Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संयुक्त कारोबार सुरू, अध्यक्षमा पृथ्वीबहादुर पाँडे र सीईओमा ज्योतिप्रकाश पाण्डे

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ११ : ४० मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संयुक्त कारोबार सुरू, अध्यक्षमा पृथ्वीबहादुर पाँडे र सीईओमा ज्योतिप्रकाश पाण्डे

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । 'समृद्धिको पथमा सँगै अघि बढ्दै' भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । दुई बैंकबीच शेयर स्वाप अनुपात १००:१० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् ।

बैकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहिआएका दुवै बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तिय सुचकहरुमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने धारणा अध्यक्ष पाँडेले व्यक्त गरे । यसका साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको बताए ।

यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे ।

यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, दुबै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीवर्ग लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुवै बैंकका अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गरे ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी रु. ३४.१२ अर्ब, कुल पूँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप रु. ३६०.२ अर्ब तथा कर्जा लगानी रु. ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने प्रतिवद्धता बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको