पछिल्लो दशक उच्च आर्थिक वृद्धि गर्न सफल दक्षिण एसियाली मुलुक हो, बंगलादेश। कोभिड १९ को महामारी अघि अन्तराष्ट्रिय मुद्रा कोषले गरेको प्रोजेक्सनमा सन् २०२१ मा भारतको भन्दा पनि बंगलादेशको आर्थिक वृद्धि बढी हुने उल्लेख गरिएको थियो। पछिल्ला वर्षहरुमा बंगलादेशको कुल ग्राहस्थ उत्पादनमा निकै राम्रो वृद्धि भएको देख्न सकिन्छ। तर आर्थिक वर्ष २०२१/०२२ सम्म आईपुग्दा बंगलादेशको अर्थतन्त्रमा पनि समस्या देखिएको छ। मुद्रास्फीति बढेको छ भने वैदेशिक व्यापार घाटा पनि चुलिएको छ। सन् २०२२ मा मुद्रास्फीति ५.९९ प्रतिशत पुगेको थियो। आ. व. २०२१/२२ को मौद्रिक नीतिमार्फत बंगलादेशको केन्द्रिय बैंकले मुद्रास्फीति ५.३०% मात्रै हुने प्रोजेक्सन गरेको थियो। विशेषगरी रुस तथा युक्रेनबीच चलिरेहको युद्ध र सो युद्धका कारण बिग्रिएको सप्लाई चेनका कारण विश्वभरी नै बस्तु तथा सेवाहरुको मूल्य बढेको छ। यस्तो अवस्थामा बंगलादेशमा पनि मुद्रास्फीति बढ्ने अनुमान त्यहाँको केन्द्रिय बैंकले गरेको छ। वैदेशिक रोजगारीमा गएका बंगाली नागरिकहरुले पठाउने रेमिट्यान्स पनि घटेको छ। शोधनान्तर घाटा बढेर ३.७ बिलियन अमेरिकी डलर पुगिसकेको छ। बैदेशिक मुद्राको संचिति घट्दो छ।
यता नेपालको अर्थतन्त्रको अवस्था पनि निकै कमजोर बनेको छ। व्यापार घाटा स्वात्तै बढेको छ भने मूल्यवृद्धिले शिखर चुमेको छ। वैदेशिक मुद्राको संचिति पनि घट्दो अवस्थामा छ। पछिल्ल्लो समय रेमिट्यान्स थोरै बढे पनि समग्रमा अर्थतन्त्रको अवस्था विश्लेषण गर्दा नेपालको अर्थतन्त्र त्यति राम्रो अवस्थामा छैन।
यहि पृष्ठभुमिमा बंगलादेशले करिब १ महिनाअघि मौद्रिक नीति सार्वजनिक गरिसकेको छ भने नेपाल मौद्रिक नीतिको पूर्वसन्ध्यामा छ। राष्ट्र बैंकले मौद्रिक नीति ड्राफ्ट गर्दै गर्दा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बारम्बार कसिलो मौद्रिक नीति आउने अभिव्यक्ति दिईरहेका छन्। गभर्नरको यस्तो अभिव्यक्ति आउंदै गर्दा पुँजीबजारका लगानीकर्ताहरुमा निकै ठूलो द्विविधा उत्पन्न भएको छ। यसअघि अर्थतन्त्रको अवस्था राम्रै हुँदा पनि सेयर बजारलाई कडाई गरेको राष्ट्र बैंकले अब अहिलेको जटिल परिस्थितिमा के गर्ला भन्ने चासो हुनु स्वाभाविक पनि हो। यो सन्दर्भमा अर्थतन्त्रमा समस्या आउँदा आउँदै पनि बंगलादेशले कसरी सेयर बजारलाई सम्बोधन गर्यो र त्यसबाट नेपालले के सिक्ने भन्ने कुरालाई यो आलेखमा प्रस्तुत गर्न खोजेका हौँ।
सन् २०११ देखि नै बंगलादेशको सेयर बजार ओरालो लागेको थियो। सन् २०१३ बाट बजार अलिअलि बढ्न थाल्यो। सन् २०१७ को नोभेम्बरमा ढाका स्टक एक्सचेन्ज ६३१७ को बिन्दुसम्म पुग्यो। त्यसपछि अलिकति करेक्सन आएर बजार बढ्ने क्रममा रहँदै गर्दा कोभिड १९ को लहर सुरु भयो। कोभिड १९ महामारीको सुरुवातमा मर्ने हो कि बाँच्ने हो भन्ने किसिमको परिस्थिति हुँदै गर्दा विश्वभरिकै सेयर बजारहरु घटेका थिए। त्यो बेला बंगलादेशको बजार पनि घटेर ३६०० को बिन्दुमा आइपुग्यो। त्यसपछि विश्वका अन्य मार्केट जस्तै बंगलादेशको बजार पनि व्ह्वात्तै बढेर ७३६० सम्म पुग्यो। त्यसपछि बजार घट्दो ट्रेन्डमा गयो र यो आलेख तयार गर्दासम्म बंगलादेशको बजार ६३२४ को बिन्दुमा छ।
यो क्रममा १० महिनादेखि डाउन ट्रेन्डमा रहेको बंगलादेशको सेयर बजार उच्चतम बिन्दु ७३६० बाट जम्मा १४% ले घटेको छ। यता नेपालको सेयर बजार भने ४०% भन्दा धेरैले घटिसकेको छ। बंगलादेशी सरकार सेयर बजारप्रति निकै संवेदनशिल छ। सेयर बजार घट्न थाल्ने बित्तिकै त्यहाँको सरकारले लगानीकर्ताहरुको मनोबल उकास्ने योजना लिएर आईहाल्छ। यता नेपालमा भने ठिक उल्टो छ। नेपालको सरकार र नियामक निकायहरु सेयर बजारप्रति निकै अनुदार रहेको पाइन्छ।
लगानीकर्ताहरुको मनोबल बढाउन बंगलादेशले के गर्यो ?
ढाका स्टक एक्सचेन्ज ७३६० बाट घटेर ६१०० तिर आईसकेपछि बंगलादेशी धितोपत्र बजारको नियामक बंगलादेशी धितोपत्र बोर्डले मार्जिन लोनको सिमा ८०% बाट बढाएर १००% बनाईदियो। अहिले बंगलादेशमा १०० रुपैयाँ बराबरको सेयर खरिद गर्ने लगानीकर्ताले ब्रोकरबाट १०० रुपैंया नै ऋण लिएर सेयर खरिद गर्न पाउँछन। त्यस्तै बजार निकै घट्न थालिसकेपछी एक कारोबार दिनमा २% भन्दा बढी बजार घट्न नमिल्ने सिस्टम लागू गरियो। यसले पनि बजारलाई थप घट्न दिएन।
१) बंगलादेशको धितोपत्र बोर्डले अमेरिका, युके, स्विजरल्याण्ड तथा युनाईटेड अरब इमिरेट्सका लगानीकर्ताहरुलाई बंगलादेशको सेयर बजारमा लगानीको लागि आकर्षित गर्नको लागि रोड शोहरु गर्यो।
२) मार्जिन लोनको सिमालाई ८०% बाट बढाएर १००% बनायो।
३) लोअर सर्किट ब्रेकरको सीमालाई घटाएर २% मा झारियो।
४) बंगलादेश लगानी बोर्डले सेयर बजारको स्थायित्वको लागि १ खर्ब रकम 'पुंजीबजार स्थायित्व कोष' मा राखेको छ, जुन कोषलाई सेयर बजार निकै तल झर्दा खरिदको लागि प्रयोग गरिन्छ।
५) सरकारले विश्वव्यापी पेन्सन योजना लिएर आएको छ र यस अन्तर्गत विश्वभरिका व्यक्तिहरुले बंगलादेशको सेयर बजारमा लगानी गर्नेछन र सेयरको माग बढ्नेछ।
६) बंगलादेशको केन्द्रिय बैंकले केहि समयअघि सार्वजनिक गरेको मौद्रिक नीतिमा पुँजीबजारमा स्थायित्व होस्, सेयर बजार प्रति लगानीकर्ताहरुको आकर्षण बढ्दै जाओस र बजार बढोस भन्ने चाहना सरकार र केन्द्रिय बैंकको रहेको उल्लेख गरिएको छ।
बंगलादेशको धितोपत्र बोर्ड, केन्द्रिय बैंक र सरकारले सेयर बजारलाई थप घट्न नदिने योजना ल्याएसंगै त्यहाँ तरलताको अवस्था पनि सुध्रिएर गएको छ। नेपालमा सेयर बजार बढ्यो भने तरलतामा चाप पर्छ भन्ने बुझाई राष्ट्र बैंकको रहेको देखिएको छ। पुँजी बजारको अवस्था सुद्रिढ भयो भने त्यसले देशको अर्थतन्त्रमा निकै राम्रो प्रभाव पार्छ भन्ने कुरा राम्ररी बुझेको बंगलादेशको सरकार सेयर बजारलाई प्यानिक बन्न दिनुहुँदैन भन्ने कुरामा निकै सचेत रहेको देखिन्छ। यता नेपालको सरकार र नियामकहरुको रवैया हेर्ने हो भने सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो भनेर स्वीकार गर्न समेत कठिन परिरहेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस