मुलुकको राष्ट्रिय राजनीतिमा करिब ३ दशकदेखि छाईरहेका पुष्पकमल दाहाल 'प्रचण्ड' समाचारपत्रहरु तथा टेलिभिजनहरुमा सर्वाधिक देखिने अनुहार मध्येका एक हुन् । राजनीतिकर्मीहरु सँधै चर्चामा रहिरहने विश्वका थोरै मुलुकहरुमध्ये नेपाल सायद टप टेन भित्रै पर्ला। विश्वका विकसित देशहरु जहाँ राजनीतिक स्थायित्व हुन्छ, देश आर्थिक रुपमा सक्षम हुन्छ ति देशहरुमा ठूला ठूला कम्पनीका सिईओहरु, सफल उद्यमी व्यवसायीहरु, फिल्म स्टार हरु, गायक तथा संगीतकारहरु तथा सामाजसेवीहरु चर्चित रहने गर्दछन। तर हाम्रो देशमा राजनीतिकर्मी हरुले जति चर्चा सायदै अरुले पाउँछन।
अर्थतन्त्र तथा वित्तिय क्षेत्रका क्षेत्रमा काम गर्ने मिडियाहरुमा विशेषगरी अर्थतन्त्र सँग सम्बन्धित कुराहरुले नै प्राथमिकता पाउने गर्दछन। तर विगत केहि सातादेखि यी क्षेत्रका मिडियाहरुमा पनि प्रचण्ड नै छाईरहेका छन। केहि साताअघि विश्व वित्तिय एकाधिकार तर्फ उन्मुख भैरहेको र सेयर बजारमा गरिने लगानी भनेको पुँजीवादी साम्राज्यवादको विस्तारित स्वरुप हो भन्दै कार्यकर्ता तताउने भाषण दिएका प्रचण्डले उनको सो अभिव्यक्तिको जताततैबाट चर्को आलोचना भैसकेपछि आफ्नो आशय विश्वको वित्तिय पुँजीवादी चरित्र तर्फ लक्षित रहेको र नेपालको सेयर बजारमा लगानी गर्ने साना लगानीकर्ताहरुको संरक्षण आफ्नो तथा आफ्नो पार्टीको उद्देश्य रहेको बताउँदै आफ्नो अभिव्यक्तिको बचाऊ गरे। लगातार घटिरहेको सेयर बजारमा उनको भाषणले झन् मसला थप्ने काम गर्यो र बजार तिव्र रुपमा घट्यो। उनले आफ्नो अभिव्यक्ति नेपाली सेयर बजारप्रति लक्षित नभएको भन्दै आफ्नो अभिव्यक्तिको बचाऊ गरिसकेपछि नेप्से परिसूचक फेरी बढ्न थाल्यो। उनको सेयर बजार बिरोधी अभिव्यक्ति बिर्सीसकेका लगानीकर्ताहरु उनले आफ्नो राजनीतिक प्रतिवेदनमा आफुले भाषणमा बोलेकै लाइनमा गएर पुँजीवाद र सेयर बजारको चरित्र प्रस्तुत गरेपछि फेरी लगानीकर्ताहरु चिन्तित भएका छन।
यो आलेखमा हामी प्रचण्डको राजनीतिक प्रतिवेदनलाइ नेपालको सेयर बजारसँग जोडेर विश्लेषण गर्नेछौ।
पुँजीबजार सम्बन्धमा के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?
दोस्रो विश्वयुद्ध पछि अमेरिका र बेलायतले पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरुको आमचरित्र बनेको छ। उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समजामा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन। वित्त क्षेत्रमा पुँजी पलयान हुनुको मुख्य कारण पुँजीपतिहरुको छोटो समयमा धेरैभन्दा धेरै नाफा कामाउने अतृप्त भोक नै हो। उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै दिनुपर्ने, मेहनत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरुले अरुको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाइ सेयर बजार, मुद्रा बजार , धितोपत्र खरिद बिक्रि तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन्।
प्रचण्डको राजनीतिक प्रतिवेदनमा भनिए झैं पुँजी उत्पादनमूलक क्षेत्रमै लगानी हुनु आवश्यक छ। यसले रोजगारीको सिर्जना गराउँछ, उत्पादनका अन्य साधनहरुको परिचालन हुन्छ जसले समाजलाइ समृद्ध बनाउन सहयोग गर्छ। यसमा दुइमत हुनै सक्दैन। अब कुरा के उठ्छ भने पुँजीबजार उत्पादक क्षेत्र कि अनुत्पादक क्षेत्र ? अनि के सेयर बजार पुँजीपति हरुको मात्र हो त ?
पुँजीबजार नामैले पुँजीवादी चरित्रको हुन्छ। यहाँ पुँजीलाई परिचालन गरेर नाफाको अपेक्षा गरिन्छ। तर नेपालको पुँजीबजारको चरित्रलाइ हेर्ने हो भने यसले समाजवादलाइ अंगालेको पाइन्छ। कम्पनीहरुले जारि गर्ने प्राथमिक सेयर (आईपिओ) मा १० कित्ते नीति लागू हुनु नै एउटा प्रमूख समाजवादी चरित्र हो। नेपाल विश्वका बिरलै त्यस्तो देशहरु मध्य पर्दछ जहाँ कम्पनीहरु एकदमै कम मात्रामा टाट पल्टिने गर्दछन। विकसित देशहरुको सेयर बजार हेर्ने हो भने त्यहाँ पब्लिक सेयर इस्यु गरेका धेरै कम्पनीहरु टाट पल्टेर लगानीकर्ताको सम्पत्ति डुबेको थुप्रै उदाहरणहरु पाइन्छन। त्यसैले त्यहाँ कुनै नयाँ कम्पनीले पब्लिक सेयर इस्यु गर्यो भने सबै सेयर बिक्रि नहुने सम्भावना बढी रहन्छ। तर नेपालको केस ठिक उल्टो छ। यहाँ यदि कुनै कम्पनीले पब्लिक सेयर इस्यु गर्यो भने बीसौं गुणा भन्दा बढी आवेदनहरु परेका थुप्रै उदाहरणहरु छन किनकि त्यसरी आइ पी ओ परेका कम्पनीहरु लिस्टेड भैसकेपछि हजार रुपैयाँमा किनेको १० कित्ता सेयर ५० हजार भन्दा पनि बढीमा बेचेको मिठो अनुभव यहाँका लगानीकर्ताहरुमा छ। के त्यसरी १०० रुपैयाँको लगानी ५००० पुग्ने कम्पनीका सेयरहरु पुँजी पति हरुले हडपेका छन त ? यी पब्लिक इस्युहरुमा १० कित्ते नीति लागू गरिएको छ। १ करोडको सेयर पाउँ भनेर आवेदन दिने र १ हजारको सेयर पाउँ भनेर आवेदन दिनेमध्ये दुबैले सेयर पाउने सम्भावना बराबर रहन्छ। यहाँ पुँजीको बल काम लाग्दैन। साना र ठूला लगानीकर्ताबीच नेपालको प्राथमिक सेयर बजारमा भेदभाव छैन।
अब कुरा रह्यो दोस्रो बजारको। उदाहरणको लागि, यदि १०० रुपैयामा किनिएको सेयर त्यो भन्दा बढीमा बेच्न नसक्ने हो भने किन लगानी गर्ने ? कि लगानी भन्ने शब्द पनि पुँजीबादी शब्द हो ? आम जनताले पैसा बचत नै गर्नु हुँदैन , लगानी नै गर्नु हुँदैन भन्ने धारणा पो हो कि माओवादीको ! कुन दिन देखि बैंकमा पैसा बचत व्याज खाने सबै जना पुँजीवादी र साम्राज्यवादी हुन् भन्न बेर लाउदैनन यस्तै दृष्टिकोण रहने हो भने त !
ठूलो पुँजीलाइ सेयरमा लगाएर बजारमा चलखेल गर्नेहरुको सम्बन्धमा भने प्रचण्डको कुरामा सहमत हुन सकिन्छ। अर्थमन्त्रालय सम्हालिरहेको पार्टीले करिब करिब २५ औं लाख जनसंख्या जोडियर प्रत्यक्ष्य लाभ लिइरहेको बजारमा यदि कसैले चलखेल गरिरहेको छ भने ति चलखेल गर्नेहरुलाई कारबाही गर्ने नीति बनाउने कि सत्तामा पुगिसकेपछि पनि त्यहि सशस्त्र युद्ध गर्दा ताकाको भाषणबाजी गर्ने ? अब त सत्तामा पुगियो नि कमरेड ! हिजो पो अरुलाई दोष दिने ठाउँ थियो त। तपाईहरुले मुलुक चलाउन थालेको पनि दशक बितिसक्यो। अहिले पनि जनता गरिव छन् , मुलुक गरिव छ भने त्यसको सबैभन्दा ठूलो जिम्मेवारी तपाईं र तपाईंको पार्टीले लिनुपर्छ। परिवर्तन र समृद्धिको नाममा दशकौं सम्म देशमा विकासका गतिविधि ठप्प पारेको र हजारौको ज्यान जाने युद्ध चलाएको आम नेपालीले कहाँ बिर्सेका छन र !
बटम लाइनमा भन्नुपर्दा सेयर बजारबाट संकलित हुने पुँजी विभिन्न उद्योगहरु, जलविधुत कम्पनीहरु, वित्तिय संस्थाहरु तथा उत्पादनमुलक कम्पनीहरुमा लगानी भैरहेका छन जसबाट धेरै नेपालीले रोजगारी पाएका छन ,उत्पादनका विभिन्न साधनहरु परिचालित भएका छन भने राज्यले राजस्व आम्दानी गरिरहेको छ। नेपालको सेयर बजारको प्रवित्ति नै समाजवादी छ किनकि यहाँ करोडौ पैसा लगाउने र हजार लगाउनेले पाउने प्रतिफल उस्तै नै हुन्छ। यहाँ धेरै यस्ता लाखौँ लगानीकर्ताहरु छन जो सेकेण्डरी मार्केटमा कारोबार गर्दैनन् तर आइपिओ मात्रै भर्छन। हुम्ला, जुम्ला, रोल्पा रुकुम दुर दराजका लगानीकर्ताहरुलाई गएर सोध्नुहोस, उनीहरुले NRIC को आइपिओ बाट कति कमाए, निफ्रा को आइपिओ बाट कति कमाए अनि धेरै पर्दैन यो दुइ वर्षमा परेका आइपिओ मात्रै बेचेर कति कमाए भनेर। कि ति हुम्ला, जुम्ला दुर दराजका खाइ नखाई २ हजार/ ५ हजार सेयरमा लगानी गर्नेहरु पनि प्रचण्ड र माओवादी पार्टीको नजरमा साम्राज्यवादी हुन् कि ? प्रचण्ड र उनका समर्थकहरुलाई प्रश्न सोध्ने बेला भएन र ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस