Like us!
Follow us!
Connect us!
Watch us!

लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा

पत्रपत्रिका

मंगलबार, २६ पुस २०७९, ०६ : ४८ मा प्रकाशित

लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा

बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा मागभन्दा बढीका लागि आवेदन पर्नुका साथै ब्याजदर पनि न्यूनतम विन्दुमा झरेको हो ।

सोमवार जारी २८ दिने ट्रेजरीमा मागभन्दा १० अर्ब ८९ करोड बढीको बोलकबोल परेको थियो । उक्त ट्रेजरीको ब्याजदर ७ दशमलव ९३ प्रतिशत कायम भएको छ । यसअघि गत साताको २८ दिने ट्रेजरीमा ९ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको थियो ।

९१ दिनको ट्रेजरी पनि बोलकबोलभन्दा ५ अर्ब ५२ करोड बढीको माग भएको छ । उक्त ट्रेजरीको ब्याजदर पनि अघिल्लो साताको तुलनामा करीब १ प्रतिशत विन्दुले घटेर १० दशमलव ६ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसैगरी ३६४ दिनको ट्रेजरीको ब्याजदर घटेर ११ प्रतिशतमा झर्दा ४ अर्ब ४० करोडभन्दा अधिकका लागि बोलकबोल भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले पुस १४ गते ४५ दिन अवधिको रिपो जारी गरेको थियो । उक्त रिपोमा ८ दशमलव शून्य ९९ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । रिपोका कारण बजारमा तरलता सहज भएपछि बैंकहरूले ट्रेजरीमा मागभन्दा अधिक बोलकबोल गरेका थिए ।

यसैगरी सरकारले वाणिज्य बैंकहरूले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने अवधि असार मसान्तसम्मका लागि बढाएको छ । आइतवारसम्ममा बैंक, वित्तीय संस्थामा निक्षेप ५३ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा ६ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ३ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप वृद्धिसँगै बैंकहरूको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) पनि ८६ दशमलव ४४ बाट घटेर ८६ दशमलव ४० प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि घटेर ६ दशमलव २६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको