नेपाल राष्ट्र बैंकका उप निर्देशक डा. रमेश चौलागाईंले सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य भएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) ले आयोजना गरेको साकोस शिखर गोष्ठीको दोस्रो दिन ‘सहकारीमा जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चौलागाईले पछिल्लो समय सदस्यले बचत फिर्ता नपाएको जस्ता घटनाहरु बढेको बताएका हुन् । यी घटना जोखिम व्यवस्थापन गर्न नसकेर भएको उल्लेख गर्दै उनले अब सहकारीमा जोखिम व्यवस्थापनका लागि काम गर्नुपर्ने बताए ।
‘मनी बिजनेश अर्थात कर्जा र निक्षेपमा बढी जोखिम हुन्छ । जोखिमकै कारण आम्दानी घट्ने, लागत बढ्ने हुन्छ । रिक्स र रिटर्न एक सिक्काका दुई पाटा हुन् । यसमा सहकारी सर्तक हुनुपर्छ,’ उनले कार्यपत्र प्रस्तुत गर्दै भने । उनका अनुसार सहकारीले सुरुमा जोखिम पहिचान, जोखिम विश्लेषण, जोखिम व्यवस्थापन, जोखिम कम तथा रिक्स सेयर र पोर्टफोलियो म्यानेजमेन्ट लगायतका काम गरेर जोखिम न्यूनीकरण गर्नुपर्ने धारणा राखेका छन् ।
उनले सहकारीमा कमजोर नियमन भएकोले त्यसतर्फ पनि काम गर्नु पर्ने धारणा राखे । तरलताको अभाव पनि जोखिमको कारण भएको बताउँदै उनले कानुनले तोकेको निर्देशन मेन्टन गर्न सकिएन भने तरलताको समस्या सिर्जना हुने बताए । उनका अनुसार सहकारीमा पारदर्शिताको अभाव छ ।
‘सहकारीमा वित्तीय अनुशासन अवस्था कमजोर छ । सदस्यको संस्थाप्रति पहुँच अभाव छ । व्यवसायिकताको कमी, नीतिगत अभाव लगायतका समस्या छन् । वित्तीय कारोबारमा ध्यान नदिँदा पनि समस्या भएको छ ।’, उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस