नेप्सेको सुपरिवेक्षण विभागले आफैँ पनि अनुसन्धान गर्न सक्छ र उक्त अनुसन्धानमा इन्साइडर ट्रेडिङ भएको ठहर भएमा नेप्सेले नेपाल धितोपत्र बोर्डलाई कारबाहिको सिफारिस गर्न सक्छ ।

यसअघि पनि अजोडको इन्स्योरेन्स कम्पनीको सेयरमा भएको भनिएको इन्साइडर ट्रेडिङको अनुसन्धानका लागि भन्दै नेपाल धितोपत्र बोर्डले अनसुन्धान समिती बनाएको थियो तर अहिलेसम्म पनि कम्पनीको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएको छैन ।

कुनै व्यत्तिः वा संस्थाले कुनै पनि कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ अर्थात भित्रि कारोबार गरेको ठहर भएमा सजाय हुन सक्ने कानुनि व्यवस्था रहेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ को उपदफा १०१ (१) मा भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिबाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ व्यवस्था छ। 

त्यस्तै, उपदफा १०१ ९२० मा भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र १ वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको