Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै लगानीकर्ता नयन बास्तोलाः के छन् चुनावी ऐजेन्डा ?

नयन्द्र बास्तोला (नयन)

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, ११ : १६ मा प्रकाशित

भक्तपुर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै लगानीकर्ता नयन बास्तोलाः के छन् चुनावी ऐजेन्डा ?

नेपालको सेयर बजारका सक्रिय लगानीकर्ता एबं लगानीकर्ताका नेता नयन्द्र बास्तोला (नयन)ले मंशिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुरको क्षेत्र नं.१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । 

नेपालको पूँजी बजारको विकास र विस्तारको अभियानमा लामो समयदेखि सक्रिय बास्तोलाले आफ्ना विभिन्न चुनावी ऐजेन्डाहरु समेत सार्वजनिक गरेका छन् । उनले स्वतन्त्र चुनाव चिन्ह् लौरोबाट चुनाव लड्ने घोषणा गरेका हुुन् । 

उनले यस क्षेत्रको ब्यवसायी र पूँजी बजारको लगानीकर्ता पनि भएकाले मैले पूँजी बजारको बिकास, बिस्तार र लगानीकर्ताको हित संरक्षणको कुरालाई विशेष जोडका साथ संसदमा उठाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

यस्ता छन् उनका चुनावी ऐजेन्डाहरुः

आसन्न संसदीय चुनावमा मैले भक्तपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने निर्णय गरेको छु । मेरो स्वतन्त्र उम्मेदवारीको चुनाव चिन्ह लौरो हुनेछ र यही चिन्हमा भक्तपुरका मतदाताहरुले आफ्नो प्रतिनिधिको रुपमा मलाई चुनेर सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने विस्वास लिएको छु । 

मैले किन यही भक्तपुर क्षेत्र नम्बर १ रोजें भन्दाखेरि मेरो स्थायी बासस्थान नै यही ठाउँको चाँगुनाराणमा छ । म टुरिष्ट उम्मेदवार हैन, यो क्षेत्रमा मैले प्रतिनिधि बनेर जनसेवा गर्ने हक लाग्छ । मैले यस क्षेत्रका जनताको समस्या बुझेको छु र समाधान दिनसक्छु । 

दोस्रो कुरा, भक्तपुर नेवारी संस्कृतिको राजधानी हो , यहाँको नेवारी भाषा, कला, संस्कृति र रहनसहन अमूल्य निधि हो । यसलाई संरक्षण गर्नुपर्छ र त्यसका लागि मैले योगदान गर्नुपर्छ भन्ने भित्रैदेखि मनन् गरेर आफुलाई उभ्याएको हुँ । पुरानो नाम भादगाउँबाट परिचित भक्तपुरवासीको नेवारी भाषा उपत्यकाका अरु भागका नेवारहरुको भन्दा मौलिक छ, नेवारहरुले संरक्षण गरेको कला र संस्कृति अतुलनीय छ । यहाँका मन्दिर, दरबार, पोखरी, ढुंगेधारा जस्ता सम्पतिहरुको संरक्षण र सम्बद्र्धनमा सरकारको पर्याप्त ध्यान पुग्न सकेको छैन । भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण क्षेत्र जस्ता ऐतिहासिक क्षेत्रहरु छन्, जसलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्नेछ । सदियौंदेखि चलिआएका यहाँका मौलिक जात्राहरु हाम्रा अमूल्य निधि हुन्,, यिनीहरुलाई संरक्षण गर्नुपर्ने आबश्यकता छ । त्यस्तै गुठीहरुको संरक्षणको आबश्यकता पनि छ । त्यसका लागि मैले भुमिका खेल्नुपर्छ भन्ने ठानेको छु । भक्तपुरमा सांस्कृतिक अतिक्रमण रोक्न मैले सांसद भएर भुमिका खेल्नु आबश्यक देखेको छु । 

तेस्रो कुरा, भक्तपुरमा पर्यटन प्रबर्दनको प्रचुर संभावना छ । भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, नगरकोट जस्ता क्षेत्रहरुमा पर्यटन प्रबद्र्धन र ब्यवसायीहरुको हितका लागि पर्याप्त ध्यान सरकारले दिन सकेको छैन । भक्तपुरलाई आन्तरिक तथा विदेशी पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र बनाई यहाँका जनतालाई धनी बनाउन सकिने राम्रो संभावना मैले देखेको छु । यसका लागि पनि मैले धेरै काम गर्नुपर्छ । यहाँका केही क्षेत्रमा होम स्टेहरु संचालन गरी नेवारी संस्कृति झल्किने घरमा पाहुनाको सत्कार गर्ने र विशुद्ध नेवारी खानाको स्वाद पस्कने ब्यवस्था मिलाउनुपर्छ । 

चौथो कुरा, भक्तपुर खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्नसक्छ । तर यहाँको जग्गाजमीनमा खाद्यान्न र तरकारी खेती हैन, घडेरी खेती भईरहेको छ । जग्गाको तीब्र खण्किरणले भक्तपुरको मौलिकता हराउँदै गएको छ ।  जमीनलाई घडेरी खेतीमा हैन, मानव स्वास्थ्यलाई हानी नगर्ने किसिमले कम बिषादी प्रयोग गरिएका खाद्यान्न र तरकारी उत्पादन गरी भक्तपुरलाई खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउने र काठमाडौ लगायतका ठाउँलाई स्वस्थ तरकारी र खाद्यान्न बेचेर यहाँका किसान धनी हुनसक्छन् । मैले भक्तपुरका आदरणीय किसान दाजुभाई दिदीबहिनीहरुलाई आधुनिक कृषि प्रविधि, उन्नत बिऊ र अर्गानिक तथा जैविक मल खाद उपलब्ध गराएर सहजीकरण गर्नेछु । यसका लागि पनि मेरो उम्मेदवारी हो । 

पाँचौ कुरा, भक्तपुरको बास्तुकला, मुर्ति कला र सेरामिक उद्योगलाई प्रबद्र्धन गरेर यस क्षेत्रमा लागिरहेकाहरुलाई प्रोत्साहित गर्नुपरेको छ । उहाँहरुको समस्यालाई मैले बुझेको छु र सांसद जितेपछि मैले ईमानदारिपुर्वक काम गर्नेछु । 

छैटौं कुरा, भक्तपुरलाई ब्यवसायिक र शीपमा आधारित शिक्षाको हवको रुपमा बिकास गरेर लैजान सकिने संभावना छ र त्यससम्बन्धी पुर्वाधारहरु केही बनेका पनि छन् । शिक्षालाई शीप र आयआर्जनसँग जोडेर मेरो निर्वाचन क्षेत्रका युवाहरुको बेरोजगारी अन्त्यका लागि भुमिका खेल्नेछु । गुणस्तरीय स्वास्थ्य सुविधा यहाँका जनतालाई जिल्ला भित्रै उपलब्ध गराएर र मेडिकल शिक्षाका अवसरहरु सिर्जना गरेर मैले यस क्षेत्रको बिकासका लागि पहलकदमी लिनेछु । 

सातौ कुरा, मेरो निर्वाचन क्षेत्रका कयौं ठाउँमा शुद्ध पिउने पानीको चर्को समस्या छ । मैले हरेक घरमा पिउने पानी  उपलब्ध गराउने भुमिका खेल्नेछु । 

आठौ कुरा, म यस क्षेत्रको ब्यवसायी र पूँजी बजारको लगानीकर्ता पनि भएकाले मैले पूँजी बजारको बिकास, बिस्तार र लगानीकर्ताको हित संरक्षणको कुरालाई विशेष जोडका साथ संसदमा उठाउने छु । अहिले कतिपय सांसदहरुले पूँजी बजारको बारेमा भ्रमपूर्ण र गलत कुरा गरेर लगानीकर्तालाई आतंकित र आक्रोशित बनाईरहेको देखिन्छ । म संसदमा पुगें भने त्यस्ता गलत प्रचारबाजीको प्रतिबाद गरी पूँजी बजारमैत्री नीति, नियम तत्काल बनाउन दबाबकारी भुमिका खेल्नेछु । पूँजी बजारको बिकास र बिस्तारका लागि सरकारले चार पाँच बर्ष अगाडि नै गरिसक्नुपर्ने कामहरु अहिलेसम्म नगर्दा लगानीकर्ताहरुमा गंभीर नकारात्मक असर परेको छ र यस क्षेत्रको बिकास तथा बिस्तार अबरुद्ध भएको छ । सरकारलाइृ ती कामहरु तत्काल गराउँन दबाब दिनेछु । निजी ब्यवसायको सुरक्षा र प्रबद्र्धन गरी देशको अर्थतन्त्रमा निजी क्षेत्रको भुमिकालाई प्रभावकारी बनाउने प्रयास मबाट हुनेछ । 

नवौं कुरा, अब विचारले बुढा भएका नेताहरुलाई सांसद तथा मन्त्रीबाट विदाई गर्नुपर्छ । उहाँहरुले अब देश विकास गर्नसक्नुहुन्न, अब युवा शक्तिले देश हाक्नुपर्छ र विचार बुढा भएकाहरुले आराम गर्नुपर्छ भन्ने हो । त्यसैले हामी युवाहरु अब नीति निर्माण तहमा पुग्नुपर्छ भनेर मैले लौरो चिन्हबाट चुनावमा उठ्ने गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ । कुनै राजनीतिक पार्टीहरुसँग मेरो दुस्मनी छैन तर ती पार्टीहरुले पनि अब बाहरुलाई विदा गरेर नयाँ सोच र ईच्छाशक्ति भएका युवाहरुलाई नेतृत्वमा ल्याउनुपर्छ भन्नेमा मेरो जोड छ । हामी युवाहरुबीचमै मित्रवत प्रतिस्पर्धा होस् भन्ने चाहन्छौं । 

दशौं कुरा, जनता कुनै पनि राजनीतिक दल र नेताका रैति हैनन्, जसले सधैं एउटै पार्टी र ब्यक्तिलाई जिताईरहन्छन् । यसपल्ट भक्तपुरका जनता चुनावी विद्रोहमा उत्रिने छन् र युवालाई सांसदमा चुनेर देशब्यापी रुपमा परिवर्तनको संदेश प्रबाह गर्नेछन् । मलाई यो कुरामा बिस्वास छ कि जनताले परिवर्तन खोजेका छन्, परिवर्तन हुन्छ, हुन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको