Like us!
Follow us!
Connect us!
Watch us!

नियामकलाई अग्रवालको चुनौती,फेरियो निर्मल प्रधानको बोली,चालु पुँजी कर्जामा कडाइ+ अरू समाचार

अर्थ संसार

सोमबार, १२ पुस २०७८, २१ : ५७ मा प्रकाशित

नियामकलाई अग्रवालको चुनौती,फेरियो निर्मल प्रधानको बोली,चालु पुँजी कर्जामा कडाइ+ अरू समाचार

आज (पाैष १२ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१.  तरलताको अभाव चरम : चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्न लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरूसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चालु पुँजी कर्जामा एकरूपता कायम गर्ने, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउने र कर्जा सदुपयोग यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्न सहज हुने प्रावधान तोकिएको छ । 

२. दिपेन्द्र अग्रवाल भन्छन्, "यो जुनीमा कसैले चाहँदैमा दिपेन्द्र अग्रवाल गरिब हुँदैन !"

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले नेपालका नियामक निकायहरु कसरी वारेन बफेट जस्ता लगानीकर्ताहरु उत्पादन गर्ने भन्ने तिर नभई कसरी निर्मल प्रधान, अम्बिका प्रसाद पौडेल, दिपेन्द्र अग्रवाल जस्ता लगानीकर्ताहरुलाई गरिब बनाउने भनेर लागिपरेको बताएका छन् ।कसैले चाहँदैमा आफु यो जुनीमा गरिब नहुने भन्दै अग्रवालले त्यस्तो कुचेष्टा नराख्न उनले नियामक निकायहरुलाई चुनौती दिएका छन् । बजारमा छरिएर रहेको सानो सानो पुँजीलाइ संकलन गरि त्यसलाई सेयर बजारमा लगानी गर्ने उद्देश्यले उनले आफ्नै नेतृत्वमा गोल्डम्यान इन्भेष्टमेन्ट नामको कम्पनी सञ्चालनमा ल्याएका छन् । शनिबार सेयर बजारका बादशाह भनेर चिनिने निर्मल प्रधान र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सो इन्भेष्टमेन्ट कम्पनीको संयुक्त रुपमा उद्घाटन गरेका थिए। सो उद्घाटन कार्यक्रममा बोल्दै अग्रवालले कसैले चाहँदैमा आफु यो जुनीमा गरिब नहुने बताएका हुन् ।

३. लाभकर छली प्रकरण: बोटलर्स नेपालविरुद्ध साढे दुई अर्ब रुपैयाँको मुद्दा दायर गर्ने तयारी

बोटलर्स नेपाल लिमिटेडको सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले करिब साढे दुई अर्ब रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ। विभागले बोटलर्स नेपालका सेयरधनीलाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गर्दा पनि सम्पर्कमा नआएपछि मुद्दा दायर गर्न लागेको हो। विभागले मुद्दा दर्ता गर्ने प्रक्रिया अनुसार थप परामर्शका लागि आइतबार सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको छ। बोटलर्स नेपालको स्वामित्व खरिदबिक्रीमा २५ प्रतिशत पुँजीगत लाभकर छलिएको सूचनाका आधारमा विभागले २०७७ मंसिरदेखि अनुसन्धान सुरु गरेको थियो। गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो। बोटलर्सका सेयरधनी सम्पर्कमा नआएपछि विभाग मुद्दा दायरको अन्तिम तयारीमा छ।

४. २३३ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएको छ । गत मंगलबारदेखि सेयर बजार लगातार बढिरहेकाे थियाे । यस अवधिमा नेप्से परिसूचक २३२.६२ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो । नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता रमेश न्याैपानेले बताएका छन् । उनी भन्छन्, "मंगलबारदेखि बजार बढिरहेकाे थियाे । यसअघि तल्लाे विन्दुमा सेयर किनेका लगानीकर्ताहरूले अहिले सेयर बेचेर नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएकाे हाे । राष्ट्र बैंकले तरलता अभावकाे समस्या न्यूनिकरण गर्न कदम चालेकाे छ । बीमा कम्पनीहरूकाे पूँजी वृद्धिकाे कुरा पनि आइरहेकाे छ । सबै कुराहरू हेर्दा अन्नत: बजार माथि नै जानेछ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेकाे छ । नेप्से २.६९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.८५ अंकले घटेर ४७१.८९ विन्दुमा झरेको छ । कूल २३८ वटा कम्पनीकाे एक कराेड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै नन लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ । साेमबार पनि नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३० कराेड ६० लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । साेमबार गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  गाेर्खाज फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ७६ रूपैयाँ ७० पैसा पुगेकाे छ । मध्य भाेटेकाेशीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय २१ रूपैयाँ पुगेकाे छ । आज जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय रूपैयाँमा झरेकाे छ ।

५. जाेशी हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, शेयरधनीलाई छैन लाभांश 

जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पाैष ११ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचाैँ, छैठाैँ र साताैँ वार्षिक साधारण सभा ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा वटै आर्थिक वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

६. अर्थ मन्त्रालयले भन्याे हरेक दिन १ अर्ब भन्दा बढी पुँजीगत खर्च भैरहेको छ

सरकारले पर्याप्त मात्रामा पुँजीगत खर्च गर्न नसक्दा  तरलतामा समस्या देखिएपछि अर्थमन्त्रालय पुँजीगत खर्च गर्ने कुरामा आक्रामक रुपमा प्रस्तुत भएको छ । अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुसँग व्यापक रुपमा सहकार्य र छलफल गरि युद्धस्तरमा पुँजीगत खर्च गर्ने नीति लिएसँगै पछिल्लो समय हरेक दिन जसो १ अर्ब भन्दा बढी खर्च भैरहेको जानकारी अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीले अर्थ संसारलाइ जानकारी दिएका छन् ।  पुष मसान्त ताका अझ धेरै आक्रामक रुपमा पुँजीगत खर्च हुने पनि उनले बताए।  अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरु सँग तिव्र रुपमा विकास खर्च गर्ने गरि काम गर्न आग्रह गरे सँगै ती मन्त्रालयहरु पनि यस सम्बन्धमा गम्भीर बनेका छन्। 

७. फेरियो निर्मल प्रधानको बोली, घर बेचेरै भएपनि सेयर किन्न सुझाव

केहि समय अघिको एक अन्तरवार्तामा सेयर बेचेर घर घडेरी किन्न सुझाव दिएका ठुला लगानीकर्ता निर्मल प्रधानले अब लगानीकर्ताहरुलाई भएको घर घडेरी बेचेर भएपनि सेयरमा लगानी गर्न सुझाव दिएका छन् । नेपालको सेयर बजारमा आएको पछिल्लो करेक्सनले बजारलाई खरिदको अवसर दिएको भन्दै प्रधानले अहिले भनेको सेयर बजारमा प्रवेश गर्न चाँहानेहरुका लागि उत्तम र कम जोखिमको समय बताएका हुन् । अहिले गरेको लगानीले केही समयमा नै २-४ वटा घर किन्न सक्ने गरी प्रतिफल दिन सकिने भन्दै उनले अहिलेको समय ढुक्कले लगानी गर्न लगानीकर्तालाई सल्लाह दिएका छन् । 

८. एक सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार २ सय रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

भिडियाे हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको