Like us!
Follow us!
Connect us!
Watch us!

इन्धन खरिद सम्झौता नवीकरणको तयारी

पत्रपत्रिका

विहीबार, २६ फागुन २०७८, ०७ : १८ मा प्रकाशित

इन्धन खरिद सम्झौता नवीकरणको तयारी

नेपालले पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको सम्झौता नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरु भएको छ ।

भारतसँगको सम्झौता यही मार्च २७ तारिखमा सकिने भएकाले नवीकरणका लागि छलफल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुई देशबीच सहसचिवस्तरीय भर्चुअल बैठक भएको मन्त्रालयको भनाइ छ ।

नेपालको तर्फबाट मन्त्रालयकी सहसचिव राधिका अर्याल र भारतको तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवबीच भर्चुअल छलफल भएको हो । बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि अमलेखगन्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगन्जको पाइपलाइन सुरक्षा व्यवस्था लगायत विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । खरिद सम्झौता समयमै नवीकरण गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताइएको छ ।

इन्धन खरिद सम्झौता नवीकरणका विषयमा प्रारम्भिक रुपमा छलफल भएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । छलफलमा कानुन, अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता थियो । इन्धन खरिदका लागि नेपाल आयल निगम र भारतीय आयल निगमबीच भएको सम्झौता हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसअघिको सम्झौतामा निगमले क्रुड आयल (कच्चा इन्धन) ल्याएर बिक्री गर्न पाउने व्यवस्था भए पनि निगमले ल्याउन सकेको छैन । साथै निगमले आईओसीबाहेक अन्य कम्पनीबाट पनि तेल खरिद गर्न पाउने व्यवस्था छ । निगमले आईओसीमार्फत इन्धन खरिद गरेर ल्याएर नेपालमा बिक्री गर्दै आएको छ ।

नेपालले भारतको विकल्पमा तेस्रो मुलुकबाट पनि इन्धनको कारोबार गर्न सक्ने व्यवस्था छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारतमा प्रशोधन गरी नेपाल भित्र्याउन पाउने व्यवस्था भए पनि निगमसँग रिफाइनरी नभएकाले ल्याउन सक्ने विकल्प छैन ।

नेपाल आयल निगमका अनुसार आव २०७७÷०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ । निगमले गत वर्ष डिजेल १७ लाख किलोलिटर आयात गरेको थियो । यस्तै पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मटीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिटर आयात गरेको थियो । यस्तै खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय टन आयात गरेको थियो । बढ्दो सहरीकरणसँगै प्रत्येक वर्ष इन्धन खपत बढ्दै गएको छ ।कारोबार दैनिकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको