नेपाल राष्ट्र बैंकले आज (पौष ९ गते, शुक्रबार) देखि ५ सय रूपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ ।
राष्ट्र बैंककाे मुद्रा व्यवस्थापन विभागले एक सूचना प्रकाशन गर्दै रुपैयाँ ५०० दरको साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित तल उल्लेख गरे बमोजिमका विशेषताहरु भएको नोट पुस महिना ९ गतेदेखि चलनचल्तीमा ल्याउने जानकारी दिएकाे छ ।
नयाँ नाेटकाे विशेषताहरू तल उल्लेख गरिएका छन् :
नोटको अग्र भागमा :
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महा प्रसाद अधिकारीको दस्तखत रहेको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा “वि.सं. २०७७” लेखिएको ।
५. ३.५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको ।
६. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ्ग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) कुबेरकाे चित्र रहेकाे ।
७. लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको ।
नोटको पृष्ठ भागमा :
१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “NEPAL RASTRA BANK" लेखिएको ।
२. नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।
३. नोटको तल्लो भागमा अंग्रेजीमा “RUPEES FIVE HUNDRED” लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा "2020 A.D.” लेखिएको ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस