Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट महँगो बिजुली किन्दै नेपाल

पत्रपत्रिका

मंगलबार, २४ फागुन २०७८, ०७ : ४० मा प्रकाशित

भारतबाट महँगो बिजुली किन्दै नेपाल

रुस र युक्रेनबीच चलिरहेको युद्धको असर नेपालको ऊर्जा क्षेत्रमा पनि देखिएको छ । दुई देशबीचको युद्धका कारण छिमेकी मुलुक भारतमा ऊर्जा महँगिएपछि त्यसको असर नेपालमा समेत देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालले भारतबाट ३ सय ७० देखि ४ सय मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । भारतमा ऊर्जाको मुख्य स्रोत प्राकृतिक ग्यासबाट चल्ने थर्मल प्लान्ट र कोईला कारखाना हुन् । भारतले यी वस्तुहरुको आयात ठूलो परिमाणमा रुसबाट गर्ने गरेको छ । युद्धका कारण प्राकृतिक ग्यास र थर्मल कोल आयात प्रभावित भएपछि भारतमा बिजुलीको मूल्य बढेको हो । नेपालले पनि अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

‘यसअघि नेपालले भारतबाट प्रतियुनिट औसत भारु ३ मा बिजुली किनिरहेको थियो । तर अहिले भारु ५/६ सम्म पुगेको छ,’ भट्टराईले भने, ‘भारतमा बिजुली महँगिएपछि त्यसको असर हामीलाई पनि परेको छ । यो अझै बढ्ने देखिएको छ ।’

नेपालले भारतबाट एक्सचेन्ज मार्केटमा बिजुली किन्ने गरेको छ । भारतले बिजुली बेच्दा हरेक १५ मिनेटमा एउटा र एक दिनमा ९६ फरक–फरक ब्लकहरुमा मूल्य निर्धारण गर्छ । अहिले नेपालले एउटा ब्लकमा प्रतियुनिट २० भारुसम्ममा बिजुली किनेको प्रवक्ता भट्टराईले बताए ।

भारतमा करिब ७० प्रतिशत ऊर्जा थर्मल प्लान्ट र कोइलाबाट हुने गरेको छ । भारतले सन् २०२० रुसबाट २५ लाख मेट्रिक टन र सन् २०२१ मा १८ लाख मेट्रिक टन थर्मल कोल आयात गरेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । त्यस्तै, रुसले विश्वभर निर्यात गर्ने प्राकृतिक ग्यासको ०.२ प्रतिशत भारतमा पठाउने गरेको छ ।

रुस–युक्रेन तनावको असर भारत, इन्डोनेसिया, जापान र युरोपियन मुलुकहरुको ऊर्जा क्षेत्रमा नराम्रोसँग देखिएको पनि इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । कोइला उत्पादन तथा खपत गर्ने राष्ट्रहरुमा नेपालका छिमेकी मुलुकहरु चीन पहिलो र भारत दोस्रो स्थानमा छन् । कान्तिपुर दैनिकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको