Like us!
Follow us!
Connect us!
Watch us!

नलबहादुरकाे संघर्ष : मलेसियामा डेढ कराेड सिध्याए, नेपाल आएर च्याउखेतीबाट कराेड कमाए

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ११ : ५२ मा प्रकाशित

नलबहादुरकाे संघर्ष : मलेसियामा डेढ कराेड सिध्याए, नेपाल आएर च्याउखेतीबाट कराेड कमाए

गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो । मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए । होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति जाडे ।

होटल राम्रो चलेपछि एक्लैलाई धान्न मुस्किल भयो । श्रीमती सीतालाई पनि मलेसिया बोलाए । दुईजना भएर विदेशमा संघर्ष गर्दै थिए । एक दिन होटलमा जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटना भयो । नलबहादुर मोटरसाइकल हाँक्दै थिए । श्रीमती पछाडि थिइन् । बाटोमा कुकुरलाई जोगाउँदा उनीहरू दुर्घटनामा परे । नलबहादुरमाथि मोटरसाइकल भयो । 

उनको देब्रे खुट्टामा चोट पर्‍यो । चार महिना मलेसियामै उपचार गराउँदा पनि खुट्टा ठीक भएन । झन्-झन् सुनिँदै गयो । श्रीमतीलाई मलेसियामै छाडेर दश वर्षको मलेसिया बसाई टुंग्याउँदै नलबहादुर स्वदेश फर्किए । नेपाल फर्किएर ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गराए । उपचारमा ६०-७० लाख बराबर खर्च भएको उनी बताउँछन् । जोडेकाे जग्गा उपचारमै सकियो । तर, खुट्टा राम्रो नभएपछि चार वर्ष मलेसिया बसेकी सीता पनि स्वदेश फर्किइन् ।

‘अर्काको देशमा खोलेको होटल म आएपछि चलाउन नसक्ने अवस्थामा पुग्यो । घर भाडा बढेको बढ्यै थियो । ६० लाखभन्दा धेरै लगानी गरेर खोलेको होटल छाडेर आयौँ,’ नलबहादुर भन्छन्, ‘नेपाल आएर पनि खुट्टा राम्रोसँग निको भएन । अझै पनि सुन्निएको छ । अब यतिकै चल्छ । मलेसियामा राम्रो उपचार नहुँदा ठीक भएन ।’ 

नाै वर्षअघि नेपाल फर्किएका नलबहादुरले केही समय गौरादहमा सानो होटल चलाए । होटल पनि राम्रै चल्दै थियो । सब्जी पसलमा बेच्न ल्याएको च्याउले उनको ध्यान तान्यो । च्याउ बेच्न ल्याउन किसानसँग उनले सोधे- च्याउ उत्पादनमा कति खर्च आउँछ ? एउटा पोकामा ६०/६२ रुपैयाँ खर्च आउँछ भन्ने जवाफ पाए । नाफा चाहिँ राम्रै हुने उत्तर पाए । उनलाई च्याउ खेती गर्न मन लाग्यो । कमाएको सम्पत्ति सबै खुट्टाको उपचारमा खर्च गरेका नलबहादुरसँग खेती सिक्न पैसा थिएन । अरूले गरेर च्याउ खेती हेर्दै उसलाई सघाउँदै च्याउ खेती गर्न सिके । 

सुरुमा दुई धुर जग्गा भाडामा लिएर ८५ पोका च्याउ रोपे । जसमा खर्च आयो-१९९५ रुपैयाँ । त्यो लगानीले करिब ९० हजार रुपैयाँ कमाए । एकपटक काठमाडौं गएर उपचार पनि गरे । च्याउ खेतीमा राम्रो आम्दानी देखेपछि उनले खेती विस्तारको योजना बनाए । खुट्टा राम्रोसँग ठीक नभए पनि १८ घण्टा खटेर च्याउ उत्पादनमा लागे । अहिले च्याउ खेतीमा राम्रो सफलता पाएका छन्, नलबहादुरले ।

दुई धुरबाट सुरु भएको उनको कृषि कर्म अहिले तीन बिघामा विस्तार भएको छ । गौरादह-४ मा तीन बिघा जमिन लिजमा लिएर उनी खेती गर्दै आएका छन् । एक बिघामा च्याउ खेती गर्छन् भने बाँकी जमिनमा सब्जी, धानलगायतका खेती गर्दै आएका छन् । उनले जमिनको भाडाबापत वाार्षिक एक लाख बुझाउँछन् । दुई छोरालाई च्याउ खेतीबाटै पढाएको उनी बताउँछन् । ‘यो पेसामा खट्नु चाहिँ साह्रै पर्छ । मेरो खुट्टा यस्तो हुँदा पनि दैनिक १८ घन्टा खट्छु । दुई घन्टा काम गरेर आधा घन्टा रेस्ट गरिनँ भने खुट्टाले काम गर्न निकै मुस्किल पर्छ । अहिले पनि खुट्टा सुनिएको छ,’ नलबहादुर भन्छन् । 

श्रीमतीकै नाममा सीता च्याउ उद्योग दर्ता गरेका छन्, नलबहादुरले । श्रीमती पनि श्रीमानसँगै च्याउ खेतीमा खटिन्छिन् । ‘सिजनमा च्याउ टिप्न साँझ ७ बजे छिर्छौँ । बिहान ४ बजेमात्र निस्कन्छौँ । मिहिनेत धेरै गर्नुपर्छ । तर, सन्तुष्ट छौँ,’ सीता भन्छिन् । उनको परिवारबाहेक अन्य चारजनालाई दैनिक काम दिएका छन् । सिजनमा दैनिक ४० जनासम्मले प्रत्यक्ष अप्रत्यक्ष काम पाएको नलबहादुर बताउँछन् ।

खुट्टाका कारण पानी जमेको ठाउँमा जान उनलाई मुस्किल हुन्छ । च्याउको पोका राखेको टनेलमा पानी हुन्छ । उनी टिप्ने काम गर्दैनन् । केलाउन सघाउने गरेको उनी बताउँछन् । दैनिक ६ सयदेखि आठ सय केजीसम्म च्याउ टिपरे बजारमा पठाउने गरेको नलबहादुर बताउँछन् । ‘रातभर टिपेर, केलाएर, जोखेर ठिक्क पर्छौँ । बिहान डिलरको गाडी आएर च्याउ लैजान्छ,’ उनी भन्छन् । 

१९ सय ९५ रुपैयाँबाट सुरु भएको उनको च्याउ खेतीमा अहिले एक करोड लगानी पुगेको उनको दाबी छ । वार्षिक करोडको कारोबार च्याउ खेतीबाटै गर्छन्, नलबहादुर । ‘नेपालमै केही गर्न सके राम्रो हुन्छ । म त अहिले सन्तुष्ट छु । खुट्टाका कारण विदेशमा कमाएको सबै सकेर उल्टै ७-८ लाख ऋण गरेर आएको हुँ । अहिले जग्गा पनि जोडेँ,’ उनी भन्छन्, ‘केही ऋण त छ । तर, सामान्य पैसा चलाउन समस्या छैन । गर्न सके नेपालमै केही हुन्छ भन्ने प्रमाणित गरेको छु ।’ 

तर, कृषि क्षेत्रमा कामदार पाउन निकै मुस्किल हुने उनी बताउँछन् । ‘भन्नचाहिँ काम पाइनौँ, रोजगारी छैन भन्छन् । तर, हामीलाई कामदार पाउनै मुस्किल हुन्छ,’ नलबहादुर भन्छन् । कृषि पेसामा केही गरौँ भनेर लागेका नलबहादुरले कृषि ज्ञानकेन्द्रमार्फत केही अनुदान त पाए तर स्थानीय सरकारबाट प्रोत्साहसम्म नभएको उनी बताउँछन् । ‘यस्तो शारीरिक अवस्था हुँदा पनि खटेर कृषि पेशामा लागेको छु । तर, स्थानीय तहले वास्तै गर्दैन । अन्य स्थानीय तहले किसानलाई प्रत्साहन गरेको समाचार सुन्छु । तर, गौरादहमा यस्तो छैन,’ उनी भन्छन्, ‘प्रोत्साहन भए काम गर्न थप ऊर्जा मिल्ने थियो ।’ कृषकलाई बैंकले पनि सहज लगानी नगरेको उनको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको