नेप्से परिसूचक ७४.९३ अङ्कले बढेर २०३७ को बिन्दुमा पुगेको छ। बजार उच्च अङ्कले बढ्दा कारोबार रकममा पनि उछाल आएको हो। केही दिन अघिसम्म मुस्किलले १ अर्ब कारोबार हुने बजारमा आज २ अर्ब ४५ करोडको कारोबार भयो। परिसूचक र कारोबार रकम दुबैमा उछाल आउनुले लगानीकर्ताहरुको मनोबल निकै उच्च भएको देखिन्छ।
विशेष के भयो आज ?
आज कारोबार रकममा उछाल आएको मात्र होइन, विगत केहि सातादेखि लगातार रुपमा उच्च सेलिङ्ग प्रेसर दिँदै आएका ब्रोकरहरुबाट पनि आज खरिद उच्च देखिएको छ। यसले ४/१२ को सेटलमेन्ट गर्नको लागि बेच्नै पर्ने वाध्यतामा रहेका लगानीकर्ताहरुले लोन सेटल गर्न आवश्यक सेयर बेचिसकेको हो कि भन्ने संकेत गरेको छ। त्यस्तै बजार १९०० भन्दा तल जाँदा बैंकहरुले मार्जिन कल गर्दा वाध्य भएर सेयर बेच्नु पर्ने अवस्थामा रहेका लगानीकर्ताहरुले पनि अहिले राहत महसुस गरेका छन्। बजार बढेर सेयर मूल्य बढ्दा मार्जिन मेन्टेन भएकाले अहिले बैंकहरुले मार्जिन कल पनि रोकेका छन्।
सकारात्मक माहोल बन्दै गर्दा विगत केहि सातादेखि खरिदको तुलनामा कैयौं गुणा बढी बिक्रि गर्दै आएका ब्रोकरहरु विशेषत: ब्रोकर नम्बर २८ ( श्रीकृष्ण सेक्युरिटिज) र ब्रोकर नम्बर ४ (ओपाल इन्भेस्टमेन्ट) ले समेत आज बिक्रिको तुलनामा निकै बढी रकमको सेयर खरिद गरेका छन्। ब्रोकर नम्बर २८ बाट १० करोड बराबरको सेयर खरिद गर्दा ५ करोड बराबरको सेयर बिक्रि भएको छ। त्यस्तै ब्रोकर नम्बर ४ बाट ५ करोड बराबरको खरिद हुँदा २ करोड बराबरको मात्रै बिक्रि भएको छ।
बजार ३२०० को बिन्दुबाट १८०० को बिन्दुसम्म आइपुग्दा धेरै राम्रा स्टकहरुको मूल्य पनि निकै सस्तिएको छ। यतिबेला लगानीकर्ताहरुले राम्ररी अध्ययन अनुसन्धान गरि आफ्नो जोखिम लिनसक्ने क्षमता अनुसार राम्रो वित्तिय विवरण र सुशाशन कायम रहेका कम्पनीका सेयरहरु खरिद गर्दा राम्रै हुने देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस