Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन - प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, १५ : ०५ मा प्रकाशित

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन - प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 'नेपालमा केही भएन' भन्ने निराशात्मक सोच त्याग्न आम नागरिकलाई आग्रह गरेका छन्। उनले नेपाल अब समृद्धिको दिशामा अघि बढिरहेको उल्लेख गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग, र आत्मनिर्भर कृषि प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानले आर्थिक समृद्धिसँग जनतालाई जोडेको दाबी गरे। उनले पुष्पलाल मध्यपहाडी लोकमार्ग आफ्नै पहलमा सुरु भएको उल्लेख गर्दै यस आयोजना छिट्टै सम्पन्न गर्नु जरुरी रहेको बताए।

उनले जनसंवादमार्फत आम नागरिकका गुनासा र सुझाव संकलन गर्दै माओवादी केन्द्र अब नयाँ ढंगले अघि बढ्ने बताए। दलित, किसान, मजदुर, र उत्पीडित वर्गका समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्र भएको उनले दोहोर्‍याए।

दाहालले भने, 'लोकमार्गले सबैभन्दा धेरै क्षेत्र समेटिएको बागलुङमा विकासको ढोका खुलेको छ। सडकले आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ। अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढिसकेको छ। गलकोट–म्याग्दी जोड्ने सडक निर्माणले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ।'

विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, 'सरकारले अनुकूल वातावरण बनाओस्, म साथ दिन तयार छु। तर ‘नेपालमा केही भएन’ भन्ने धारणा भ्रममात्र हो।'

नेपालको मुख्य चुनौती भ्रष्टाचार रहेको भन्दै अध्यक्ष दाहालले त्यसको अन्त्यका लागि माओवादी केन्द्र नेतृत्वको सरकार अपरिहार्य भएको तर्क गरे। कार्यक्रममा उपस्थित जनताले उठाएका शिक्षा, उद्यम, सहकारीलगायत विषयमा उनले प्रत्यक्ष प्रतिक्रिया दिएका थिए।

उक्त जनसंवाद जागरण अभियान बिहीबार बागलुङको पातीहाल्नेबाट सुरु भई बुर्तिबाङ, गलकोट र ताराखोलामा सम्पन्न भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको