Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई राष्ट्रिय बहसको विषय बनाउन लगानीकर्ता संगठनहरुको ठूलो भूमिका छ : राधा पाेखरेल

लगानीकर्ताको आवाज

आइतबार, १८ पुस २०७८, १५ : ४५ मा प्रकाशित

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले एमसीसी जस्तो कुरामा राष्ट्रिय बहस हुँदै गर्दा नेपालीहरुले विदेशमा रगत पसिना एक गरेर कमाएको पैसा लगानी गर्ने क्षेत्र सेयर बजारको विकासको बारेमा सरकार र नियमनकारी निकायहरु गम्भीर नदेखिँदा अहिलेको समस्या देखिएको बताएकी  छिन् ।  

अर्थ संसार डट कमको कार्यक्रम लगानीकर्ताको आवाजमा बोल्दै उनले राजनीतिक दलका नेताहरुले सेयर बजारको बारेमा बुझेकै छैनन् भन्दै आफुले केहि समय अघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सेयर बजार भनेको त अहिले विद्यार्थी, ज्याला मजदुरी गरेर केहि पैसा जोगाउने व्यक्तिहरु, आफुले खाइ नखाई केही पैसा जम्मा गरेर २/५ हजार लगानी गर्ने गृहिणीहरु, बाटोमा साग बेचेर बल्ल बल्ल १/२ हजार बचाउनेहरुले लगानी गर्ने ठाउँ भैसकेको बताउँदा आफुलाई यी सबै कुराको बारेमा जानकारी नरहेको बताएको स्मरण गर्दै नेताहरुमा सेयर बजार भनेको टन्न पैसा भएका धनीहरुले मात्र कारोबार गर्ने ठाउँ हो भन्ने धारणा रहेको बताइन्। 'नेताका आसेपासे, सल्लाहकारहरुले पनि त्यसरी नै ब्रिफ गर्दा रहेछन क्यारे, नेताहरुमा सेयर बजारको खासै ज्ञान भएको र राम्रो धारणा रहेको मैले पाइन। ' उनले भनिन् ।  

नेताका आसेपासे, सल्लाहकारहरुले पनि त्यसरी नै ब्रिफ गर्दा रहेछन क्यारे, नेताहरुमा सेयर बजारको खासै ज्ञान भएको र राम्रो धारणा रहेको मैले पाइँन।

लगानीकर्ताहरुका यत्तिका संगठनहरु के का लागि  भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले अहिले सेयर बजार जुन ठाउँमा छ, त्यहाँसम्म पुग्न आफूहरुको ठूलो योगदान रहेको बताउँदै उनले  बजार १८०० बाट ११०० सम्म झर्दै गर्दाको करिब ४ बर्षको अवधिमा बाम गठबन्धनको सरकार रहँदै गर्दा गठबन्धनका बरिष्ठ नेता माधव कुमार नेपाललाइ विभिन्न कार्यक्रमहरुमा लगेर सेयर बजार र सेयर लगानीकर्ताहरुको कुरा सुनाएको र त्यसले बजारमा पारेको सकारात्मक प्रभावको स्मरण गरिन। 'हामीले त्यतिखेर पोखरामा सेयर सचेतना कार्यक्रम गर्यौं , प्रदेश नम्बर २ मा कार्यक्रम गर्यौ।  त्यस्तै अहिले २ जना पूर्वप्रधानमन्त्रीहरु सेयर बजारको बारेमा बोलिरहनु भएको छ र सेयर बजार राष्ट्रिय बहसको विषय भएको छ, यी सबै कुराहरुमा हाम्रो पनि योगदान छ। ' उनले भनिन्।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजार वित्तिय एकाधिकारको विस्तारवाद हो भन्दै दिएको अभिव्यक्ति र प्रचण्डको राजनीतिक प्रतिवेदनमा पनि त्यहि आशयको कुरा आउनु प्रति लक्षित गर्दै उनले प्रश्न गरिन, ' उहाँहरु पहिला कुन अवस्थामा हुनुहुन्थ्यो, अहिले आलिशान महलमा बस्नुहुन्छ, छोराछोरीहरुलाइ विदेशमा पढाउनुहुन्छ, महँगा गाडीहरु चढ्नुहुन्छ, महँगा फोनहरु बोक्नुहुन्छ, के ति पुँजीवादी चरित्र होईन?' सेयर बजारमा धेरै पुँजी भएका व्यक्तिहरुमात्र लागेका छन भन्ने भ्रम यदि प्रचण्डलाई परेको छ भने वास्तविकता के हो भन्ने कुरा बुझेर मात्र बोल्न वा सेयर बजारबारे धारणा बनाउन पनि उनले आग्रह गरिन्।  

उहाँहरु पहिला कुन अवस्थामा हुनुहुन्थ्यो, अहिले आलिशान महलमा बस्नुहुन्छ, छोराछोरीहरुलाइ विदेशमा पढाउनुहुन्छ, महँगा गाडीहरु चढ्नुहुन्छ, महँगा फोनहरु बोक्नुहुन्छ, के ति पुँजीवादी चरित्र होईन?

प्राविधिक विश्लेषणको बारेमा के राय छ भन्ने हाम्रो प्रश्नको जवाफमा उनले विश्वकै सेयर बजारहरुमा प्राविधिक विश्लेषणहरु हुने र लगानीकर्ताहरुले यसलाई महत्वका साथ लिने भएकाले आफुले पनि प्राविधिक विश्लेषणलाई महत्व दिने गरेको उनले बताइन्।  विश्वमै प्राविधिक विश्लेषणले १००% काम गर्ने भन्ने कतै नहुने हुँदा पूर्ण रुपमा यसको भर पर्नु पनि नहुने उनको भनाइ छ।  बजार ३२०० तिर रहँदै गर्दा नेप्से ५५०० पुग्छ भनेर लगानीकर्तालाइ सेयर किनाउने हरुलाई लाज लाग्नु पर्ने बताउँदै उनले आजकल त क्लब हाउसहरुमा खुलमखुल्ला नेप्से यति पुग्छ उति पुग्छ, यो कम्पनीको मूल्य यति पुग्छ भन्ने किसिमको प्रचारवाजी हुने गरेको बताउँदै यस्ता कुराहरुलाई नियामक निकायहरुले नियन्त्रण गर्नुपर्ने बताइन।  

धितोपत्र बोर्ड र नेप्से लामो समयसम्म नेतृत्व विहिन हुनुलाई उनले राजनीतिक भागबन्डा र पैसाको खेल भन्दै जबसम्म एउटा स्वतन्त्र व्यक्ति धितोपत्र बोर्ड र नेप्सेको प्रमूख भएर जादैन तबसम्म सेयर बजारको विकास नहुने पनि उनले बताइन्।  

अर्को एक फरक प्रसङ्गमा उनले अहिले बजारमा देखिएको तरलताको समस्या समाधान गर्न कमर्सियल बैंकहरुलाई १ बराबर १ हकप्रद जारि गर्न दिइनुपर्ने बताइन। कमर्सियल बैंकहरुको पुँजी २० अर्ब पनि छैन अनि कसरि पर्याप्त पैसा हुन्छ त भन्दै उनले एउटा कमर्सियल बैंकको पुँजी कम्तिमा पनि ५० अर्ब हुनुपर्ने अनिमात्र तरलताका समस्याहरु बारम्बार आइनरहने बताइन्।  बैंकबाट पैसा बाहिर गएको छ तर पैसा बैंकमा फर्केर आएको छैन, यसको अर्थ पैसा बाहिर कतै पार्किंग भएर बसेको छ।  त्यो पार्किंग भएर बसेको पैसालाई बैंकसम्म ल्याउनका लागि भएपनि हकप्रद ल्याइनुपर्ने उनको धारणा रहेको छ।  

लगानीकर्ताहरुलाई अरुको देखासिकी गर्नुभन्दा पनि आफ्नो घाँटी हेरेर हाड निल्न सुझाउँदै उनले बजार यसरी घटिरहेको बेलामा होल्ड गर्नु नै बुद्धिमानी हुने बताउँदै उनले आफुसँग भएको पैसालाई  लामो समयको लागि, छोटो समयको लागि र बजार ट्रेन्डको आधारमा ट्रेड गर्नका लागि भनेर तीन भागमा छुट्याउन पनि सुझाव दिइन्।

लगानीकर्ताको आवाजका लागि उनै राधासँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरेका छाैँ :  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको