Like us!
Follow us!
Connect us!
Watch us!

बाँचे संसार जितिन्छ

निशा हुमाँगाई

सोमबार, ०४ पुस २०७९, १६ : २४ मा प्रकाशित

बाँचे संसार जितिन्छ

बिहान उठ्ने बितिक्कै पत्रपत्रिका पल्टायो दिनहुँ जसो कुनै न कुनै पानामा आत्महत्याका खबर लेखिएको देख्छु, यसो फुर्सद हुँदा फेसबूक खोलेर न्युज फिड स्क्रोल गर्यो त्यहाँ पनि पोष्टहरू देखिन्छ “विवाहको ५ महिना नपुग्दै एक महिलाले गरिन् आत्महत्या, १६ वर्षिय किशोरीले गरिन् झुण्डिएर आत्महत्या, परिक्षामा अनेपेक्षित नतिजा आँउदा आत्महत्या, प्रेम वियोगमा आत्महत्या......आदि” । आजकाल जताततै हत्या र आत्महत्याको खबरले जिउ सिरिङ्ग हुन्छ अनि सोच्न बाध्य बनाउँछ ।

पछिल्लाे परिवेशमा हेर्ने हो भने कतिपय अपत्यारिला मानिसहरुले समेत आत्महत्याको बाटो रोजेको देखिन्छ  । पछिल्लो समय हाम्रो समाजमा कुनै पनि समस्याको समाधानका रुपमा आत्महत्यालाई अंगिकार गरिरहेको पाइन्छ । के साँच्चिकै हरेक समस्याको समाधान आत्महत्या नै हो त ? आत्महत्या वास्तवमा कुनै पनि समस्याको समाधान नभई यो आफैमा ठूलो समस्या हो । यो समस्या केबल व्यक्ति, परिवार, समाज र राष्ट्रको नभई यो त अन्तराष्ट्रिय समुदायका लागि समस्या हो । यो समस्या समाधानका लागि समग्र अन्तराष्ट्रिय समुदाय नै एकिकृत हुनु जरुरी छ ।

सामान्य भाषामा बुझ्नु पर्दा कुनै पनि व्यक्तिले आफ्नो जीवन आफैँले समाप्त गर्ने वा आफ्नो हत्या आफैँले गर्ने कार्यलाई नै आत्महत्या भनिन्छ । आत्महत्या कतिपय मानिसहरुले योजनावद्ध रुपमा पनि गर्छन् भने कतिपयले क्षणिक आवेगमा ।

आत्महत्या  विकल्प हैन अनि न त कुनै समस्याको समाधान नै । तर पनि आजकाल हरेक दिन आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

क्षणिकको निर्णयले आत्महत्या रोज्दा ज्यान गुमाउने व्यक्तिलाई जीवनबाट उन्मुक्ति मिल्ला तर उसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिहरूको जीवनमा कस्तो प्रभाव पर्ला भन्ने कुरा त्यो व्यक्तिले कल्पना समेत गर्न सक्दैन ।

एउटा कुनै व्यक्तिले आत्महत्या गर्दा उसलाई जन्मदिने बाबु आमाका लागि आड भरोसा, देखिएका सपना, नदेखिएका चाहाना सबै टुट्छ, तपाईँलाई प्रेरणाको श्रोत मान्नेहरूका लागि प्रेरणा मर्दछ, तपाईँको खुसीमा खुसी हुनेहरूको खुसी रितिन्छ । अनि तपाईँका लागि भनी आफ्ना खुसी तिलाञ्जली दिनेहरूको त्याग र समर्पण गलत सावित भइदिन्छ । आत्महत्या गर्ने हरेक व्यक्तिले के बुझ्नु जरूरी छ भने हामीले आफ्नो पिडाबाट उन्मुक्ति पाउन आत्महत्याको बाटो रोज्दा धेरै मानिसलाई जीवनभर भुल्न नसक्ने पिडा दिएका हुन्छौँ ।

तर यसो भनिरहँदा हामीले यो पनि बिर्सिनु हुन्न की एउटा कुनै व्यक्तिले आफ्नो अमूल्य जीवन किन खेर फालिरहेको छ ? सायद हामीले नै उसका भावनाहरू बुझ्न नसकेर पो होकी ? देशले एक्काइसौँ शताब्दीमा काँचुली फेरिसकेको छ । तर पनि नारीहरूले असुरक्षाको आतङ्कमा बाँच्नुपर्ने बाध्यता भने समाजबाट हट्न सकेको छैन । अझै पनि नारीहरू दर्जनौँ हिंसाबाट प्रताडित छन् । उनीहरूले तह तहमा हुने अनेकौँ हिंसाका भार बोक्न नसकेर आत्महत्या रोजेका अनगिन्ती उदाहरण देखिरहेका हुन्छौँ दिनहुँ जसो हामीले ।

आत्महत्याको कुरा गरिरहँदा नारीलाई मात्र समेट्नु न्याय हुँदैन । किनकी यहाँ नारीले मात्रै हैन, किशोर, किशोरी, पुरूष, वृद्धवृद्धा सबै उमेर समूहका मानिसहरुले आफ्नो क्षणिक तनाव निर्मुल गर्न वा समस्या समाधानका लागि आत्महत्या जस्तो जघन्य बाटो रोज्ने गरेका छन् । जसले आफुसंग जोडिएकाहरुलाई जीवनभर तनाव दिन्छ ।

आधुनिक युगको विकाससँगै मानिसको जिवनशैलीमा आएको परिवर्तनले समेत अहिले आत्महत्यामा केहि वृद्धि भइरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । 

यो प्रविधिको युग हो । प्रविधिले धेरै हदसम्म हरेक कुरामा हामीलाई सहज बनाइदिएको छ । तर यही प्रविधिले नै कता कता हामीलाई टाढा पनि आफ्नाहरूबाट बनाउँदै लगिरहेको छ । हामी आजभोलि आफ्ना भावनाहरु आफन्त साथिहरुसंग भन्दा बढी सामाजिक सञ्जालहरुमा साटिरहेका हुन्छौँ ।

सामाजिक सञ्जालले केहि हदसम्म अहिले मानिसहरुकाबीचमा हुने विश्वासलाई घटाइदिएको छ । आजकाल हामी सहजै कसैलाई विश्वास गर्न सक्दैनौँ अनि मनका कुरा खुलेर गर्न सक्दैनौँ । किनकी कुन बेला हाम्रो विश्वासघात हुन्छ हामीलाई थाहै हुँदैन  । आफ्ना मनमा उब्जिएका अनेकौँ भावनाहरू खुलेर प्रस्तुत गर्न नसक्दा मानसिक रूपमा हामीलाई गार्ह्रो हुन्छ । अनि मानसिक तनावकै कारण हामी आत्महत्या जस्ता विकल्प रोज्ने गर्छौँ ।

हामी शारिरिक स्वास्थ्यको बारेमा त चिन्तित हुने गर्दछौँ अनि ध्यान दिने गर्दछौँ । तर मानसिक स्वास्थ्यलाई भने प्राय जसो हामी कसैले प्राथमिकतामा राख्दैनौँ । कुनै पनि व्यक्ति स्वस्थ रहन शारिरिक स्वास्थ्य मात्रै नभएर मानसिक स्वास्थ्य पनि स्वस्थ हुनुपर्दछ । त्यसैले आफ्नो मानसिक स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राखौँ । मानिसको शारिरिक असक्तता त सबैले देख्छन् तर मानसिक असक्तता कसैले सजिलै देख्न अनि महसुस गर्न सक्दैनन् जुन कुरामा परिवार अनि सरकारले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

कहिलेकाहीँ हामीलाई बरू मर्न पाए पनि हुन्थ्यो भन्ने सोच आउँछ । कहिले काँही मात्र मनमा यस्तो सोच आउनु धेरै अस्वाभाविक पनि होइन । तर त्यही सोच बारम्बार लामो समयसम्म आइरह्यो भनेचाहिँ त्यो समस्या बनिदिन्छ । त्यसैले यसलाई बुझ्नु आवश्यक छ । हाम्रा नजिकका व्यक्तिहरूले हामीसँग यस्तो कुरा गर्न खोज्दा हामी सहजै टारिदिन्छौँ । तर त्यस व्यक्तिको भावना बुझ्ने प्रयास गरौँ । उसका कुराहरू सुनिदिने गरौँ । इमोसनल सपोर्ट (Emotional Support) दिऔँ । अनि उसका समस्या सहजिकरण गर्ने प्रयास गरौँ । त्यसो गरेमा थोरै भए पनि आत्महत्या रोकथामका लागि हामीले पनि योगदान पुर्याउन सक्दछौँ ।

दिनहुँ आत्महत्या गर्ने व्यक्तिहरूको संख्या उकालो लागिरहँदा अब राज्यले पनि यसको रोकथामका लागि गम्भिर रूपमा सोच्ने बेला आइसकेको छ । आत्महत्या डरलाग्दो र भयानक समस्या बनिसकेको छ । सचेतनामुलक विशेष कार्यक्रमहरू गरेर होस् वा आत्महत्या सम्बन्धी विशेष नीति निर्माण गरी सरकारले यसको रोकथामका लागि आवश्यक कदम चाल्नुपर्छ नत्र आत्महत्याले अझै विकराल रुप लिन सक्ने देखिन्छ । आत्महत्या समस्याको समाधान नभई यो त समस्याको सुरुवात हो भन्ने कुरा आम मानिसमा बुझाउनु हामी सबैको दायित्व पनि हो ।

अन्त्यमा, आत्महत्याको सोच आएमा यस्तो सोच र व्यवहारलाई आफू भित्र मात्रै नराखौं । सहयोग लिऔँ अनि सहयोग गरौं । जीवन जिएर यस्तो गर्छु उस्तो गर्छु भन्दै आफ्ना सपनाहरूका बारेमा जसरी कुरा गरिन्छ त्यसरी नै अब त आत्महत्याका बारेमा पनि कुरा गरौँ न । मनमा आत्महत्या सम्बन्धी भावना उब्जिएमा त्यस बारेमा कुरा गर्नुहाेस् । आफ्ना मनका भावनाहरू मनमै गुम्स्याएर आत्महत्या जस्ता विकल्प रोज्नुभन्दा बरू सपोर्ट सिस्टम (Support System) खोज्नुहोस् अनि मनका भावना बाँड्नुहोस्, तपाइँ एक्लै हुनुहुन्न । भनिन्छ नी, बाँचे संसार जितिन्छ“ हो पक्कै पनि बाँचे संसार जितिन्छ त्यसैले हामी कसैले पनि आफ्नो अमूल्य जीवन खेर नफालौँ है । तपाईँहरुले क्षणिक दुखबाट उन्मुक्ति पाउनका लागि गरिने आत्महत्याले कसैलाई जीवनभरी तनाव दिनसक्छ बरू सहयोगको हात फैलाऔँ तर मृत्युको बाटो नरोजौँ । 

याद राख्नुहोस् : तपाईँको मनको कुरा निर्धक्कसँग गर्न मिल्ने ठाउँ छ है !

नेपालमा आत्महत्या रोकथामका लागि ११६६ हेल्पलाईन २४ सै घण्टा उपलब्ध रहेको छ । यो नम्बर आत्महत्या गर्ने सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको निःशुल्क हेल्पलाईन नम्बर हो । तपाईँ जो कोहीलाई पनि मनमा गाह्रो भइरहेको छ, तनाव सामना गर्न गाह्रो भइरहेको छ, आफैँलाई हानी पुर्याउने वा दुख दिने मन लागेको छ भने यो नम्बरमा फोन गर्न सक्नुहुन्छ । त्यहाँ कल गरेपछि तालिम प्राप्त मनोपरामर्शदाताले तपाईंलाई त्यस्तो सोचबाट बाहिर आउन मद्दत गर्दछन् । यो फोनमा गरिने सबै कुराहरु गोप्य रहने हुँदा तपाईंले निर्धक्कसँग आफ्नो मनका कुरा गर्न सक्नुहुन्छ ।

लेखकको बारेमा : लेखक निशा हुमागाँई सामाजिक कार्य विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । उहाँको मुख्य विषय मानसिक स्वास्थ्य रहेको छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको