राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा देखिएको राजनीतिक रिक्तता र संक्रमण समाधानका लागि तीन बुँदे तात्कालिक प्रस्ताव सार्वजनिक गरेको छ।
रास्वपाले सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जेड पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयन गर्नुपर्ने र सो उम्मेदवारलाई आफ्नो समर्थन रहने स्पष्ट गरेको छ।
संविधानको मर्म, संघीय गणतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक अधिकारप्रति कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाएको रास्वपाले प्रतिनिधिसभा निर्वाचन आगामी छ महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। यसका लागि अन्तरिम सरकारले संवैधानिक व्यवस्था कायम राख्दै नयाँ म्यान्डेटतर्फ अघि बढ्नुपर्ने उसले बताएको छ।
यसबाहेक, राष्ट्रपतिबाट प्रत्यक्ष पहल र संवादको अपेक्षा राख्दै रास्वपाले भदौ २३ को आन्दोलनमा भएको दमन, मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमा भएको आक्रमण, तथा २०४६ पछिका प्रमुख भ्रष्टाचार प्रकरणहरूको उच्चस्तरीय छानबिन गर्न स्वतन्त्र आयोग गठन तत्काल गर्नुपर्ने माग अघि सारेको छ। नयाँ सरकार गठन भएको १५ दिनभित्रै यस्तो आयोग निर्माण गर्नुपर्ने उसले स्पष्ट गरेको छ।
रास्वपाको यो तात्कालिक प्रस्ताव कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सार्वजनिक गरेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस