Like us!
Follow us!
Connect us!
Watch us!

५ लाख ७२ हजारको लाइसेन्स परीक्षा लिने तयारी

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १७ : २१ मा प्रकाशित

५ लाख ७२ हजारको लाइसेन्स परीक्षा लिने तयारी

अबको दुई महीनामा चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ । 

यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ । फारम भरेका सेवाग्राहीकै लामो समयसम्म पालो नआएकाले नयाँ फारम तत्कालका लागि नखुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । 

उनका अनुसार आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ । सबै कार्यालयसँगको सल्लाहमा अहिलेका लागि फारम भर्न रोकिएको उनले बताए । उनले भने, ‘कार्यालयको क्षमताभन्दा सेवाग्राहीको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ ।’

सेवा प्रदायक संस्थाले सेवा अवरुद्ध गर्दा नागरिकलाई असुविधा पुग्ने देखिएको छ । अहिले फारम भरेका सेवाग्राहीको पनि पालो आउन झन्डै एक–डेढ वर्षसम्म लाग्ने देखिएकाले फारम भरे पनि नागरिकलाई सजिलो नहुने प्रवक्ता भुसालले बताए । अहिले एकपटक सबै बाँकी सकाएमा त्यसपछि फारम भरेको छोटो समयमा नै पालो आउनसक्छ । उनले भने, ‘सेवाग्राहीको फारम भरेको एक सातामा नै पालो आओस् भन्ने हाम्रो चाहना हो ।’

देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागको जोड छ । यो दुई महीनामा सबै कार्यालयले क्षमता बढाएर सबै (पाँच लाख ७२ हजार) को परीक्षा लिइ सक्नु पर्नेमा उनले जोड दिए । देशभरका २३ यातायात कार्यालयमध्ये सबैभन्दा बढी चाप काठमाडौं उपत्यकाका कार्यालयमा छ । 

एकान्तकुनास्थित कार्यालयमा झन्डै एकदेखि डेढ वर्षसम्ममा पालो आउने गरेको छ । यी कार्यालयले भएका जनशक्ति बढाएर चाँडो गराउन लाग्नुपर्ने उनको जोड छ । अहिले यी सबै कार्यालयले गरी दैनिक पाँच हजारको परीक्षा सञ्चालन गर्दै आएका छन् । यिनले क्षमता बढाएर सात आठ हजार जनासम्मको परीक्षा लिएमा अबको दुई महीनामा सकिने उनको भनाइ छ । 

विभागले गत वर्ष कोभिड संक्रमणको जोखिम कम गर्न अनलाइनबाट फारम सुरु गरेको थियो । विभागले फारम भराउने र अनुमतिपत्र छाप्ने काम गर्दै आएको छ । यातायात कार्यालयले परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र नवीकरण र वितरण गर्दै आएका छन् । अहिले झन्डै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागले जानकारी दिएको छ । 

चालू आवमा कार्ड अभावका कारण नियमित रुपमा अनुमतिपत्र छपाइ हुन नसकेकाले छाप्न बाँकी अनुमतिपत्र झन्डै साढे चार लाख थियो । मंसिरमा १४ लाख नयाँ कार्ड आएपछि अझै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ । यो दुई महीनामा पहिलेको बाँकी सबै अनुमतिपत्र छापिसकिने उनले बताए । विभागले अहिले तीन सिफ्टमा अनुमतिपत्र छापिरहेको छ । विभागले दैनिक छ हजार अनुमतिपत्र छापिरहेको छ । 

नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट शुरु भएको थियो । एशियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण (प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरीद गरिएको थियो । 

त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरू यातायात कार्यालय ठूलो भर्याङ, जगाती र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो । उपत्यकामा मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भइरहँदा नै उपकरण र कार्ड व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले समयमै अनुमतिपत्र पाएका थिएनन् । आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघण्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण विस्तारै छाप्नुपर्ने अवस्था सिर्जना भएको थियो । 

उपकरणकै कारण ढिलाइ भएकाले विभागले विसं २०७६ मा धेरै संख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरीद गरेको थियो । मदरास सेक्युरिटि पिन्टिङबाट खरीद गरिएको उपकरणको क्षमता प्रतिघण्टा ४५० कार्ड छाप्नेछ ।

देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भएपछि झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले यातायातका कर्मचारीले छपाइ सकेका थिए । त्यतिबेलासम्म विभागसँग छाप्न बाँकी (खाली) कार्ड झन्डै दुई लाख मात्र रहेकोमा विसं २०७६ फागुनमा थप १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाइएको थियो । कार्ड खरीद भएपछि बाँकीमध्ये आधा छापिसकिएको विभागले जानकारी दिएको छ ।

कोभिडका कारण केही समय प्रक्रिया अघि बढ्न नसकेकामा गत वर्ष साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरीदको सम्झौता भएको थियो । मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरीद गर्दा समस्या नआए पनि अहिले कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा मिलाउन भने समस्या भएको छ । कार्ड आउन ढिलाइ हुँदा पनि छाप्न बाँकी अनुमतिपत्रको संख्या बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको