Like us!
Follow us!
Connect us!
Watch us!

माघमा व्याजदर नबढ्ने,प्रोफिट बुक गर्दा करेक्सन,निफ्राको RSI हालसम्मकै उच्च

अर्थ संसार

बुधबार, २८ पुस २०७८, २१ : ५३ मा प्रकाशित

आज पाैष २८ गते, बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरु तल उल्लेख गरिएका छन् ।

प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन, घट्यो बोनस

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश परिमार्जन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्सले लाभांश परिमार्जन गरेको हो । परिमार्जित लाभांश अनुसार अब कम्पनीले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसअघि कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

माघमा व्याजदर नबढ्ने, घटाउने विषयमा छलफल हुँदै !

नेपाल बैंकर्स संघका अध्यक्ष्य तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार  उपाध्यायले माघ महिनामा बैंकहरुको ब्याजदर बढ्ने सम्भावना कम भएको बताएका छन।  अर्थसंसार सँग कुरा गर्दै उपाध्यायले केहि बैंकहरुबाट त व्याजदर घटाउने हो कि भन्ने किसिमको प्रस्ताव पनि गरेकोआएको र  व्याजदरको बारेमा भोलिसम्ममा बैंकर्स संघको आधिकारिक धारणा आइसक्ने बताए। पछिल्लो समय कर्जाको व्याजदरलाइ न्युनतम बिन्दुमै राख्न भन्दै राष्ट्र बैंकले निश्चित समयको लागि कर्जाको व्याज बढाउन नपाइने भन्ने सर्कुलर नै जारी गरेको छ भने अप्रत्यक्ष रुपमा कर्जाको व्याजदर नबढाउन राष्ट्र बैंकले बैंक वित्तिय संस्थाहरुलाई दबाब दिंदै आएको बुझिएको छ।

नेप्सेमा ३० अंकको गिरावट, जानकार भन्छन् "प्रोफिट बुक गर्दा आएको सामान्य करेक्सन मात्र हो"

आज (बुधबार) नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा भने बृद्धि भएको छ । आजको नेप्सेको कारोबार बिगत ४ महिना पछिकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ को विन्दुमा पुगेको छ । नेप्से १.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ को विन्दुमा पुगेको छ । कूल २२९ वटा कम्पनीको एक करोड ६१ लाख ४७ हजार ३ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको बजारमा आएको करेक्सन अन्य कुनै पनि कारण नभई नितान्त रुपले प्रोफिट बुक गरेकै कारण आएको जानकार बताउछन्  । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो । बुधबार नेपाल बंगलादेश बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.२१ प्रतिशतले घटेर ४ सय ६७ रूपैयाँमा झरेको छ । 

निफ्राको RSI हालसम्मकै उच्च, मूल्य अझै बढेर जाने संकेत

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसको सेयर मूल्य ३७२.९० पुगेको छ।  निफ्राको डेली चार्टमा RSI ७८ भन्दा माथि पुगेको छ।  यस अघि बजार मूल्य ७२६ पुग्दै गर्दा पनि RSI ७० भन्दा माथि जान सकेको थिएन।  ७८ भन्दा माथिको RSI ले एकदमै स्ट्रंग ट्रेन्डको संकेत गर्दछ।  बुलिश बजारमा RSI ९० भन्दा माथिसम्म पनि पुगेका प्रसस्त उदाहरणहरु रहेका छन।  त्यसैले आगामी दिनमा निफ्राको मूल्य अझै बढेर जाने संकेत RSI ले गरेको छ। 

पुस मसान्तभित्र ४० प्रतिशत कर बुझाउन सरकारको आग्रह

सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ ।

तेह्रथुम पावरको साधारण सभा सम्पन्न, वित्तिय विवरण पारित

तेह्रथुम पावर कम्पनी लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज पाैष २८ गते, बुधबार, हाेटल हार्दिक, बागबजार, काठमाडाैँमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक समिति सदस्यकाे निर्वाचन गर्ने, सञ्चालक समितिकाे लागि निर्वाचन अधिकृतकाे चयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिएको छ ।

४ सयले बढ्यो सनको भाउ, ५ रुपैयाँले बढ्यो चाँदी 

बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको