Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम भार बढेपछि लगानी घटाउँदै बैंक

पत्रपत्रिका

शुक्रबार, १७ भदौ २०७९, ०७ : ०४ मा प्रकाशित

जोखिम भार बढेपछि लगानी घटाउँदै बैंक

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गर्न जोेखिम भार बढाएपछि बैंकहरूले ती क्षेत्रमा कर्जा घटाउन थालेका छन् । जोखिम भार वृद्धिका कारण बैंकहरूलाई पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) मा दबाब परेपछि त्यस्ता क्षेत्रमा बैंकहरूको कर्जा घटेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै ट्रस्ट रिसिप्टलगायत आयात कर्जा, व्यक्तिगत ओभरड्राफ्ट, रियल इस्टेट, व्यक्तिगत हायर पर्चेज तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भार पुनरवलोकन गर्ने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार फागुनमा निर्देशन जारी गरी व्यक्तिगत ओभरड्राफ्ट र सवारीसाधन खरीद कर्जाका साथै रियल इस्टेट र शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत र ट्रस्ट रिसिप्ट (टीआर) कर्जाको भने जोखिम भार १२० प्रतिशत पुर्‍याएको छ । यो जोखिम भार असारबाट लागू भएको छ ।

यसैगरी केन्द्रीय बैंकले चालू आवको साउनदेखि जोखिम भार बढाएकै क्षेत्रका लागि धितोमा समेत कडाइ गरेको छ । साउन १८ मा जारी भएको निर्देशनमा प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयर कर्जा प्रदान वा नवीकरण गर्दा घरजग्गाको बजारमूल्यमा काठमाडौं उपत्यकाभित्र ३० र उपत्यबाहिर ४० प्रतिशत दिन पाइने व्यवस्था गरेको छ । उक्त निर्देशनमा २५ लाखसम्मको शेयर कर्जाको जोखिम भार घटाएर सय प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकको नीतिसँगै व्यक्तिगत ओभरड्राफ्ट, सवारीसाधन खरीद, शेयर धितो, आयातलगायत क्षेत्रमा प्रवाह हुने कर्जा घट्न थालेको हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी आयातका लागि प्रयोग हुने ट्रस्ट रिसिप्ट कर्जामा भारी गिरावट देखिएको छ । अघिल्लो आवमा ४८ दशमलव ७ प्रतिशतले वृद्धि भएको यो कर्जा गत आवमा ६१ दशमलव ९ प्रतिशतले घटेको छ । जोखिम भार वृद्धिका अतिरिक्त राष्ट्र बैंकले केही सामानको आयातमा नगद मार्जिनको प्रावधान लागू गर्नुका साथै सरकारले विलासी सामानको आयातमै रोक लगाएको थियो । यसैगरी राष्ट्र बैंकले सुनको आयात कोटा पनि आधा कटौती गरेको छ । यस्तै जोखिम भार वृद्धि भएको व्यक्तिगत ओभरड्राफ्ट ५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही शीर्षकको कर्जा ६४ प्रतिशतले बढेको थियो ।

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको