आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो।
प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ। विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।
मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन्। उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस