Like us!
Follow us!
Connect us!
Watch us!

'पिडित' फेला नपरेपछि अन्योलमा अग्रवालमाथिको छानबिन : सीआईबी भन्छ, 'बोर्डले लेखेजस्तो भेटिएन'

अर्थ संसार

आइतबार, १२ असार २०७९, १७ : ५० मा प्रकाशित

'पिडित' फेला नपरेपछि अन्योलमा अग्रवालमाथिको छानबिन : सीआईबी भन्छ, 'बोर्डले लेखेजस्तो भेटिएन'

सेयर बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल जोडिएको गोल्डम्यान इन्भेष्टमेन्टले अनाधिकृत रुपमा पैसा उठाई लगानीकर्ताहरुलाई ठग्ने धन्दा चलाएको भन्दै गोल्डम्यानका कृयाकलापहरुको अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष नेपाल धितोपत्र बोर्डले सिफारिस गरिसकेपछि सीआईबीले सो केसमा अनुसन्धान गरिरहेको छ। 

कहाँ पुग्यो अनुसन्धान ?

केहि दिनअघि पुँजीबजार सुधार सम्बन्धी १९ बुँदे माग राख्दै लगानीकर्ता तिलक कोईराला धितोपत्र बोर्ड अगाडी आमरण अनसन बसेको बेला धितोपत्र बोर्डमा जम्मा भएका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै अग्रवालले धितोपत्र बोर्डले गोल्डम्यानको फाईल सीआईबीलाई जिम्मा लगाएको प्रति असन्तुष्टि व्यक्त गर्दै आफूले कुनै गैरकानुनी काम नगरेको बताएका थिए। धितोपत्र बोर्डले गोल्डम्यान इन्भेष्टमेन्ट माथि 'ठगी गरेको' गम्भीर आरोप लगाएको प्रति तिब्र असन्तुष्टि व्यक्त गरेका अग्रवालले आफूले कुनै गैरकानुनी काम नगरेको बताएका थिए। यो अभिव्यक्तिपछि आम सर्वसाधारणमा यो केसप्रतिको चासो झन् चुलिएको छ।  

यो विषयमा अनुसन्धान गरिरहेको सीआईबीले अहिलेसम्म गोल्डम्यानले ठग्यो भनेर कोही पनि नआएको बताएको छ। धितोपत्र बोर्डले भनेजस्तो ठगी मुद्दा चलाउनका लागि हालसम्म कुनै पनि प्रमाण जुट्न सकेको छैन। 'हामीले गोल्डम्यानको स्किम खरिद गरेका अधिकांश व्यक्तिहरुसँग सोधपुछ गरिसकेका छौं। सबैले हामीले सबै बुझेर नै खरिद गरेको हो भन्ने जवाफ दिएका छन्। कसैले पनि हामी ठगियौं भनेका छैनन्। काठमान्डौमा भएका अधिकांश व्यक्तिहरुसंग हामीले सोधपुछ गरिसकेका छौं। काठमान्डौबाहिरका खरिदकर्ताहरुसँग पनि सोधपुछ गर्दैछौं। अहिलेसम्म कसैले पनि हामीलाई झुक्याइयो, ठगियो भन्ने किसिमको गुनासो गरेका छैनन् , सबैले स्वेच्छाले खरिद गरेको देखिन्छ।' सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले अर्थसंसारलाई जानकारी दिए।  

अर्को एक प्रश्नको जवाफ दिँदै महतोले भने, 'धितोपत्र बोर्डले भनेजस्तो ठगी मुद्धा चलाउन प्रमाण चाहिन्छ। ठगीको प्रमाण भनेको ठगिने व्यक्तिको बयान र गरिएको कारोबारको विवरण हुने भएको हुँदा 'म ठगिएँ' भनेर उजुरी गर्ने व्यक्ति /संस्था नभएसम्म ठगी मुद्दा अघि बढ्दैन।'

अब कसरी अघि बढ्छ त अनुसन्धान ?

'सीआईबीले गोल्डम्यानको स्किम खरिद गरेका सबैजनासँग सोधपुछ गर्नेछ। यदि ठगी गरिएको पुष्टि हुने प्रमाण प्राप्त भएन भने कसरी अघि बढ्ने भन्ने सम्बन्धमा सरकारी वकिलसँग छलफल गरिनेछ र निष्कर्षमा पुगिनेछ', महतोले थप स्पष्ट पारेका छन्। 'जहाँसम्म १० लाखको लगानीलाई १० बर्षमा १० करोड बनाउने असम्भव लाग्ने आश्वाशन सामाजिक संजालमा प्रचार गरियो भन्ने कुरा छ, त्यसमा चाहिँ कसरी अघि बढ्ने भन्ने भन्ने विषयमा छलफल गरेर अनुसन्धानलाई अघि बढाउनेछौं।' महतोले अर्थसंसार सँगको कुराकानीमा भने।  

के हो गोल्डम्यान प्रकरण ?

दिपेन्द्र अग्रवालको अगुवाईमा ५ करोडको चुक्ता पुँजी भएको गोल्डम्यान इन्भेष्टमेन्ट नामको पब्लिक कम्पनी खोलिएको थियो। १० वर्षमा १० लाख रुपैयाँको लगानीलाई १० करोड बनाउने महत्वाकांक्षी स्किम सार्वजनिक गरेर सर्वसाधारणलाई फसाउने खेल भएको भन्दै गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनी र दिपेन्द्र अग्रवालको व्यापक आलोचना भएको थियो। यो विषयमा सबैतिरबाट व्यापक कुरा उठेपछि धितोपत्र बोर्डले एउटा समिति नै गठन गरेर यो विषयमा अनुसन्धान गरेको थियो। कुनै कम्पनीले सार्वजनिक रुपमा सेयर खरिदको आह्वान गर्नुअघि धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने नियम विपरित गोल्डम्यानले सार्वजनिक रुपमै कम्पनीको सेयरमा लगानी गर्न आह्वान गरेपछि धितोपत्र बोर्डले यो ठगीको केस भएको भन्दै अनुसन्धान र कारबाही अघि बढाउन सीआईबी गुहारेको थियो।  

अहिलेको बजार बुल बियर केहि होइन "crash" हो | Dipendra Agrawal 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको