Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको विशेष साधारण सभाः यसरी बनाईँदैछ प्रोमोटरलाई बजारमा खेल्न थप सहज !

बसन्त पाण्डे

विहीबार, ०९ भदौ २०७९, १७ : १३ मा प्रकाशित

शिवम सिमेन्टका प्रोमोटरहरुले गरेको इन्साइडर ट्रेडिङ्ग र कम्पनीको नाफा उच्च रुपमा घटेको देखाउन ब्यालेन्स शिटमा गरिएको म्यानुपुलेसनको विषयलाई लिएर केहि समयअघि अर्थसंसारले खबरदारी गरेको थियो। कम्पनीको नाफा गत वर्षको तुलनामा ५१% भन्दा धेरैले र प्रति सेयर आम्दानी ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झार्ने योजना बनाई सुनियोजित रुपमा 'अन्य खर्च' शिर्षकमा गत वर्षको तुलनामा ३७ करोडभन्दा धेरै र 'उर्जा तथा विधुत' शिर्षकमा ३४ करोडले खर्च बढेको शंकास्पद विवरण पेश गरिएको तथ्यलाई केहि समय अघि हामीले प्रस्तुत गरेका थियौं।  

४० लाख कित्ताभन्दा धेरै सेयर ८०० रुपैयाँ भन्दा माथि माथि नै फाल्न सफल भएका प्रोमोटरहरुले निकै कमजोर रिपोर्ट प्रस्तुत गरिसकेपछि उच्च सेलिङ्ग प्रेसर आई सेयरमूल्य थप घट्ने आंकलन गरेका थिए। बजारमा प्रोमोटरहरु सेयर बेचेर भागिरहेको भन्ने हल्ला चलेका कारण सेयरमूल्यमा थप दवाव पर्नसक्ने र बरु घटेको मूल्यमा सेयर उठाएर माथि लैजान सकियो भने दोश्रो बजारबाट पनि नाफा लिन सकिने र बाँकी रहेको प्रोमोटर समूहको सेयर पनि बिक्रि गर्ने वातावरण तयार हुने उनीहरुको विश्लेषण रहेको देखिएको छ। रु. ६५४ सम्म झरेको शिवमको सेयर बिस्तारै एकुमुलेसन हुँदै अहिले ७०० माथि पुग्नुले पनि यो आशंका यथार्थमा परिणत हुने आधार बन्दै गएको देखिन्छ। 

बजारमा खेल्न सहज बनाउने उद्धेश्यले बोलाईयो 'विशेष साधारण सभा'

शिवम सिमेन्टले यहि १० गते विशेष साधारण सभा बोलाएको छ। साउन २३ गते बसेको संचालक समितिको बैठकले अनामनगरस्थित आफ्नै कर्पोरेट कार्यालयमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्यण गरेको हो। सो साधारणसभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने प्रस्ताब पेश हुँदैछ। कम्पनीको नियमावलीको नियम नम्बर २३ मा रहेको गणपुरक संख्या कूल सेयर संख्याको ६७% हुनुपर्ने नियमलाई ५१% कायम हुने गरी नयाँ नियम बनाउने प्रस्ताब सो विशेष साधारणसभामा पेश हुनेछ। हेर्दा सामान्य देखिएपनि यो नियमको विशेष रणनीतिक महत्व रहेको छ। कम्पनीको कूल ४ करोड ४० लाख कित्ता सेयरमध्ये ३ करोड ८५ लाख कित्ता प्रोमोटर र बाँकी ५५ लाख कित्ता साधारण सेयर रहेको थियो।

गत फाल्गुन २२ गते प्रोमोटर तर्फको सेयरको लक इन् पिरियड खुलेपछि सो ३ करोड ८५ लाख कित्ता सेयर पनि बिक्रीयोग्य भएको थियो। शिवमको प्रोमोटर सेयरको लक इन पिरियड खुलेपछि उच्च सेलिङ्ग प्रेसर आई शिवमको सेयर मूल्य उच्च रुपमा घटिसकेको छ। लक इन पिरियड खुलेपछि निकै ठूलो भोलुममा सेयर बिक्रि गरिसकेका प्रोमोटरहरुले गणपुरण  संख्यालाई ६७% बाट ५१% मा झर्ने नियम बनाएर थप १६% अर्थात ७० लाख ४० हजार कित्ता सेयर बिक्रि गर्दा पनि कम्पनीमा प्रोमोटरहरुकै हालीमुहाली रहने बनाउन खोजेका हुन्।  

प्रोमोटरहरु थप सेयर बिक्रि गर्ने योजनामा छन् र उनीहरु कम्पनीमाथिको बर्चस्व आफ्नो हातबाट नगुमोस भन्ने पनि चाहन्छन। त्यसैले कुनै निर्णय गर्न ६७% सेयरधनीको सहमति आवश्यक पर्ने नियमलाई संसोधन गरेर ५१% मा झरिंदैछ। यसले थप ७० लाख कित्ता सेयर बिक्रि गर्दा पनि कम्पनीका महत्वपूर्ण निर्णयहरु लिन प्रोमोटरहरुकै बिचमा मात्रै सहमति भए पुग्ने र साधारण सेयरधनीहरुको कम्पनीमा कुनै महत्वपूर्ण स्थान नहुने वातावरण बनाउनेछ।  

शिवम सिमेन्टका प्रोमोटरहरुले ठूलो कित्ता सेयर बेचेर पैसा बजार बाहिर लगेसंगै बजारमा कारोबार रकम समेत ड्राइ हुँदै गएको छ। शिवमको सेयर माथिल्लो मूल्यमा किनेर बसेका सेयरधनीहरु त यो प्रकरणसँगै प्रताडित बनेका छन् नै, सिँगो सेयर बजार नै शिवम प्रकरणबाट प्रभावित भएको छ।  

रियल सेक्टरका कम्पनीहरुको छुट्टै नियामक निकाय नहुँदा र रियल सेक्टरका कम्पनीहरुको प्रोमोटर सेयरको लक इन् पिरियड खुलिसकेपछि एक निश्चित अवधिमा निश्चित कित्ता मात्रै बिक्रि गर्न पाउने नियम नहुँदा लक इन पिरियड खुलेपछि उच्च सेलिङ्ग प्रेसर आउने र बजार मूल्यमा ठूलो प्रेसर पर्ने गरेको छ। अझ शिवम सिमेन्टको जस्तो प्रोमोटरहरुले नै गलत नियत राखेर माथिल्लो मूल्यमा आफ्नो सेयर बेचिसकेपछि जालझेल गरेर खराब प्रदर्शन गरेको वित्तिय विवरण प्रस्तुत गर्ने अनि तल्लो मूल्यमा फेरी किनेर मूल्य माथि पुर्याइ दोश्रो बजारबाट पनि फाइदा लिने र थप प्रोमोटर सेयर पनि बेच्ने प्रवित्ती देखियो भने त्यो समग्र पूँजी बजारकै लागि निकै घातक हुनेछ। भर्खरै रियल सेक्टरका कम्पनीहरु धितोपत्र बजारमा आउन लागेको अवस्थामा यो प्रकरणले रियल सेक्टरका कम्पनीहरुमाथि लगानीकर्ताहरुको विश्वाश डगमगाउने देखिएको छ। यतातर्फ धितोपत्र बोर्डले समयमै ध्यान पुर्याउनुपर्ने देखिन्छ। त्यस्तै लगानीकर्ताहरुले पनि यस्तो घातक प्रवित्ती विरुद्ध सशक्त आवाज उठाउनु आवश्यक देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको