Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर निलम्बनको निर्णयले पूँजी बजारमा कस्तो प्रभाव पर्ला ?

कृष्ण भट्टराई

आइतबार, २७ चैत्र २०७८, १२ : ०२ मा प्रकाशित

गभर्नर निलम्बनको निर्णयले पूँजी बजारमा कस्तो प्रभाव पर्ला ?

सरकारले सरकारको बिहीबारको बैठकको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गर्दै कार्यबाहकको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ । 

शुक्रबार बिहान राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टी जनाएका थिए । राष्ट्र बैंकले आयोजना गरेको अर्थ र वित्त सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले राष्ट्र बैंकले मन्त्रालयमा पठाएको सुझाव मिडियामा चुहाएकोमा असन्तुष्टी जनाएका हुन् । उनले राष्ट्र बैंक नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था पनि भएकोले त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।

गर्भनरको निलम्बन पछि अहिले कतिपयले यसको समर्थन गरिरहेका छन् भने कतिपयले विरोध । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकारको गर्भनर निलम्बनको निर्णयको विरोध गरिरहेको छ । गर्भनरको निलम्बनको निर्णय कति सही र यसले नेपालको पूँजी बजारलाई कस्तो प्रभाव पार्न सक्छ भनी विभिन्न जानकाहरुसँग कुराकानी गरेका छौँ ।

उनीहरुका धारणा तल प्रस्तुत गरिएकाे छ :

छोटेलाल रौनियार, पुर्व अध्यक्ष इन्भेष्टर फोरम नेपाल

राष्ट्र बैंक र धितोपत्र बोर्ड जस्ता स्वायत्त निकायहरुमा राजनितीक हस्तक्षेप हुनु आफैमा सही कुरा होईन तर पनि कुनै निकायबाट बारम्बार गल्ती भइरहन्छ वा नियतबस गलत नितीहरु अंगिकार हुन्छ भने त्यस्तो निकायमा सरकारको सकारत्मक हस्तक्षेपलाई सही मान्न सकिन्छ । 

गर्भनर पनि केही हदसम्म राजनितीबाट प्रभावित भएको हामीले महशुस गरेकै थियो । विगतमा एमाले नेतृत्व सरकारमा उहाँले २ पटक राम्रो मौद्रिक निती ल्याउनु भएको थियो तर पछिल्लो मौद्रिक निती उहाँले केही कुराले प्रभावित भएर ल्याएको कुरामा खासै दुईमत देखिदैन । 

पछिल्लो समय राष्ट्र बैंकले र गर्भनरले जसरी अर्थतन्त्र संकटग्रस्त भएको र श्रीलंकको बाटोमा रहेको अभिव्यक्ति दिनु भयो त्यसले झन् नागरिकलाई त्रसित बनायो, मलाई लाग्दैन कि अहिले देशको अर्थतन्त्र उहाँहरुले भने जस्तो खराब छ । राष्ट्र बैंकको काम त त्रसित बनाउने भन्दा पनि नीतिगत रुपमा त्यस्ता समस्याहरु समाधान गर्ने हो तर समाधानका लागि सरकारसँग समन्वय गर्नुभन्दा पनि राजनितीक पुर्वाग्रह राखेको जस्तो देखियो । 

सरकार परिवर्तनसँगै आएका विभिन्न नीतिहरुबाट गर्भनरले पूँजी बजारमाथि पटक पटक प्रहार गर्नुभएक्रै हो । ४/१२ को नीति पनि किन आयो यसको प्रभावकारिता के भयो त ? यसले बजार घटाउने बाहेक त अरु केही पनि गरेन । 

गर्भनरले पछिल्लो समय लिएका नीतिहरु खराब थिए भने अहिले करिब करिब प्रमाणित भइसकेको छ वहाँले गलत निती लिएकै कारण अहिले पदबाट बाहिरिन पनि पर्यो । अब यो कुराबाट पक्कै पनि नयाँ आउने नेतृत्वले शिक्षा लिनेछ र यस्ता गल्तीहरु दोहोर्याउने छैन जसका कारण आगामी दिनमा बजारलाई नकारात्मक प्रभाव पार्ने गरी नीति बन्ने छैनन् भन्ने हाम्रो अपेक्षा हो । जसले गर्दा आगामी दिनमा बजारलाई सकारात्मक प्रभाव पार्नेछ ।

केशव कोइराला (काका)

"गर्भनर भनेका समग्र देशको मौद्रिक निती र मुद्राको व्यवस्थापनको प्रमुख व्यक्ति हुन्, उनको काम सेयर बजार बढाउने र घटाउने हाे जस्तो मलाई लाग्दैन, उनले भने "हो राष्ट्र बैंकले लिने नीतिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेयर बजारलाई प्रभावित त गर्ला ।"

अहिले अर्थतन्त्रमा देखिएको तरतला संकटको दोषी गर्भनर पनि हुन् तर गर्भनर मात्र भने होइनन्, कर्जा व्यापक रुपमा जान थालेपछि बेलैमा कर्जा लगानी र आयातलाई केहि नियन्त्रण गर्ने निति लिएको भए सायद आजको अवस्था आउने थिएन कि तर यो समस्याको मुख्य दोषी भनेको गर्भनर नभई सरकार र अर्थमन्त्री जनार्दन शर्मा नै हुन् ।

अहिले जसरी अर्थतन्त्र संकटको मुख्य दोषिका रुपमा गर्भनरलाई कारबाही गरिएको छ त्यो मलाई चाँहि सही लागेको छैन । 

गर्भनरको निलम्बनले बजारलाई दिर्घकालिन रुपमा प्रभाव पार्ने अवस्था मैले देख्दैन । हो केही दिन यही कारणले बजार सकारात्मक वा नकारात्मक जे पनि हुनसक्ला तर यसका कारण बजार लामो समय प्रभावित हुने म देख्दिँन । 
 
अहिले बजार गर्भनर वा अर्थमन्त्रीका कारण घटेको पनि होईन । सेयर बजारमा थप लगानी नभित्रिनु र पुराना तथा ठुला लगानीकर्ताहरुले सेयर बजारको पैसा बाहिर निकालेकोले नै बजारमा अहिलेको गिरावट आएको हो । अर्थमन्त्री वा गर्भनर हटाउँदा २-४ दिन वा हप्ता दिनसम्म बजारमा सकारात्मक वा नकारात्मक केहि प्रभाव पर्न सक्ला तर त्यसपछि बजार आफ्नै लयमा चल्ने हो । 

राधा पोख्रेल, अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता संघ

बिहिबारको मन्त्री परिषदको निर्णयले साच्चै नै नेपाली पूँजी बजारमा लागेको कालो बादल सदाको लागि हटेर उज्ज्वल भविष्य तर्फ लम्कदै जानेछ भन्नेमा आशा गर्दै स्वागत गर्न चाहन्छु । वास्तवमा भन्ने हो भने गर्भनर त पूँजी बजारका लागि सधै नकारात्मक हुनुहुन्थ्यो उहाँले विभिन्न ढंगले पूँजी बजार माथि हस्तक्षेप नै गरिरहनु भएको थियो । 

म त उहाँलाई पूँजी बजार विरोधी गर्भनरकै रुपमा बुझ्छु, उहाँले पछिल्लो समयमा लिएका हरेक नितीहरुले बजारमा प्रहार गरेको छ । राजनितीबाट प्रभावित भएर पूँजीबजारमाथि आक्रमण गरेको बुझेकी छु मैले । 

अब भोलिका दिनमा भोली पूँजीबजार कस्तो हुन्छ भन्ने कुरा अर्थमन्त्रीले लिने निती र बटेमा पूँजीबजारलाई कसरि महत्वका स्थान दिइन्छ भन्ने कुराले पनि निर्धारण गर्ला त्यस्तै अहिले देखिएको आर्थिक संकट कसरी समाधान हुन्छ त्यो कुराले पनि केहि हदसम्म बजार प्रभावित हुने देखिन्छ । 

रोहन कार्की, अध्यक्ष, स्वतन्त्र पूँजी बजार संघ

सरकारकै नियुक्तिको पदमा बसेर प्रतिषोध देखाएर देश बर्बाद पार्ने जुनसुकै उच्च पदको ब्यक्ति भएनी आफ्नो कर्तुत ढाक्न जतिसुकै ठूलो मिडिया लगाएपनी सरकारले यस्तालाइ बर्खास्त गरेर आवस्यक परे कानुनी कार्बाही गर्न खुट्टा कमाउन हुँदैन । गभर्नर सरकारका आर्थिक सल्लाहकार हुन उनी सबैका नबनेर कसैको मात्र बन्न खोज्दा कसै न कसैको बनेको देखियो ।

स्वदेशी व्यवसायी र लगानीकर्तालाई निरन्तर निरुत्सायी बनाएर विस्थापन गर्न लागि परेका यिनका कैयौँ त्यस्ता कर्तुत यतिन्जेल टुलुटुलु हेरेर बस्नु भनेको अर्थमन्त्रीको समेत गम्भीर गल्ती थियो त्यसैले हामिले निरन्तर उनको समेत आलोचना गर्ने गरेका थियौँ । गभर्नरको सनक र प्रतिशोधको सिकार देशको अर्थतन्त्र हुनसक्दैन ।

बिबेकहिन २, ४ जना झोले, चम्चे र तिनका कर्तुतमा रमाउन पाएका केही थान स्वार्थ समूह  बाहेक तमाम नागरिकले अहिलेको निलम्बनको समर्थन गर्नेछन । हरेकले आफ्नो मर्यादा र अनुशासनमा बस्नु पर्छ र नागरिक प्रती उच्च नैतिकता देखाएर देशको हितमा काम गर्नै पर्छ नत्र कुर्षि मा ओगटेर बस्न मिल्दैन । अर्थमन्त्रीले अब अर्थतन्त्र सुधारका लागि  तमाम हिजोका गभर्नरका गलत निर्णयहरुको पुनर्वालोकन गरून् ।

पूँजी बजार विरोधी गर्भनरको पतन पछि अहिले आम लगानीकर्ताहरुको मनोबल बढेको छ जसले गर्दा बजार देखिएको नकारात्मकता हट्ने छ । राष्ट्र बैंकको अब आउने नेतृत्वले पुराना गलत निती नियमहरु संसोधन गरी अघि बढेमा देशको अर्थतन्त्र र पूँजीबजारमा सकारात्मकता छाउने छ । तमाम कुरामा सरकार र अर्थमन्त्री सग बिमती हुँदै गर्दा गभर्नरलाइ हालै निलम्बन गरेर देशलाइ अलिकती भएनी ट्र्याकमा ल्याउन पहल गरेकोमा धन्यबाद दिन चाहन्छु ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको