राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषदले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभाबी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।
परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिए । “चार दिनदेखि विभिन्न इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा ठमेलभित्रको विद्युतका खम्बामा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काट्न सुरु गरेका हौँ”, उनले भने ।
ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनको भनाइ छ । परिषदले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।
नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत व्यक्ति ठमेल घुम्न आउने गरेका छन् । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ । ठमेल पर्यटन परिषदभित्र दुई हजार दुई सय व्यवसायी तथा घरधनी आवद्ध रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस