Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीमा ४२ गुणा आवेदन, १२ अर्ब ६३ करोड रुपैयाँ संकलन

शुक्रबार, १९ कार्तिक २०७३, १५ : ४६ मा प्रकाशित

अरुण काबेलीमा ४२ गुणा आवेदन, १२ अर्ब ६३ करोड रुपैयाँ संकलन

अर्थ संसार

काठमाडौं– अरुण काबेली पावर लिमिटेडले निस्कासन गरेको साधारण सेयरमा ४२ गुणा आवेदन परेको छ । कम्पनीले तिहारअगाडि कात्तिक १२ गतेसम्म आवेदन आह्वान गरेको थियो । तिहारको विदा परेकाले अन्तिम आवेदन संख्या अरुण काबेलीले शुक्रबार सार्बजनिक गरेको हो । 

कम्पनीका अनुसार १२ अर्ब ६३ करोड १ लाख ४९ हजार ७ सय ५० रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । त्यति शेयरका लागि १ लाख ६६ हजार १ सय १२ वटा आवेदन परेको छ । अरुण काबेलीको साधारण सेयरमा सर्बसाधारणले उत्साहजनक रुपमा आवेदन गरेको कम्पनी सचिव श्रृजना खड्काले जानकारी दिइन् । 

अरुण काबेलीले सर्वसाधारण लगानीकर्ताहरुका लागी कातिक ९ देखि ३० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो । सर्बसाधारणका लागि १ सय रुपैयाँ दरका ३० लाख कित्ता सेयर निस्कासन गरेको हो । अरुण काबेलीको सेयरका लागि मुलुकभरका ६४ संकलन केन्द्रबाट आवेदन संकलन गरिएको थियो । 

सर्बसाधारणले कम्तिमा ५० कित्तादेखि बढीमा १ हजार ५ सय कित्तासम्म सेयरमा लगानी गर्न सक्ने ब्यवस्था कम्पनीले गरेको थियो । उक्त कम्पनीको साधारण सेयरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले मुलुकभर ६४ वटा केन्द्रबाट आवेदन संकलन गरेको थियो । 

अरुण भ्याली हाईड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेडले सहायक कम्पनीका रुपमा अरुण काबेली पावर लिमिटेड स्थापना गरेको हो । अरुण भ्यालीले संखुवासभा जिल्लाको चैनपुर र मादी राम्बेनीबीच भई बहने पिलुवाखोलाको पानी उपयोग गरी ३ मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजनाको निर्माण गरेर व्यबसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ । अरुण भ्यालीले पिलुवाखोलापछि २.४ मेगावाट क्षमताको रिडिखोला आयोजनाको निर्माण गरेको छ ।

यस कम्पनीको एकल शेयर स्वामित्वमा अरुण काबेली पावर लिमिटेड  स्थापना गरि पाँचथरमा बहने काबेली नदीमा २५ मेगावाट क्षमताको जलविद्युुत परियोजना निर्माण गरिरहेको छ । अरुण भ्यालीले काबेली बि १ आयोजनाको टलरेसमा १० मेगावाट क्षमताको काबेली क्यासकेड नामक आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राप्त गरी बाह्य सल्लाहकारमार्फत संभाव्यता अध्ययन गर्ने कार्य गरिरहेको छ । आगामी वर्ष यस १० मेगावाट क्षमताको आयोजनाको पनि निर्माण सुरु हुनेछ ।

 आयोजनाको विद्युत बिक्रीबाट कम्पनीले पहिलो वर्ष ७६.२ करोड आय प्राप्त गर्ने प्रक्षेपण गरेको छ । यति आयमा पहिलो ५ वर्ष वार्षिक ३ प्रतिशतका दरले थप आय प्राप्त हुने कम्पनीको दावी छ । यस आयबाट परियोजना निर्माणका लागि लिएको बैंक ऋणको सावाँ तथा तथा व्याज भुक्तान गरी बचेको रकमबाट शेयरधनीहरुलाई नगद लाभांश उपलव्ध गराइने कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको